नेजाको १५ औं साधारण सभा हुँदै 

अमेरिकास्थित नेपाली मुलका पत्रकारहरुको संगठन नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १५औं साधारण सभा हुने भएको छ। 

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको प्रमुख आतिथ्यता रहने उक्त साधारणसभा आउँदो जुलाई २३ र २४ तारिखका दिन अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को सहरमा हुन लागेको हो।

मिति नजिकिँदै गर्दा साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संस्था आवश्यक तयारीमा जुटिरहेको छ।

गत वर्ष भर्जिनियामा सम्पन्न सातौं अधिवेशनबाट निर्वाचित कार्य समितिले यस १५ औं साधारण सभालाई प्राथमिकताका साथ मूलत: संस्थाले गरेका क्रियाकलापहरु, भावी योजनाहरु, आर्थिक गतिविधिहरु, विधान संशोधन, आचारसंहिता र पुरस्कार तथा सम्मान कार्यविधि लगायतका विषयहरुमा केन्द्रिकृत गर्ने गरी तयारी गरिरहेको जनाएको छ। 

संस्थाका अध्यक्ष विकासराज न्यौपानेले साधारण सभाको तयारीका सम्बन्धनमा जानकारी दिदै दिँदै भने, 'हामी साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न कार्य विभाजन गरी तिब्रताका साथ आवश्यक तयारीमा जुटिरहेका छौं। सबैले आ-आफ्नो जिम्मेवारी अनुसार काम गरिरहनु भएको छ।'

अध्यक्ष न्यौपानेले सरोकारवालाहरुलाई साधारणसभामा उपस्थितका लागि विशेष अनुरोध गर्दै भने, 'यो वार्षिक साधारण सभा निकै महत्वपूर्ण छ। यसलाई संस्थागत रुपमा बढी भन्दा बढी उपलब्धिमूलक बनाइ सफलतापूर्वक सम्पन्न गर्न गरिमामय उपस्थितका लागि सम्पूर्ण सदस्य तथा सम्बन्धित सबैलाई हामी नेजा परिवार विशेष अनुरोध गर्दछौं।' 

संस्थाको लक्ष्य अनुसार यस पटकको साधारण सभा विधान परिमार्जन र आचारसंहिता तयार गर्नमा पनि केन्द्रिकृत हुने भएको छ। जस अनुसार संघको विधान संसोधनका लागि प्रस्ताव लगिनेछ।

आम सदस्यहरूसँगबाट राय माग गरी विधान संसोधन उपसमितिले तयार पारेको ड्राफ्टलाई कार्यसमितिले अन्तिम रूप दिएर साधारण सभामा लग्न लागेको हो।

पत्रकारितालाई थप व्यवस्थित, मर्यादित, विश्वसनीय र उत्तरदायी बनाउन आचारसंहिता बनाउने तयारी गरिएको छ। 

यस सम्बन्धमा अध्यक्ष न्यौपानेले भने, 'विद्यमान विधानमा समयानुकूल संशोधन गर्नु पर्ने आवश्यकता महसुस गरिएकोले, त्यसका लागि ठोस काम गर्न उपसमिति समेत गठन गरी आवश्यक तयारीमा जुटिरहेका छौं। सदस्यहरुबाट पनि सुझाव सल्लाहहरु संकलन गरी अन्तिम निर्णयका लागि साधारणसभामा प्रस्तुत गर्ने गरी काम भैरहेको छ।' 

अध्यक्ष न्यौपानेले दिएको जानकारी अनुसार यस साधारण सभाले पत्रकारिता आचारसंहिता पारित गरी अक्षरशः कार्यान्वयनका  लागि निर्देशन गर्ने भएको छ।

अमेरिकामा सञ्चारकर्मी तथा सञ्चार माध्यमहरुले सामुदायिक पत्रकारितामा बढी केन्द्रिकृत भएर नेपाल र नेपालीको पहिचान तथा उथ्थानमा यथासक्य महत्वपूर्ण भूमिका खेल्दै आइरहेका छन्।   

संघका महासचिव सुरज भण्डारीले दिएको जानकारी अनुसार दुईदिने साधारण सभाको कार्यक्रम मुख्य गरी उद्घाटनसत्र, बन्दसत्र र समापन गरी तीन चरणमा सञ्चालन गरिने भएको छ।

