सेयर बजार आज पनि ओरालो

File photo
File photo

सेयर बजार बुधवार पनि ओरालो लागेको छ। सेयर बजार परिसूचक नेप्से बुधबार ११ दशमलव ९७ अंकले घटेर एक हजार ९३९ दशमलव ८८ विन्दुमा झरेको छ। नेप्से दिनदिनै राताम्मे हुँदा कारोबार रकममा पनि निकै कमी आएको छ।

बुधबार म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर घटेको छ। २२४ वटा कम्पनीको २९ लाख ४३ हजार कित्ता सेयर ८२ करोड ६२ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको पाँच करोड १५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

त्यस्तै, प्राइम डिबेन्चरको सेयर झन्डै ६ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको शेयर पाँच प्रतिशतले घटेको छ। 

समग्रमा बजार राताम्मे हुँदा पनि सनराइज म्युचल फन्डको सेयर साढे सात प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर झन्डै साढे ६ प्रतिशतले बढेको छ।
 

प्रकाशित मिति: : 2022-09-07 16:02:00

प्रतिकृया दिनुहोस्