घोराहीले ल्यायो २ अर्ब ३२ कराेड बढीको बजेट

घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३२ करोड ९० लाख ७१ हजारको बजेट ल्याएको छ।

आज दोस्रो नगरसभाको पहिलो बैठकमा नगर उपप्रमुख हुमा डिसीले चालू तर्फ १ अर्ब २५ करोड ४० लाख ८१ हजार र पूँजीगत तर्फ १ अर्ब ७ करोड ४९ लाख १० हजारको बजेट प्रस्तुत गरिन्।

उक्त बजेट खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक आयव्ययबाट रु ३२ करोड, संघीय वित्तिय समानिकरण अनुदानबाट रु ३५ करोड ९५  लाख, संघीय राजस्व बाँडफाँडबाट २५ करोड ७६ लाख ५८ हजार, संघीय रोयल्टी बाँडफाँडबाट ७ लाख, संघीय सशर्त अनुदानबाट ७१ करोड २ लाख ब्यबस्था गरिने उपप्रमुख डिसीले बताइन्।  

त्यस्तै संघीय समपुरक अनुदानबाट १ करोड र संघीय विशेष अनुदानबाट २ करोड बेहोरिने उनकाे भनाइ छ। डिसीका अनुसार प्रदेश समपुरक अनुदानबाट ३ करोड र प्रदेश विशेष अनुदानबाट ८० लाख खर्च व्यहोर्ने छ।

यसबाट अपुग हुने रकम ५३ करोड ५८ लाख र गत आर्थिक वर्षको बैंक मौजदातबाट स्रोत व्यवस्थापन गरिने उल्लेख छ । 

के-के परे बजेटमा प्राथामिकता ?

२ अर्ब ३२ करोड ९० लाख बढीको बजेट ल्याएको घोराहीले शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथामिकता राख्दै बजेटको बाँडफाँड गरेको छ।

‘आजका बालबालिका : भोलिका भविश्य’ भएको भन्दै जसका लागि विद्यालयलाई पूर्वाधारयुक्त बनाउन रु. ६ करोड ४९ लाख बजेट विनियोजन गरिएको नगरउपप्रमुख हुमा डिसीले बताइन्।

बादी समुदाय लगायत अति पिछडिएका बालबालिकाको छात्रबृत्तिका लागि रु ५ लाख, खेलकुद कार्यक्रमका लागि रु १८ लाख, डाक्टर– इन्जिनियर छात्रवृत्तिका लागि रु १६ लाख बजेट विनियोजन गरिएको छ।

यस्तै वडा नं १२ र १६ मा नयाँ स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माणका लागि रु १ करोड, जेष्ठ नागरिक घरदैलो स्वास्थ्य जाँचका लागि रु १५ लाख, खुल्ला व्यामशाला निर्माणका लागि रु १५ लाख बजेट विनियोजन भएको छ ।कृषकका लागि पनि बजेटले प्राथामिकता पाएको छ। कृषि एप निर्माणदेखि कृषक वर्गिकरण एवं परिचयपत्र वितरण गर्न बजेटको व्यवस्थ गरिएको छ।

कृषक, सहकारीलाई ५० प्रतिशत अनुदान, कृषि यान्त्रीकरण, औजार उपकरण वितरण, मुल तथा उन्न बिउँमा ८० प्रतिशत अनुदान लगायत तरकारी खेतिका लागि फलामस्ट्रक्चर, प्लाष्टिक टनेल अनुदान, फलफूल वितरण लगायतका लागि ९४ लाख ९० हजार बजेट विनियोजन भएको छ। 

कृषकलाई घाँसको बिउँ वितरण, माछाका भुरा, अनुदानमा बाख्रा, बंगुर, पशु स्वास्थ्य शिविर, गोठ, भकारो सुधार कार्यक्रम लगायतका लागि १ करोड ८ लाख २० हजार बजेट विनियोजन गरिएको बजेट प्रस्तुत गर्दै उपप्रमुख डिसीले जानकारी दिइन्। 

घोराही चोकमा आकाशेपुल निर्माण र खरको छानो विस्थापन गर्न एक-एक करोड 

पूर्वाधार विकास अन्तरग घोराही उपमहानगरले घोराही १५ स्थित घोराही चोकमा आकाशे पुल निर्माणलाई प्राथामिकता राख्दै १ करोड बजेट विनियोजन गरेको छ।

बबई लिफ्टिङ आयोजनाका लागि १ करोड, खरको छानो विस्थापन गर्न १ करोड बजेट विनियोजन भएको छ। 

यस्तै सडक पिच, ग्राभेल तथा बाटो स्तरउन्नती, केन्द्रदेखि वडा कार्यालय जोड्ने पिच सडक आयोजना, पुल, घोराही १७ को क्रिकेट रंगशाला निर्माण, कृत्रिम जलाशय संरक्षण, बबई करिडोर आयोजना सम्भाव्यता अध्ययन लगायतका लागि ७६ करोड ५४ लाख ५० हजार बजेट विनियोजन भएको छ।

भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीसँग सम्बन्धित कार्यक्रम संचालनार्थ भूमि व्यवस्थ तर्फ रु १० लाख, पिडित, असहाय, निःशुल्क कानूनी सहायता कोष, कानूनी साक्षरता कार्यक्रमलगायतका लागि रु १६ लाख ७० हजार बजेट विनियोजन गरिएको नगर उपप्रमुख डिसीले बताइन्।

(यसअघि २ अर्ब ३२ कराेड बढीको बजेट हुनुपर्नेमा अन्यथा भएकाेमा सच्च्याएका छाैँ)

प्रकाशित मिति: : 2022-06-24 18:55:00

प्रतिकृया दिनुहोस्