गाउँपालिका अध्यक्षको चालक बन्दै वडाध्यक्ष, जनता मारमा

बिएल संवाददाता

होलेरी, रोल्पा 
Breaknlinks
Breaknlinks

रोल्पाको रून्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले वडा–१ का वडाध्यक्ष थमबहादुर घर्तीलाई गाडी चालकका रूपमा प्रयोग गर्दै आएका छन्।

स्थानीय तहको निर्वाचन जितेसँगै गाउँपालिका अध्यक्ष पुनले चालक विज्ञान सापकोटालाई कार्यालयमै थन्काएर वडाध्यक्ष घर्तीलाई चालक बनाएका हुन्।

करारका सबै कर्मचारीहरू आ–आफ्नो विभागमा खटिएका छन्। कार्यपालिका बैठकले पनि बिदा गर्ने कुनै योजना बनाएको छैन। तर गाउँपालिका अध्यक्ष पुनले चालक सापकोटासँग कुनै सम्पर्क गर्दैनन्, न त बिदामा बस्न नै भनेका छन्। उल्टै वडाध्यक्षलाई चालक बनाउँदै हिँडिरहेका छन्, उनी।

वडाध्यक्ष घर्ती दुई हप्तादेखि वडा कार्यालयमा नहुँदा सेवाग्राही मर्कामा परेका छन्। आफूले भोट हालेर जिताएका जनप्रतिनिधि सम्पर्कविहीन हुँदा कार्यालयमा पुगेर फर्किरहेको उनीहरूको गुनासो छ।

गाउँपालिका अध्यक्ष पुनको बेथितिले सीमा नाघ्न थालेको रून्टीगढी गाउँपालिकाका एक वडाध्यक्ष बताउँछन्। ‘वडाध्यक्षज्यूले आजभोलि गाउँपालिकामा ड्राइभर पदमा नियुक्त पाएजस्तो छ। उहाँ वडा कार्यालयमा कम र गाउँपालिका अध्यक्षलाई बोकेर धेरै हिँडिरहनुभएको छ,’ उनले भने।

निमित्त प्रमुख प्रशासकीय अधिकृत सानुबाबु खड्कालाई खबरै नगरी पशु शाखाका कर्मचारी निमबहादुर डाँगी पनि अध्यक्ष पुनसँगै काठमाडौँ पुगेका छन्।

प्रकाशित मिति: : 2022-08-01 15:04:00

प्रतिकृया दिनुहोस्