शिक्षाले संस्कारी बनाउँछ र संस्कारी मान्छे सधैँ सफल अनि सम्पन्न हुन्छन् भन्ने कुराको सार्थकता डा. सबिना भट्टराईको जीवनमा ठ्याक्कै पुरा भएको छ। आमा कृषि विशेषज्ञ र बुवा वन विशेषज्ञ भएकाले बुवाको उच्च शिक्षाको क्रममा अमरिकाको मिचिगन सहरमा जाँदा सबिना भर्खर ६ वर्षको मात्र थिइन्।
बाल्यकालको औपचारिक शिक्षा अमेरिकाबाटै सुरु गरेकी उनले शिक्षित हुनुको अर्थ र उसका दीर्घकालीन सकारात्मक असरहरु राम्रैसंग बुुझेकी थिइन्। त्यसैले उनी सानैदेखि पढाइमा अत्यन्त मेहनती र लगनशील पनि थिइन्।
बुवाको पढाइ सकिएपछि अमेरिकाबाट फर्किए नेपाल लगत्तै सेन्ट मेरिज विद्यालयमा फेरि कखराबाट आफ्नो पढाइ सुरु गरेकी सबिनाको जन्म वि.स.२०३० साल कार्तिक ७ गते काठमाडाैँको प्रसूति गृहमा बुवा स्व. सुशिल भट्टराई तथा आमा शान्ति भट्टराईकी जेठी सन्तानको रुपमा भएको हो।
शिक्षित र सम्भ्रान्त परिवार, सरकारी जागिर भएका अभिभावक, उनले बाल्यकालमा कहिल्यै कुनै प्रकारको दुख वा अभावको सामना गर्न परेन। शान्त स्वभावकी सबिना सानैदेखि नै पढाइमा मात्र अब्बल थिइनन्, सुन्दरतामा पनि बिछट्टै राम्री भएकीले उनलाई घरमा सबैले पुतली भनेर बोलाउने गर्थे।
बालमष्तिष्कमा नै डाक्टर बन्छु भन्ने सपना बोकेकी सबिनाले हरेक कक्षामा प्रथम हुँदै वि.स.२०४६ सालमा एसएलसी उत्तीर्ण भइन्। त्यसपश्चात सानेपास्थित मोर्डन इन्डियन स्कुलमा विज्ञान संकायमा भर्ना भइ पढ्न थालिन्।
दुई वर्षको पढाइपश्चात जगदम्बा ट्रष्टअन्तर्गत मेडिकल पढ्न जाने छनौटमा उनी पनि पर्न सफल भइन्। भारतको कलकत्तास्थित मेडिकल कलेजमा करिब साढे चार वर्षको पढाइ र एक वर्षको इन्टर्नसीप सकाएर उनी वि.स २०५६ मा नेपाल फर्किइन्।
‘मेरो अहोभाग्य नै भन्नुपर्छ कि नेपाल फर्केको भोलिपल्टै शिक्षण अस्पतालमा मेडिकल अफिसरको रुपमा काम गर्ने अवसर प्राप्त गरेँ’, उनी सुनाउँछन्। मेडिमल पढ्दा नै कलकत्तामा भेटिएर एकअर्काको प्रेममा परेका डा.सबिना भट्टराई र डा. सुबोध सागर ढकाल एकअर्काको हात र साथलाई आजीवन नछाड्ने बाचा कसमसंगै वि.स २०५७ सालमा वैवाहिक बन्धनमा बाधिँए।
विवाहपश्चात एउटी महिलाको जीवनमा थुप्रै परिवर्तन आउनुका साथै आफ्नो उदेश्य प्राप्तिमा रोकावट तथा बाधा अड्चन आउँछन् भन्ने कुरालाई सबिनाले ठयाक्कै उल्टाइदिइन्। विवाहपश्चात नै उनले ओम नर्सिङ्ग होम कमलपोखरीमा दुबै जना कार्यरत रहँदै गर्दा नै पोष्ट ग्राजुएट गर्न अमेरिका जाने योजना बनाउँदै थिइन्। तर जिन्दगी सधैं आफूले सोचे जस्तो र चाहे जस्तो कहाँ हुन्छ र भनेझैं धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्ट ग्राजुएटको फाराम खुलेको सूचना पाएपछि सबिनाको जोडी नै उतैतिर लागे।
