यतिबेला जिम्मेवारीका हिसाबले देशकै दुई ‘ठूला’ अधिकारी लगभग उही भाकामा बर्बराइरहेका छन्। एक, केपी शर्मा ओली, अर्का चोलेन्द्रशम्शेर जबरा। यी दुवैको नामै पर्याप्त छ, थप परिचय दिइरहनु पर्दैन। संजोग नै भनौँ, यतिबेला दुवै एकै कित्तामा उभिएर उस्तै भावभंगीमा बर्बराइरहेका छन्।
अहिले यी दुवैको अवस्था पनि लगभग उस्तै छ। ओली सत्ता गठबन्धनसामु निरीह बनेर राजनीतिक जीवनको दुःखद् अन्त्यको उल्टो दिनगन्तीमा छन्।यही क्रममा ओली मङ्सिर ४ ले ल्याउने सम्भावित परिणामले बनाउने आफ्नो अनुहार कल्पेर अहिले नै तर्सिरहेका छन् भने चोलेन्द्र महाअभियोगको कठघरामा उभिएर आफ्नो करिअरको दुःखद् अवशान पर्खिरहेका छन्।
४३ वटा संगीन आरोपको जवाफ दिन संसदीय समितिको कठघरामा उभिएका जबरासँग उत्तर छैन, अरूलाई लगाउने फतुर मात्र बाँकी छ। उनी बर्बराहटमा केपी ओली र उनका अनुयायीहरूबाहेक सबैलाई कुनै न कुनै किसिमको फतुर लगाइरहेका छन्।
यसो भन्दा कसैलाई अप्रिय लाग्ला, तर अब ओली र चोलेन्द्रसँग जित्नलाई केही नै छैन, जे छ हार्नलाई मात्र बाँकी हो। यस्तो बेला मान–अपमान, इज्जत–बेइज्जतको केही भर नहुने रहेछ। यी दुईको पछिल्लो बर्बराहट सुन्दा जो–कोहीले पनि यस्तै अनुमान लगाउन सक्छन्।
पहिला केपी ओलीको कुरा गरौं। त्यसका लागि उनले कान्तिपुर कन्क्लेभको ‘नीति, थिति र राजनीति’मा राखेका केही भनाइ हेरौं–
– अमेरिकामा एउटा सिस्टम छ, त्यहाँ एकपटक राष्ट्रपति भएको व्यक्ति आठ वर्षसम्म रहन्छ।
– हामी कहाँ कार्यकारी प्रधानमन्त्री कहिले कहाँबाट बन्छ ? थाहै हुँदैन।
– ‘खोजे हुन्छ, एम अधिकारी कहाँ छ ? म टर्चको ब्याट्री किनिदिन्छु। एम अधिकारी को हो म पनि जान्दिनँ।
– मैले संवैधानिक आयोगहरूमा नियुक्त भएका मान्छे नै चिनेको छैन।
– लिगलिगमा आफैँ तरबार चलाउँथे, अहिले अदालतले समेत तरबार चलाउँछ।
देउबालाई परमादेशी सरकारका प्रधानमन्त्री भन्ने ओली स्वयम् उत्प्रेषणवाला एमाले अध्यक्ष हुन्। उनी २०७७ फागुन २३ गते सर्वोच्च अदालतको एक उत्प्रेषणको आदेशले नेकपा विघटन भएपछि जागेको एमालेका अध्यक्ष भएका हुन्। यदि नजागेको भए तत्कालीन नेकपाको साधारण सदस्यसमेत नरहने गरी निस्कासित गरिएका ओली यतिबेला अर्कै नामको कम्युनिष्ट पार्टीको सटर खोलिरहेका हुन्थे।
उनका यी भनाइ कुनै चुनावीसभाका पनि हैनन्, न पार्टीका आन्तरिक कार्यक्रमकै हुन्। उनले यी भनाइ एउटा वौद्धिक मिमांशा गरिने कार्यक्रममा राखेका हुन्।
उनका कतिपय भनाइ तथ्यगतरूपमै गलत छन् भने कति दिउँसै रात पार्ने खालका झुटका पुलिन्दा नै हुन्। अझ, कतिपय कुरा त होस भएको सामान्य मान्छेले भन्ने खालका त छैनन् भने दुई–दुईपटक देशको कार्यकारी प्रधानमन्त्री भएका प्रमुख प्रतिपक्षी दलका नेता जो तेस्रोपटक प्रधानमन्त्रीको उम्मेदवार तोकिएर चुनावमा जाँदै छन्, उनलाई त सुहाउने कुरै भएन।
उनले अमेरिका र नेपालको राजनीतिक व्यवस्थाको तुलाना गर्ने क्रममा ‘अमेरिकामा एउटा सिस्टम छ, त्यहाँ एकपटक राष्ट्रपति भएको व्यक्ति आठ वर्षसम्म रहन्छ’ भने। पहिलो त यो तथ्यगतरूपमै गलत छ। किनकि, अमेरिकामा चार वर्षका लागि राष्ट्रपति चुनिन्छ। बढीमा दुई कार्यकालका लागि चुनिन सक्ने भएकाले दोस्रोपटक चुनियो भने आठ वर्षसम्म राष्ट्रपति हुनसक्ने हो।
