झापामा रबर उद्योगलाई अनुदान

file photo
file photo

प्राकृतिक रबरको चोपलाई प्रशोधन गरी विभिन्न सामान उत्पादन गर्ने उद्देश्यले मेचीनगर नगरपालिका–११ मा रबर उद्योग स्थापना गरिएको छ। उद्योगको स्थापनासँगै रबर किसानहरुमा खुसी छाएको छ। 

धाइजन पशुपालन तथा व्यावसायिक कृषि फार्मले सो उद्योग स्थापना गरेको हो। उद्योगका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाले आर्थिक वर्ष २०७८/०७९ मा रु ४० लाख अनुदान प्रदान गरेको छ। सो अनुदानले उद्योगको मुख्य मेसिन खरिद गरिएको छ। 

परियोजनाले सो कृषि फार्मलाई उद्योगको मेसिन खरिदका लागि ५० प्रतिशत अनुदानअन्तर्गत रु २७ लाख २५ हजार र घर निर्माणका लागि ८५ प्रतिशत अनुदानअन्तर्गत रु १२ लाख ७५ हजार प्रदान गरेको छ। 

कार्यालयका सूचना अधिकारी रवीन्द्र निरौलाले रबर उद्योगबाट गुणस्तीय गम, ग्लोब, बेलुन आदि बनाउन सहयोग पुग्ने जानकारी दिए। उनले उद्योगमा करिब सातजना स्थानीयवासीलाई नौ महिनासम्म रोजगारीसमेत प्रदान गर्न सकिने विश्वास व्यक्त गरे। 

उनले आर्थिक वर्ष २०७८/०७९ मा रबर खेती गर्ने साना किसानलाई सहयोग पु¥याउने उद्देश्यले परियोजनाले साना किसान प्राकृतिक रबर उत्पादक सङ्घलाई रबर चोप सङ्कलन गर्ने सामग्री खरिदका लागि रु २० लाख र रबर डस्टिङ मेसिन खरिदका लागि रु पाँच लाख गरी रु २५ लाख अनुदान प्रदान गरेको छ।

जिल्लामा आव २०७५/०७६ बाट रबर जोन सञ्चालनमा आएसँगै रबर किसानलाई प्रोत्साहन र खेती प्रवद्र्धन गर्नका लागि विभिन्न उपकरण खरिद र नर्सरी स्थापनाका लागि अनुदान प्रदान गरिँदै आएको छ। 

चार वर्षमा परियोजनाले रबर जोनका लागि मात्र रु दुई करोड ११ लाख ५० हजार विनियोजन भएको रकममध्ये रु एक करोड ५७ लाख १७ हजार ८१० अनुदान प्रदान गरिसकेको छ। जसमध्ये रबर स्मोक हाउस निर्माणमा ८५ प्रतिशत र अन्यमा ५० प्रतिशतले अनुदान प्रदान गरिएको छ। 

झापामा करिब ५०० हेक्टर क्षेत्रमा रबर खेती हुँदै आएको छ। सामुदायिक वन, एग्रो फरेस्ट्रीलगायतका संस्थाले धेरै जग्गामा रबर खेती गरेका छन् भने करेसाबारीमा १० बोटदेखि दसौँ बिघा जग्गामा हजारौँ बोट रबर हुर्काउने किसानको सङ्ख्या झापामा थुप्रै रहेको छ। 

किसानले खेती नहुने पाखो र बगर जग्गामा रबर लगाएर प्रतिबिघा रु चार लाखसम्म बर्सेनि आम्दानी गर्दै आएका छन्। रबरको चोप मात्र नभएर यसका दाउरा र काठ महँगोमा बिक्री हुने गरेको छ भने रबर खेती लगाएको स्थानमा मौरीपालन फस्टाउने गर्दछ।

यसअघि कनकाई नगरपालिका–७ मा रु २० करोडको लगानीमा स्थापित कनकाई रबर उद्योग सञ्चालनमा आएको छ। 

तीन हप्तादेखि परीक्षणका रूपमा सञ्चालन गरिएको उद्योगलाई चाँडै व्यावसायिकरूपमा लैजाने उद्देश्य रहेको सञ्चालक बालकृष्ण सापकोटाले बताए। काठमाडौँ र झापाका लगानीकर्ताले साझेदारीमा कनकाई रबर उद्योग स्थापना गरेका हुन्।

किसानबाट खरिद गरेको रबरको चोपलाई आधुनिक मेसिनमा प्रशोधन गरी पहिलो चरणमा जुत्ता चप्पलमा प्रयोग हुने सोलुसन (टाँस्ने पदार्थ) र रबर सोल उत्पादन गरिने सञ्चालक सापकोटाको भनाइ छ। 

नेपालमा सयौँको सङ्ख्यामा रहेका जुत्ता चप्पल उद्योगले यहाँबाट उत्पादित सोलुसन र सोल प्रयोगमा ल्याउने सञ्चालकको अपेक्षा छ। हालसम्म ती उद्योगले यस्तो कच्चा पदार्थ भारतको केरला, भियतनाम र थाइल्यान्डबाट आयात गर्दै आएका थिए।

प्रकाशित मिति: : 2022-07-19 21:18:00

प्रतिकृया दिनुहोस्