३९ वर्षीय सोमप्रसाद आचार्यलाई बिहान सबेरैदेखि राति अबेरसम्म फुर्सद भन्ने हुँदैन। घरि गाईवस्तु, घरि बाख्रा स्याहार्दै र खेतमा कुटो कोदाली गर्दागर्दै कतिबेला दिन बित्छ पत्तो हुँदैन। केरा खेती, तरकारी खेती, बाख्रा, हाँस र कुखुरा पालनमा उनी दिनरात नभनी खटेका छन्। कृषि कर्मलाई आधुनिक तौरतरिका अपनाइ उनी अघि बढेका छन्।
व्यावसायिक कृषि कार्यका लागि उर्लाबारी–५ सिसौलीमा उनको स्वस्तिका एण्ड कृषि फर्म सञ्चालनमा छ। ५ कट्ठा जग्गामा व्यावसायिक केराखेती, डेढ बिगाहा जग्गामा तरकारी बाली लगाएका छन्। तरकारी र केराखेतीका लागि जग्गा लिजमा लिएका हुन्।
आफ्नै जमिनमा गोठ बनाएर उन्नत जातका सातवटा गाई पालेका छन्। खोरमा २० वटा बोका बाख्रा छन्। हाँस–कुखुरा गरी ५० हाराहारीमा छन्। केराखेती र सब्जीका लागि बीउ–बिरुवा रोप्ने, गोडमेल र सिँचाइ गर्ने अनि बजार व्यवस्थापनको कार्यमा आचार्य कामदारसंगै खट्छन्।
उनले निश्चित पारिश्रमिक दिएर तीनजना कामदार राखेका छन्। सोमप्रसादलाई कृषि कार्यमा श्रीमतीले पनि साथ दिँदै आएकी छन्।
उनको मुलघर खोटाङको दिक्तेल हो। उतै हुँदा वैदेशिक रोजगारको शिलशिलामा दुबई पुगेका थिए, सोमप्रसाद। दुबईमा उनले बगैंचा गोडमेल गर्नेदेखि खजुर खेती स्याहार्नेसम्मका काम गरेको सुनाए।
‘किसानको छोरो हुँ, बोटबिरुवा रोप्ने, गोड्मेल गर्ने, हुर्काउने गरेकै थिएँ’, सोमप्रसादले भने, ‘आधुनिक कृषिकर्म भने भोगेको थिइनँ, बाली लगाउनेदेखि उत्पादन गर्नेसम्मका तौरतरिका दुबईमा सिक्न पाएँ।’
दुबईबाट घर फर्केपछि उनले परिवारसहित बसाइँ सर्ने निर्णय लिए। तराई झरेर खेती किसानीमै रम्ने निधो गरेका उनले उर्लाबारी–५ मा घर निर्माण गरे। अनि सरसापट खोजेर कृषिकर्ममा रमाउन पुगे।
परम्परागत रुपमा गरिएको कार्य भएकाले लागत खर्च धेरै हुने र आम्दानी थोरै हुने गरेको उल्लेख गर्दै सोमप्रसादले भने, ‘परम्परागत कार्यलाई परिमार्जन गरी आधुनिक तरिकाले केरा खेतीलाई अगाडि बढाउन अग्रसर भएको छु।’ उनी २०७२ सालदेखि उर्लाबारीका बासिन्दा भएका छन्।
सुरुमा ब्रोइलर कुखुरा र च्याउ खेतीमा लगानी गरेको सोमप्रसादले बताए। नयाँ ठाउँ त्यही माथि प्राविधिक ज्ञान नहुँदा आफूले पाउनुसम्म दुःख पाएको विगत स्मरण गरे।
आम्दानी गर्ने स्रोत धेरै भएपनि खासगरी युवाले गर्नै नमान्ने कृषि पेशालाई अपनाएको उनी बताउँछन्। ‘युवाले कृषि कार्य गरे समाजमा सकारात्मक सन्देश जान्छ’, उनले भने, ‘त्यसैले यस पेशामा जोस र जाँगरका साथ लागेको छु। यसमै खुसी छु।’
सोमप्रसादको सुझाव छ, कृषि पेशालाई निर्वाहमुखी नभएर व्यावसायिक बनाउनका लागि राज्यको नीतिमै निकै फेरबदल गर्नुपर्छ। राज्यको नीति निर्माण गर्ने तहमा कृषिमा संलग्न व्यक्तिको समेत प्रतिनिधित्व भए सबल नीति निर्माण भई कृषिबाटै सबल अर्थतन्त्र निर्माण गर्न सकिन्छ। युवालाई कृषि कार्यमा सहजरुपमा लाग्नका लागि वातावरण कायम गरिनुपर्छ। त्यसपछि मात्रै देशले विकासमा फड्को मार्न सक्छ।