कुनै समय धरहरा नजिकै सुनजडित ढुंगे धारा थियो, जसलाई सुन्धारा भनिन्थ्याे। जुन धाराबाट निरन्तर पानी आउँथ्यो। त्यही पानी पिएर सुरु हुन्थ्यो, सुन्धाराबासीका दिनचर्या।
३६ वर्षअघि कलकल पानी बग्ने सुन्धारा अहिले सुकेको छ। तिर्खाएकाको प्यास मेटाउने सुन्धारा अहिले आफैँ तिर्खाएकाे छ, सुख्खा भएकाे छ।
बाल्यकालदेखि सुन्धाराकाे पानी पिएर हुर्किएका स्थानीयहरू हिजोआज 'काकाकुल' बनेका छन्।
सुन्धाराको पानीमा खेलेर बढेकाेले अहिले पानीकाे खडेरी लाग्दा दुख लागेकाे न्यूरोडका एक स्यानीय बताउँछन्।
‘बच्चाबेला यहीँको पानी पिएर हुर्किएँ, त्यसैले मलाई याे सुन्धाराकाे माया लाग्छ’, सुन्धारातर्फ देखाउँदै उनले भने, ‘नयाँ धरहरा त बन्यो, सुन्धारा पनि बन्ला नि!’
कहाँबाट आउँथ्यो सुन्धाराको पानी?
सुन्धारामा पानी आउने मुख्य स्रोत टुँडिखेल रहेकाे काठमाडौं महानगरपालिका वडा नं–२२ का वडाध्यक्ष चिनिकाजी महर्जनले बताए।
‘सुन्धारामा आउने पानीकाे मुख्य स्रोत टुँडिखेलको भूमितगत पानी थियो’, उनले बिएल नेपाली सेवासँग भने, ‘रानीपोखरीदेखि रंगशालासम्म फैलिएको टुँडिखेलमा पोखरी थियो। जुन बालुवाले भरिएको थियो।’
उनका अनुसार टुँडिखेलको पानी झर्ने पाँच वटा धारा थिए। जसमध्येको ठूलो धारा सुन्धारा थियाे।
कसरी सुक्यो सुन्धाराको पानी?
विशाल टुँडिखेलको आकार घट्दै गयो। जसकारण सुन्धाराको पानी सुक्न थाल्याे। सुन्धारा सुक्नुको अर्को कारण काठमाडौं मल पनि रहेकाे उनी बताउँछन्।
‘पानी आउने जमिनमा ठूला भवन बने, बालुवाको ठाउँमा माटो भरियो। जसकारण सुन्धारा सुक्न थाल्यो’, उनले भने।
सुन्धाराको पानी पिएर गर्व गर्ने स्थानीयहरुले पानी सुकेको कारण आन्दोलनसमेत गरे। तर कसैले उनीहरूकाे वास्ता गरेनन्। जसकारण सुन्धारामा आउने पानी विलीन भयाे।
सुन्धाराको विशेषता के थियो?
सुन्धारा अन्य ढुंगेधाराहरुभन्दा फरक रहेको वडाध्यक्ष महर्जनको भनाई छ।
‘सुन्धाराको महत्वपूर्ण पक्ष भनेकै त्यसमा सुनजडित गरिएको थियो। धारामा बनाइएका कलाले झनै आकर्षित देखिन्थ्यो’, उनले भने, ‘त्यहाँकाे पानी सफा हुन्थ्याे। साेही धाराकाे पानी पिएर मानिसले आफ्नो प्यास मेटाउने गर्थे।’
उनकाअनुसार धारामा तातो र चिसो पानी बग्ने गर्थ्याे। सुन्धाराकाे पानी पिउनाले राेगहरूबाट मुक्ति पाइने जनविश्वास रहेकाे बताउँदै उनले भने, ‘मान्छे बिरामी हुँदा यहाँकाे पानी पिउने गर्थे।’
अब कहिले बन्ला त नयाँसुन्धारा?
नयाँ सुन्धारा बनाउनका लागि आफूहरुले पहल गरिरहेको वडाध्यक्ष बताउँछन्। सुन्धारा स्थानीयहरुको ‘शान’ भएका कारण यसबाट पुनः पानी बग्नुपर्ने उनले बताए।
‘सुन्धारा भनेको हाम्रो धरातल हो, यसलाई मास्नु हुँदैन। यसलाई हटाउनु भनेको आफ्नै अस्तित्व हराउनु हो’ विगतमा भएको सुन्धारालाई सम्झिँदै उनले भने, ‘जसरी भएपनि हामीले यसलाई बनाउनुपर्छ।’
आफूलगायत स्थानीहरुले सुन्धारा बन्ने कुरामा आश गरिरहेकाे उनले बताए।
‘हामी सुन्धारा बन्ने प्रतिक्षामा छौँ। त्यसैले चुप लागेर बसेका हौँ तर सुन्धारालाई कसैले बनाउँदैन भने हामी आफैँ यसलाई बनाउने छाैँ’, उनले भने।
पहिलेको जस्तो पानी बग्ने सुन्धारा बनाउने सोचेका उनलाई यकिन छैन, कहिलेसम्म बन्छ सुन्धारा। ‘सुन्धाराबाट पानी अवश्य आउँछ तर कत्ति समय लाग्छ त्याे यकिन छैन’, उनले भने।