भारतको आर्थिक राजधानी मुम्बई अर्थात् ‘मायानगरी’ एउटा विशाल समुन्द्रको छेउमा ‘तिर्खा मेट्दै’ रमाइरहेको छ। मुम्बई भरिलो छ। ‘कथानगरी’भित्र नदेखिएका कैयौँ रङ्गका कथा छन्।
रेल्वे–स्टेशनदेखि समुन्द्री–तटसम्म उखरमाउलो गर्मीले तिर्खाएका अनेकौँ पात्र भेटिन्छन्। बर्खा याममा ‘जलमग्न’ मुम्बईसँग पानीको अथाह खानी छ।
मुम्बईबाट १९० किलोमिटरको दूरीमा ‘केरवाडी’ नाउको एउटा गाउँ छ। स्थानीयबासी शान्त छन्। मौन छन्। तर, उनीहरू धेरै तिर्खाएका छन्।
गाउँलेहरू बाह्रै महिना पानीको अभाव झेलिरहेका छन्। पिउने पानीको चरम अभाव हुँदा केरवाडीबासी काकाकुलजस्तै बनेको २६ वर्षीया युवती छाया बदुशीले बताइन्। उनी पनि गाउँका अन्य महिलाझैँ पानी बोक्न दिनदिनै खोलामा जान्छिन्।
पानीका लागि कम्तिमा चार घण्टा हिँडेर खोलामा पुग्छन्, महिना तथा केटाकेटी। स्थानीयबासी दिनमा दुईपटक मात्रै खोलामा जान्छन्। एकपटक बिहान ६ बजे अनि अर्कोपटक दिउँसो ३ बजे।
‘गर्मीको समयमा यसक्षेत्रको अवस्था धेरै दयनीय हुन्छ। पानी दिनदिनै पिउनुपर्छ। हिँडेर खोलामा जाँदा धेरैलाई घामबाट चक्कर लाग्छ,’ छाया भन्छिन्।
लगातार पानी बोक्दा केरवाडीबासीहरू टाउको दुख्ने र ढाड दुख्ने समस्याबाट पीडित छन्। नानी–बाबुको पढाइ बिग्रिएको छ। बुढापाकाको अवस्था नाजुक छ। पानी पिउनको लागि संघर्ष गर्नैपर्ने बाध्यता छ। स्थानीय बासिन्दा थकित छन्।
पानीको संकट हुँदा धेरै युवतीहरूले केरवाडी गाउँका युवकसँग विवाह गर्न अस्वीकार गर्छन्। यसक्षेत्रका युवकले श्रीमती खोज्न निकै संघर्ष गर्नु परेको छ।
‘गाउँमा पानी नहुँदा धेरै केटाहरूको बिहे रोकिएको छ। श्रीमती पाएका छैनन्,’ २६ वर्षीया छायाले भनिन्। उनीजस्तै कथा भएकी युवतीहरू भारतका आधाभन्दा बढी गाउँमा खोज्दै जाँदा भेटिन्छन्।
भारतीय सरकारी तथ्यांकअनुसार आधाभन्दा बढी ग्रामीण घर–परिवारसँग पानीको अभाव छ। त्यसैले पृथ्वीमा सबैभन्दा बढी पानीको अभाव भएको देशको सूचीमा भारतको शीर्षस्थानमा आउँछ।
आज–भोलि भारतका विभिन्न राज्यमा भारी वर्षा भइरहेको छ। त्यसो त मुम्बई जनमय छ। तर, केरवाडीमा पानीको हाहाकार छ। जताततै जमिनमुनिको पानीको अव्यवस्थित उत्खननका कारण पानीको सतह तीव्र रुपमा घट्दै गएको स्थानीय बताउँछन्।