साधारण सभाको उद्घाटन पश्चात वन्दसत्रमा, संस्थागत गतिविधिहरु समेटिएको महासचिवको प्रतिवेदन र आर्थिक कारोवारहरु समेटिएको कोषाध्यक्षको प्रतिवेदन उपर आवश्यक छलफल  गरिने र पारित गरिने छ भने यस्तैं विधान उपर आवश्यक छलफल गरी  संशोधन गरी पारित गरिने कार्यतालिका तयार गरिएको छ।

महासचिव भण्डारीले भने, 'साधारण सभामा मुख्यगरी महासचिव र कोषाध्यक्षहरुले प्रस्तुत गर्नु हुने प्रतिवेदनहरु उपल छलफल गरी पारित गरिने छ।'

उनले थपे,' यो साधारणसभालाई विधान संशोधन, पत्रकारिता आचारसंहिता र पुरस्कार तथा सम्मान कार्यबिधिमा पनि विशेष रुपमा केन्द्रिकृत गर्ने छौं। विद्यमान विधान उपर आवश्यक छलफल गरी आवश्यकता अनुसार संशोधन समेत गर्नेछौं। पत्रकारितालाई थप व्यवस्थित तथा मर्यादित बनाउन आचारसंहिता तयार गर्ने छौं।'

संस्थाले विधान संशोधनका लागि आवश्यक तयारी गर्न भनी, यस अघि नै गिरिश पोखरेलको संयोजकत्वमा, सदस्यहरु कल्पना घिमिरे, सुजन पण्डित, गोकुल श्रेष्ठ, प्रतिमा बाँस्कोटा, रामचन्द्र भट्ट र मधुकर अधिकारी रहेको सात सदस्यीय विधान संशोधन उपसमित गठन गरेको थियो। 

सोही जिम्मेवारी अनुसार विधान संशोधन उपसमितिले पनि तिब्रताका साथ आफ्नो जिम्मेवारीको काम गरिरहेको महासचिव भण्डारीले जानकारी दिए।

उनले भने,'संस्थाले वितरण गर्ने पुरस्कार र योगदानको कदर स्वरुप गर्ने सम्मानलाई व्यवस्थित गर्न पुरस्कार तथा सम्मान विनियमावली पारित गर्ने तयारी छ।' 

सन् २००७मा स्थापना भएको यस संस्थाले यसै वर्षदेखि आफ्नो संस्थागत गतिविधिहरुलाई समेटेर वार्षिक वुलेटिन प्रकाशित गर्ने तयारी पनि गरेको छ। त्यसका लागि बाबुराम दाहाल संयोजक तथा लेखनाथ भण्डारी, राजु आचार्य, सुपेन्द्र बस्नेत, रामचन्द्र भट्ट, प्रतिमा बाँस्कोटा र लेखनाथ गौतम सदस्य रहने गरी गठित सात सदस्यीय प्रकाशन उपसमितिलाई जिम्मेवारी सुम्पिएको छ। 

साधारण सभाको तयारीका सम्बन्धमा नेजाका पश्चिम क्षेत्रका संयोजक  तथा कन्भेनर शिव नेपालले दिनु भएको जानकारी अनुसार तयारी अन्तिम चरणमा पुगेको छ।

संघका सदस्य तथा पाहुनाहरुको स्वागत, खाना तथा बसाइ र कार्यक्रम स्थलको व्यवस्थापन कार्य लगभग पूरा भैसकेको छ। कन्भेनर नेपालले भने, 'हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ। स्वागतका लागि हामी आतुर छौं। सबैलाई पाल्नु हुन अनुरोध छ।'

यसैबीच, संघले आफ्नो साधारण सभाको अवसर पारेर आमा फाउण्डेशनसंगको सहकार्यमा एक हजार एक सय एघार डलर एघार पैंसा राशीको 'नेजा सामुदायिक पत्रकारिता पुरस्कार'  समेत प्रदान गर्ने गरी आवश्यक तयारी गरिरहेको संघले जनाएको छ। त्यसका लागि प्रक्रियामा भाग लिन संस्थाले इच्छुक क्रियाशिल पत्रकार तथा सञ्चार सम्वद्ध संस्थाहरुलाई आव्हान समेत गरेको छ।

प्रकाशित मिति: : 2022-07-22 20:53:00

प्रतिकृया दिनुहोस्