बजेटमाथिको छलफल अझै अनिश्चित

सुदूरपश्चिम प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको बैठकमा सदन सञ्चालन गराउने बारेमा सहमति जुट्न नसकेपछि आज बोलाइएको प्रदेशसभाको बैठक पनि स्थगन गरिएको छ।

आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा प्रस्तुत भएको प्रदेश सरकारको बजेट कार्यक्रममा  सत्तापक्ष नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसकै सदस्यको असन्तुष्टिपछि पटक पटक बोलाइएको प्रदेशसभाको बैठक सूचना टाँस गरी स्थगन हुँदै आएको छ।

प्रदेशसभा सदस्य देवराज पाठकले आजको कार्यव्यवस्था समितिको बैठकमा पनि सहमति जुट्न नसक्दा आजै बस्ने भनिएको प्रदेशसभाको बैठक पनि स्थगन गरिएको बताए।

सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)को केही दिनअघि बसेको संसदीय दलको बैठकमा बजेट कार्यक्रमका पक्षमा उभिन सदस्यहरुलाई निर्देशन(ह्विप) दिइएको थियो। 

सहमति जुट्न नसक्दा यही असार १ गते सरकारले पेस गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रममाथि सदनमा अझै छलफल हुन सकेको छैन। असार मसान्तभित्र बजेट कार्यक्रम पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

बजेट कार्यक्रममा क्रमागत योजना हटाइएको, योजनाको बाँडफाँट असमान ढङ्गले भएको जस्ता गुनासोहरु सदस्यले गरेका छन्।

सामाजिक विकासमन्त्रीलाई समेत जानकारी नदिई उक्त मन्त्रालयगत शीर्षकमा एउटै नगर क्षेत्रका मठमन्दिरका नाममा ठूलो बजेट रकम विनियोजन गरिएको गुनासो प्रदेशसभा सदस्यहरुको छ। 

असन्तुष्टिका बारेमा सरकारसँग बसेर छलफल नगरेसम्म र बजेट कार्यक्रमलाई परिष्कृत नगरिएसम्म यथास्थितिमै प्रदेशसभामा छलफल अघि बढ्न नसकिने अडानमा असन्तुष्ट सदस्यहरु रहेका छन्।
 

प्रकाशित मिति: : 2022-07-10 21:53:00

प्रतिकृया दिनुहोस्