सबिनाले त्यहीँबाट पोष्ट ग्राजुएट उत्तीर्ण गरिन्। उनले दुबै जना व्यस्तताको जीवन जीउँदा आफ्ना सन्तानहरुलाई समय अभाव हुन सक्ने देखेर छालासम्बन्धी चिकित्सक सधैं उस्तै र अन्य डाक्टर जस्तो व्यस्त नहुने भएकोले आफूसंगै आफ्नो पढाइ र परिवारलाई पनि सन्तुलनमा राख्न सकिन्छ भन्ने सोचाइका साथ उनले छालासम्बन्धीकै परीक्षा दिइन्, उत्तीर्ण पनि भइन्।
धरानको वीपी कोइराला प्रतिष्ठानमा करिब पाँच वर्ष कार्यरत रहिसकेपछि त्यहीँबाट पहिलो नेपाली महिला छाला रोग विशेषज्ञको उपाधि र आफ्ना दुई सन्तानसहित आफ्नै थातथलोमा सेवा दिनुपर्दछ भन्ने सोचाइका साथ उनी सपरिवार नै काठमाडाैँमा फर्किए।
एउटी महिलाले सक्षमताका साथ आफ्नो काम र पारिवारिक जिम्मेवारी निभाउन सक्छिन् भन्ने उदाहरण दिन्छिन्, सबिना। योग्यता र दक्षता छ भने अवसर खोज्नु पर्दैन, बरु अवसरले आफूलाई खोज्दै आउँछ भनेझैं डा.सबिनालाई पनि हरेक अवसरले एकपछि अर्को गरी पछ्याइ रह्यो।
धरानबाट काठमाडाैँ फर्किएको भोलिपल्टै काठमाडाैँ मेडिकल कलेज सिनामंगलमा छाला रोग विशेषज्ञ तथा प्राध्यापकको रुपमा नोकरी पाइन्। उनले त्यहाँ करिब दश वर्ष कार्यरत रहँदा उपप्राध्यापकको जिम्मेवारी पनि उत्तिकै कुशलता र सफलता पूर्वक निभाउनुका साथै आफ्नो सीप क्षमता, दक्षता र कार्यकुशलता र लगनशीलताको प्रदशर्न पनि गर्ने मौका प्राप्त गरिन्। उनी त्यहाँ विशेषज्ञ मात्र थिइनन्, आफू जस्तै दर्जनौं विशेषज्ञ उत्पादनमा उनले प्रमुख भूमिका खेलिन्।
निजि अस्पतालहरुमा लामो समय सेवारत रहँदा जीवनको आधाजसो उमेर बितिसकेकोले आफूू अनुकूलको समय र सेवाग्राहीहरुको इच्छाबमोजिम वि.स. २०७७ सालमा सबिनाले आफ्नै निजी स्वामित्वमा स्किन केयर क्लिनिक लभाना सञ्चालनमा ल्याइन्। उनले हाल उक्त क्लिनिकबाट हजारौं छालासम्बन्धी समस्या भएका बिरामी तथा सेवाग्राहीको उपचार गर्नुका साथै उनीहरुलाई आवश्यक परामर्शसमेत दिइरहेकी छिन्।
अहिले प्रायजसो महिलाहरु कुनै न कुनै रोजगार वा व्यवसायमा आवद्ध छन्। पहिलेको समय श्रृङ्गार गर्नुलाई उत्ताउलोपनासंग जोडिएर हेरिन्थ्यो, तर अहिले समय परिवर्तन भइसकेको छ। हरेक महिलाहरु आफ्नो पद, प्रतिष्ठा र पेशाअनुसारको पहिरन तथा श्रृङ्गारमा सजिनु, शारीरिक बनावटलाई समेत नियन्त्रण र उमेर सुहाउँदो राख्नमा तल्लीन छन्। तर अझै पनि नेपालमा सौन्दर्य र सुन्दरता केवल महिलाको मात्र विषय हो भन्ने अवधारणा रहेकोमा भने सबिना दुख मान्छिन्।
