तातोपानी गाउँपालिकाकाे बजेट पारित 

जुम्लाकाे तातोपानी गाउँपालिले आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएकाे बजेट गाउँ सभाबाट सर्वसहमतिले पास गरेकाे छ।

आइतबार बसेको पालिकाको ११ औँ गाउँ सभाबाट सर्वसम्मतिले आगामी आव को बजेट पारित भएको हो सदस्य सचिव मिलन बुढथापाले जानकारी दिए। 

उनले भने, 'गाउँपालिकाका आठ वटै वडाको बजेट माथि दफावार छलफल तथा गाउँसभा सदस्यको टिप्पणी सहित सभाध्यक्ष नन्दप्रसाद चौलागाईको सम्बोधनपछि ११ औँ गाउँ सभाबाट बजेट पारित भएको हाे।'

तातोपानीले ५२ करोड ६६ लाख ३० हजार ३ सय ४३ रुपैयाँ बराबरको बजेट पारित गरेकाे छ। जसमा जनतासँग अध्यक्ष कार्यक्रममा ८५ लाख र जनतासँग उपाध्यक्ष कार्यक्रममा ८० लाख विनियोजन भएको छ भने वडा नंं १ देखि ६ सम्म ८० देखि ९५ लाखसम्म छुटाइएको छ।

साथै भौगोलिक हिसाबले विकट रहेकाे तातोपानीको वडा नं. ४ र भेरीखोला क्षेत्र वडा नंं. ७ मा ९५ लाख तथा वडा नं. ८ मा ९० लाख बजेट विनियोजन गरिएको बुढथापाले बताए। 

वडास्तरबाट माग भई आएका योजनालाई वडाध्यक्षले प्राथमिकता दिएर बजेट विनियोजन गरेकाे गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाइले बताए।

'वडागत रुपमा आवश्यकतामुखी बजेट विनियोजन तथा नीति र कार्यक्रम ल्याएकोले जिल्लामै पहिलो बजेट र नीति पारित गरेका छाैं,' उनले भने, 'सबै जनप्रतिनिधिको सल्लाहमा शिक्षा, स्वास्थ्य र सडकमा बजेटले प्राथमिकता दिएको छ।'


असार १० गते गाउँसभाम प्रस्तुत बजेटमाथि लगातार छलफल भई गाउँ सभाबाट पारित भएको उपाध्यक्ष रेवती रावलले बताइन। 

उनले प्रस्तुत गरेको बजेट वक्तव्य अनुसार तातोपानीले समग्रमा  सडक तर्फ १ करोड ८२ लाख, ५० हजार, शिक्षा तर्फ १ करोड ७३ लाख ५० हजार, स्वास्थ्यमा १ करोड १४ लाख ५० हजार, कृषिमा ८८ लाख बजेट विनियोजन गरिएको छ। 

त्यस्तै, खानेपानी तथा सरसफाईमा १ करोड ६६ लाख ७५ हजार, नदी नियन्त्रणमा ५५ लाख, खेलकुद, पर्यटन तथा सांस्कृतिक संरक्षणका लागि ८६ करोड २५ लाख, वन वातावरण तथा विपद् व्यवस्थापनमा ४५ लाख, न्याय र कानुनमा ६ लाख, सूचना प्रविधिमा २७ लाख विनियोजन भएको छ। 

सिचाई तर्फ १९ लाख, पशु सेवा तर्फ १५ लाख, महिला तथा बालबालिका तर्फ १० लाख, उद्योग उद्यमशीलतामा ३९ लाख ५० हजार, सहकारीतर्फ ८ लाख, लक्षित वर्गको हितका लागि ५२ लाख, बहुक्षेत्रिय पोषण तर्फ ८ लाख, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता तर्फ १० लाख बजेट छुटाइएको छ। 

गाउँपालिकाले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आगामी आवमा समयमै योजना सम्झौता देखि निर्माण प्रक्रिया अघि बढाइने गरि संयन्त्र तपार पारेकाे प्रमुख प्रशासकीय अधिकृत बुढथापाले बताए।

उनले थपे, 'डिजिटल प्रणालीबाट सेवा प्रवाह गर्ने, अस्पताल निर्माण गर्ने, झिकाऊ, सिकाऊ, टिकाउ र बिकाऊ हुन खालको जनशक्ति उत्पादनका लागि शैक्षिक गुणस्तरमा जोड दिइने छ।'

निर्वाचन घोषणा पत्र अनुसार काम गर्न तथा जनताका भावनाको कदर गर्नका लागि ल्याइएका नीति कार्यक्रम कार्यान्वयनका लागि गम्भीर भएकाे अध्यक्ष चाैलागाईले बताए।

'सीमित स्रोतका बीच असीमित नागरिकका चाहाना पुरा गर्न मुस्किल छ। तैपनि जनभावना अनुसार काम गर्ने गरि लाग्नेछाैं,' उनले भने।

प्रकाशित मिति: : 2022-06-27 22:05:00

प्रतिकृया दिनुहोस्