रह्यो तुलनाको कुरा, नेपाल र अमेरिकाको शासन व्यवस्था नै फरक भएकाले यी दुई देशबीचको ‘नीति, थिति र राजनीति’को तुलना नै हुँदैन। अमेरिकामा कार्यकारी राष्ट्रपति हुन्छन्, नेपालमा वेस्टमिनिस्टरियल प्रधानमन्त्री। अमेरिकामा लगभग दुईदलीय शासन व्यवस्था छ, नेपालमा अनेक दलको बहुदलीय शासन व्यवस्था छ। नेपालको राजनीति अझै भदौरे भेलमै छ, अमेरिकाको साङ्लिसक्यो। तर, पनि उनी तुलना गरेर मनको लड्डु घिउसँग खाइरहेका थिए। यो भनेर उनी जनतालाई सुसूचित गरिरहेका थिएनन्, एक किसिमको भ्रम बाँडिरहेका थिए।
उनले यही प्रसंगमा ‘हामी कहाँ कार्यकारी प्रधानमन्त्री कहिले कहाँबाट बन्छ ? थाहै हुँदैन’ भनेका छन्। दुई–दुईपटक देशको कार्यकारी प्रधानमन्त्री भएका ओलीले यसो भन्दा आफैँ हुस्सु भएको पत्तै पाएनन्। पहिलो त सोझो अर्थमा उनी बिना होसहवास कार्यकारी प्रधानमन्त्री भएका रहेछन् भन्ने बुझ्नुप¥यो। दोस्रो, लाक्षणिक अर्थमा नेपालको कार्यकारी प्रधानमन्त्री आफैँले हैन, अरू कसैले बनाइदिन्छ भन्ने बुझ्नुप¥यो। जुन अर्थमा भने पनि ओलीको यो बोलीको सामान्य अर्थ लाग्दैन।
उनले अर्को एक प्रसंगमा ‘खोजे हुन्छ, एम अधिकारी कहाँ छ ? म टर्चको ब्याट्री किनिदिन्छु। एम अधिकारी को हो म पनि जान्दिनँ।’ पहिलो त म टर्चको ब्याट्री किनिदिन्छु, खोजे हुन्छ भनेर चुनौती दिने कुरा नै उनलाई शोभा दिने खालको हैन। त्यसमाथि पनि उनले आफ्नो पार्टीको अर्थ विभागको सदस्य चिन्दिनँ भनेर आफैँलाई हुस्सु बनाए। यो वा त्यो जे भने पनि उनले सफेद झुट बोलेका हुन्। एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै हुन्, यो घामजत्तिकै छर्लङ्ग छ।
ओलीले अर्को एक प्रसंगमा आफूले ‘संवैधानिक आयोगहरूमा नियुक्त भएका मान्छे नै चिनेको छैन’ भनेर अर्को सफेद झुट बोले। उनले रातारात अध्यादेश ल्याएर आफ्ना, चोलेन्द्रशमशेर र गणेशप्रसादका गरी ५२ जना मान्छे भर्ना गरे। उनलाई आफूले भर्ना गरेका मान्छे नचिन्ने त के कुरा भयो र, तीनपुस्ते पनि थाहा छ। तर, उनले दिउँसै रात पारेर कोही नै नचिनेको बताए।
ओलीले नेपालको न्यायप्रणालीमाथि तीब्र रोष प्रकट गर्दै ‘अहिले अदालतले समेत तरबार चलाउँछ’ भन्न भ्याए। यो आफैंमा नेपालको अदालतमाथि लगाइएको संगीन आरोप हो। तर, उनले कुनै आइतबार नपर्खी सिधै यही आरोप लगाए। यही क्रममा उनले परमादेशको पनि कुरा उठाए। यसो भन्दा शेरबहादुर देउबाको वर्तमान सरकारलाई परमादेशी सरकार भन्ने ओलीले के कुरा बिर्से भने उनी आफैं पनि उत्प्रेषणवाला एमाले अध्यक्ष हुन्। उनी २०७७ फागुन २३ गते सर्वोच्च अदालतको एक उत्प्रेषणको आदेशले नेकपा विघटन भएपछि जागेको एमालेका अध्यक्ष हुन्। यदि नजागेको भए तत्कालीन नेकपाको साधारण सदस्यसमेत नरहने गरी निस्कासित गरिएका ओली यतिबेला अर्कै नामको कम्युनिष्ट पार्टीको सटर खोलिरहेका हुन्थे।
