जुम्लाकाे तातोपानी गाउँपालिकाकाे सात र आठ नम्बर वडा केन्द्रदेखि विकट मानिन्छन्। सात नम्बर वडाभित्र पर्ने दुर्गमकाे गाउँ हाे, बाह्र। कतिले यसलाई बारा गाउँ पनि भन्छन्।
धेरैलाई याे गाउँकाे नाम कसरी रहन गयाे भन्ने कुरा थाहा छैन। काेही भने सुरुमा १२ वटा घर मात्रै भएकाे गाउँ भएकाे हुनाले याे गाउँकाे नाम बाह्र रहन गयाे भन्छन्। अहिले गाउँमा एक सय ७२ घर बनिसकेको छन्।
कुनैबेला चिसाेका कारण मकैसम्म नहुने उक्त गाउँमा तापक्रम बढ्दै जाँदा मकैसँगै अरु बालीनाली पनि हुन थालेकाे त्यहाँका बुढापाकाहरुकाे भनाइ छ। गहुँ र जाै त्यहाँका मुख्य उत्पादन हुन्। जसले मुस्किलले छ महिना धान्छ।
पछिल्लो पाँच वर्षमा बाह्र गाउँमा केही परिवर्तन आएकाे छ। जुम्लाबाट जाजरकोट जाेड्ने सडक त्यहीँबाट खनिएकाे छ। त्यसैसँग जाेडेर गाउँकाे किनारासम्म सडक जाेडेपछि आयातित चामलले अरु छ महिना धान्न थालेकाे छ।
लेकगाड, भाेट, मधेस गरेर पेट पाल्ने गाउँ आज प्रविधिकाे प्रयाेग गर्दैछ। अझैपनि संचारकाे पहुँचबाट विमुख रहेकाे बाह्र गाउँ आफ्नाे दु:खबाट पार पाउन खाेज्दैछ। त्यसैकाे सहायक बनेका छन्, शेरबहादुर रावत।
उनले थ्रेसर मेसिनको प्रयोगबाट गहुँ चुट्न थालेको ३ वर्ष भयाे। यसअघि जौ र गहुँ लाैराेले चुट्ने गाउँलेहरु विस्तारै आरामदायी जीवनकाे खाेजी गर्न थाले।
'पहिला दिनभरि लाएर गर्ने काम अहिले एकै घण्टामा सकिन्छ,' शेर बहादुरले भने, 'छिटो पनि हुने र थोरै मानिस भए पनि पुग्ने भएकाले गाउँलेहरु थ्रेसर मेसिनकाे प्रयाेग गर्न रुचाउँछन्।'
जेठकाे अन्तिम साता काटिने जाै र असारमा काटिने गहुँ ल्याउने बित्तिकै चुटिँदैन। घरको छतमा झण्डै तीन महिना जति भल्लाे लगाएर सुकाइन्छ। भदाैकाे अन्तिम साता र असाेजकाे पहिलाे हप्ता घाम लागेकाे बेला चुट्न सुरु गरिन्छ।
यसरी उत्पादन भएकाे जाै, गहुँ चुटेर केही घरकाे भकारीमा राखिन्छ भने केही अर्काे वर्षकाे लागि पुनः गरामै छरिन्छ। धान बाली नहुने साविककाे ताम्ती गाविसका मुख्य जाै, गहुँ हुन्।
झन्डै १ रोपनी जग्गामा लगाइएको जौ, गहुँ चुट्न थ्रेसर मेसिनमा डेढदेखि २ घण्टा लाग्छ। 'मेसिनले समयकाे बचत गरेकाे छ। दुख कम हुन्छन्,' बारागाउँकै किसान लालबहादुर रावतले भने, 'बचेकाे समउमा अरु काम गर्न पनि हुन्छ। थाेरै खर्चमा धेरै काम हुन्छ।'
उनले पनि ३ वर्षदेखि थ्रेसर मेसिनबाटै अन्नबाली जाै गहुँ चुट्ने गरेकाे बताए। गाउँको कृषि समूहले प्रतिघण्टा जौ वा गहुँ चुटेबापत ७ सय रुपैयाँ लिन्छ। थ्रेसरमा प्रतिघण्टा डेढ लिटर पेट्रोल आवश्यक पर्ने उनले बताए।
अहिले गाउँका अधिकांश किसानले घरको छतमा थ्रेसर मेसिन राखेर जाै, गहुँ चुट्ने गरेका छन्। लालबहादुरका अनुसार बाह्र गाउँका १ सय ७२ घरधुरीमा आधाभन्दा बढीकाे राेजाइ थ्रेसर मेसिन बनेकाे छ।
झण्डै १० देखि ११ महिनामा पाक्ने जाै, गहुँ बारीमा लगाउनलाई किसानहरुले सिजनको एक महिनाअघि मात्र भल्काेमा राखिएकाे जाै, गहुँकाे बीउ निकाल्छन् र बारीमा छर्छन्।