‘सुन्दरता र सौन्दर्य महिला र पुरुष दुबैको निम्ति उत्तिकै आवश्यक छ। किनकि यसले व्यक्तिको आत्मविश्वासलाई बढाउने र स्वतस्फूर्तता जगाउने गर्दछ। त्यसैले सुन्दर हुुनको लागि कुनै चाडपर्व, मेला वा अवसर नै आउनुपर्छ भन्ने हुँदैन। यदि कोही व्यक्ति आफैँमा समय सापेक्ष स्थान, परिवेश, वातावरण, कार्यक्रम, दर्शक, श्रोता वा पदअनुसारको पहिरन र श्रृङ्गारमा उपस्थित छ भने उसको आत्मविश्वास पनि त्यत्तिकै बलियो हुनाका साथै उसको प्रस्तुति पनि बिना कुनै हिच्किचाहट नै रहने गर्दछ’, डा. भट्टराई विश्वासका साथ भन्छिन्।
छाला तथा यौन रोग विशेषज्ञ डा.सबिना भट्टराई भन्छिन्, ‘छालासम्बन्धी समस्या जति महिलालाई छ, त्यति नै पुरूषलाई पनि हुने गर्दछ। तर महिलाहरु जति खुलेर उपचार गर्न आउँछन्, त्यति पुरुषहरु सचेत हुँदैनन्। हरेक व्यक्तिको भित्री अंगमा भएको रोगको असर नै बाहिर छालामा देखिने गर्दछ। डण्डिफोर आउनुमा उमेर वा हर्मोनको कारण त छँदैछ तर पाको उमेरको मानिसमा पनि यसको असर हुनुमा महिलाहरुको पाठेघरको समस्या र पुरुषहरुमा भने हर्मोनको गढबडीको कारण हुनसक्छ। लगातार कपाल झर्नु, नङ भाँचिनु, अनुहारमा चाँयापोतो देखापर्नु जस्ता समस्याहरु थाइरोइड, चिनी रोग वा अन्य भित्री रोगको कारण हन सक्दछ। जबसम्म यस्ता भित्री रोगहरुको उपचार तथा रोकथाम हुँदैन, तबसम्म त्यस्ता समस्याहरु निराकरण हुँदैनन्। त्यसैले हजारौं रुपैयाँ खर्च गरेर सौन्दर्यताको उपचार गर्नुभन्दा अघि यस्ता रोगहरु पत्ता लगाउनु पर्दछ।’
सुन्दरता भित्रबाट आउनुपर्दछ र यो स्विकार्य पनि हुनुपर्दछ। विज्ञापनको आधारमा र फोटो हेरेकै भरमा विभिन्न बजारिया सौन्दर्य सामानहरुको मापदण्डविपरीत प्रयोगका कारण कैयौं महिलाहरुको सुन्दरतालाई कुरुपतामा परिवर्तन भएका थुप्रै उदाहरणहरु दिन्छिन्, डा. सबिना।
‘आफ्नो छालाको प्रकृति र उमेरअनुसार चिकित्सकको प्रत्यक्ष निगरानीमा सौन्दर्य सामग्रीहरुको प्रयोग गर्नु पर्दछ। पुरुष हास् वा महिला एउटा सत्य र अपरिहार्य कुरा भनेको ३० बर्ष पुगेपछि हरेक दिन बिहान बेलुका सादा पानीले मुख धुने र प्रत्येक दिन बिहान घरबाट बाहिर निस्कनुभन्दा अगाडि सनस्क्रिन क्रिम अनिवार्य लगाउनु पर्दछ। प्याकेटमा बन्द गरिएका तयारी खानामा भन्दा घरेलु खाना, ताजा फलफूल, हरिया सागपात र प्रशस्त पानी पिउने हो भने छालासम्बन्धी मात्र नभइ कुनै पनि रोगको शिकार हुनु पर्दैन’, उपयुक्त सल्लाह दिन्छिन् डाक्टर सबिना।