ओलीले यस्तो विचार मन्थनको कार्यक्रममा त यस्तो जथाभावी बोल्छन् भने चुनावी सभामा त के के भन्न मात्र भ्याउने हुन् ? त्यसको अनुमान गर्न पनि गाह्रो छ।
अब चोलेन्द्रशमशेर जबराको कुरा गरौं। उनी यतिबेला संसद्को महाअभियोग सिफारिस समितिमा लगाइएका ४३ अभियोगको जवाफ दिइरहेका छन्। चारपटकमा ३५ अभियोगको वयान दिइसकेका उनले आफ्नो सफाइ दिनेभन्दा पनि अरू सबैलाई एकतर्फि आरोप लगाइरहेका छन्। उनको वयान सुन्दा यस्तो लाग्छ कि उनले आफू निलम्बित नै भए पनि नेपालको सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँ भन्ने पनि बिर्सिसके।
पहिला उनले समितिमा वयान दिने क्रममा राखेका केही भनाइ हेरौं–
– राजीनामा गरे महाभियोग फिर्ता लिने देउवा र प्रचण्डको सन्देश लिएर डिनाजी क्वार्टरमा आउनुभयो।
– न्यायाधीशको हरेक नियुक्तिमा नेताहरूले भाग माग्छन्।
– दीपककुमार कार्कीको प्रधानन्यायाधीश बन्ने महत्वाकांक्षा बढेपछि नेपाल बारलाई प्रयोग गरेर महाभियोग ल्याइयो।
– पूर्वन्यायाधीश समाज मण्डले समाज हो, हिजोका मण्डलेहरू त्यहाँ छन्।
– रमण श्रेष्ठ, शम्भु थापा, हरिहर दाहाल ठालु वकिल हुन्। उनीहरूलाई चलखेल गर्न नदिएपछि मेराविरूद्ध लागे।
– छाउनीको जग्गा ट्रष्टको हैन, प्रेरणाको हो।
– कान्तिपुरका कैलाश शिरोहियालाई प्रधान न्यायाधीश बनाइदिए हुन्छ।
चोलेन्द्रले सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदा गोपनियताको सपथ खाएका छन्। त्यसको अर्थ उनले कामको क्रममा अर्को पक्षसँग सम्बन्धित पाएका सूचना आफ्नो व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न पाउँदैनन्। यस्तो उच्च नैतिक बन्धनको सपथ खाएको जिम्मेवार मानिसले जे जस्तो वयान दिइरहेका छन्, त्यसलाई एक किसिमले असामान्य मानिसको बर्बराहट नै भन्नुपर्ने हुन्छ।
चोलेन्द्रले सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदा गोपनियताको सपथ खाएका छन्। त्यसको अर्थ उनले कामको क्रममा अर्को पक्षसँग सम्बन्धित पाएका सूचना आफ्नो व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न पाउँदैनन्। अझ उनले त परिवारका सदस्य र नातेदारबाहेक दोस्रो व्यक्तिसँग नैतिक रूपमा एक्लै भेट्न पनि मिल्दैन। यस्तो उच्च नैतिक बन्धन र गोपनियताको सपथ खाएको जिम्मेवार मानिसले जे जस्तो वयान दिइरहेका छन्, त्यसलाई एक किसिमले असामान्य मानिसको बर्बराहट नै भन्नुपर्ने हुन्छ। संख्या नपुगेर प्राविधिक रूपमा महाभियोग प्रस्ताव पारित नै भएन भने पनि यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने मानिसको हातमा नेपालको न्यायपालिकाको नेतृत्व सुम्पन्न सकिदैन, हुँदैन।
प्रकारान्तरमा ओली र चोलेन्द्रको यस्तो गैरजिम्मेवार अभिव्यक्तिले उनीहरू ती गरिमामय पदका लागि योग्य थिएनन् भन्ने निस्कर्षमा पुग्न कुनै आइतबार पर्खनु पर्दैन।
घरदेशका हुन् वा परदेशका, नेपाली जनता उनीहरूको यो वकपत्रका प्रत्यक्ष साक्षी हुन्। उनीहरूले बोलेका यी सबै भनाइको श्रव्य–दृश्य अभिलेख पाइन्छ। हामीले यस्ता असामान्य मानिसलाई फेरि सामान्य ठानियो भने गल्तीको पाठशालामा केही नसिकेको ठहरिने छ।