एचआईडीसीएलको संस्थापक सेयर १५ साउनदेखि पुनः लिलामीमा

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले १५ साउनबाट कुल २ करोड ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर पुनः लिलामी गर्ने भएको छ।

यसअघि ५-१९ असारसम्म ३ करोड ३० लाख संस्थापक सेयर लिलामी गर्दा ५१ लाख ९० हजार ५२० कित्ता मात्र बिकेको थियो। त्यसबेला बिक्री नभएको सेयर अहिले पुनः लिलामी गर्न लागेको हो। 
 
यस लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने एचआईडीसीएलले जनाएको छ। बोलपत्र पेस गर्ने म्याद २९ साउनसम्म तोकिएको छ। न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ। यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ। 

त्यस्तै ग्लोबल आईएमई बैंकको बिर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ। साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ। यसमा न्यूनतम १०० कित्तादेखि  अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति: : 2022-07-24 12:51:00

प्रतिकृया दिनुहोस्