उनी भन्छिन्, अहिले समयको बदलाव भन्नुपर्छ, कतिपय पुरुषहरु आफ्नो श्रीमतीलाई राम्री बनाइदिनुस् भन्दै हाम्रो क्लिनिकमा लिएर आउनुहुन्छ। त्यस्तै महिलाहरु पनि आफ्नो श्रीमानलाई सुन्दर हुन सम्झाइ दिनुस् न भन्नुहुन्छ। त्यसैले सुन्दरताको कुनै लिङ्ग, धर्म, वर्ण, वर्ग, उमेर वा जात हुँदैन। जसको छालामा समस्या छ, उसले कुनै पनि पेय पदार्थहरु रक्सी, चुरोट वा त्यस्ता किसिमका नशालु पदार्थहरुको सेवन पूर्णतया बन्द गर्नु पर्दछ।
आफ्नै निजी क्लिनिकमा समय दिइरहँदा डा. सबिना सामाजिक कार्यहरुमा पनि उत्तिकै सक्रिय रहन्छिन्। काठमाडाैँको थापाथलीस्थित ‘एक एक पाइला’ नामक सामुदायिक क्लिनिकका संस्थापक उनी हरेक मंगलबार निशुल्क सेवा दिने गर्दछिन्।
वि.स. २०७२ सालमा स्थापित यस क्लिनिकले कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुमा छाला रोगसम्बन्धी निशुल्क सेवा सुविधा प्रदान गर्नुका साथै काठमाडाैँको बाग्मती किनारका सुकुम्बासी बस्तीमा प्रत्येक दुई महिनाको एक पटक निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी उपचारको सेवा दिँदै आइरहेकी छिन्।
उनको यही सामाजिक सेवाको कदर गर्दै इटाली सरकारले आह्वान गरेको वर्ल्ड कनफ्रेन्स अफ डर्माटोलोजीअन्तर्गत सौन्दर्यतामा सामाजिक दायित्व शीर्षकको प्रोजेक्टमा एसिया महाद्वीप राष्ट्रहरुमध्ये नेपालका उनै डाक्टर सबिना भट्टराई मात्र छनौटमा पर्न सफल भइ बीस लाख रूपैयाँ बराबरको नगद पुरस्कार प्राप्त गर्न सफल भइन्। पुरस्कारमा प्राप्त उक्त रकम उनले डोल्पा जिल्लाको ढो भन्ने स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी त्यहाँका स्थानीय बासिन्दाहरुको उपचारमा खर्च गरेकी थिइन्।
‘जीवन एक दिनको यात्रा हो। हिजोको चिन्ता, भोलिको डर होइन तर आजको दिन जिउनुपर्छ। आजको दिन जिउनु नै सबैभन्दा उच्चतम जीवन हो’ भन्ने सकारात्मक सोचाइका धनी सबिना जसलाई देख्दा हाम्रो मुहारमा हाँसो छाउँछ, त्यही नै प्रेम हो भन्छिन्।
उनी आफ्ना दुई छोराहरु जन्मिदाको क्षण जीवनको सबैभन्दा खुशी र भाइको अकल्पनीय निधन सबैभन्दा दुखद क्षण मान्छिन्।
काठमाडाैँकाे नक्साल, नागपोखरीस्थित रहेको डाक्टर सबिना भट्टराईको ‘लभाना’ क्लिनिकमा बोटोक्स, लेजर थेरापी, पिआरपी उपचार, डण्डीफोरको उपचार, फिलर्स, ओठको साइज मिलाउने, कोठी हटाउने, माइक्रो ब्लेडिङ्ग, कानको लोती मिलाउने, हाइड्रो फेसियल, डबल चीन तथा केमिकल फेसियल जस्ता छाला तथा सौन्दर्यसम्बन्धी उपचारका सेवाहरु उपलब्ध छन्।