श्रम काउन्सिलर सुवेदीलाई युएईमा नेपाली समाजको भव्य स्वागत

वैदेशिक रोजगार बोर्डबाट सरुवा भई श्रम काउन्सिलरका रूपमा संयुक्त अरब ईमिरेट्स (युएई) आएका दिनबन्धु सुवेदीलाई युएईमा कार्यरत नेपालीहरुले भव्य स्वागत गरेका छन्।

नेपाली समाज युएईको आयोजनामा आइतबार अबुधाबिस्थित नेपाली दूतावासमा सम्पन्न एक कार्यक्रममा नेपाली समाजमा आवद्ध ५० बढी नेपाली संघ संस्थाले संयुक्तरूपमा सुवेदीलाई स्वागत गरेका हुन्।

युएईको अग्रणि नेपाली सामुदायिक संस्था 'नेपाली समाज युएई'ले नेपाली दूतावासका नवआगन्तुक कर्मचारीलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा युएईमा नेपाली समुदायले भोग्दै आएका विभिन्न समस्याहरुबारे अन्तरक्रिया समेत गरिएको थियो।

युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकालले विभिन्न परिस्थितिहरुमा नेपाली समाज युएईले खेलेको भूमिका र लोककल्याणकारी गतिविधिहरुको बारेमा प्रकाश पारेका थिए। यसैगरी संस्थाका महासचिव बेदप्रसाद अर्यालले कोभिड महामारीबाट उत्पन्न प्रतिकुल परिस्थितिमा संस्थाले सञ्चालन गरेका उद्दार एवम् सहयोगका विभिन्न परोपकारी कार्यहरुको बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा सहभागि संघसंस्थाका प्रतिनिधिहरुले अहिले युएईमा नेपालीहरुले भोग्दै आएका विभिन्न समस्याहरूका बारेमा दूतावासको ध्यानाकर्षण गराएका थिए। कार्यक्रमका वक्ताहरुले दुबईमा काउन्सिलर खोल्नुपर्ने माग समेत राखेका छन। केही सहभागीले वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाउने नेपालीहरुको शव नि:शुल्क नेपाल लैजाने  व्यवस्था मिलाउनका लागि दूतावासमार्फत् नेपाल सरकारसँग माग समेत गरेका छन्।

दूतावासका नवआगन्तुक श्रम काउन्सिलर दिनबन्धु सुवेदीले कार्यक्रममा उठेका जिज्ञासा र सवालहरुको सम्बोधन गर्दै नेपाली समाजले युएईमा देखाएको हार्दिकताप्रति आभार प्रकट गरेका थिए। उनले नेपाली समाजसंगको सहकार्यमा अगाडी बढ्ने समेत बताएका थिए।

प्रकाशित मिति: : 2022-08-01 08:54:00

प्रतिकृया दिनुहोस्