काठमाडौंको धरहरामा उनी ‘साबेल’ चलाउँदै थिए। १२ बजेको टन्टलापुर घाममा उनी पसिना पुछ्दै बालुवा र गिट्टीलाई घोल्दै थिए।
काम गरेर थाकेका उनी उभिएको मात्र के थिए, पछाडिबाट आवाज दिँदै उनलाई भन्न थाले, ‘बस्ने होइन खुरुखुरु काम गर!’
‘हुन्छ’ को इशारामा टाउको हल्लाउँदै उनी पुनः काममा लाग्न थाले।
सिरहाका शिवकुमार सदाईलाई काठमाडौं आउने रहर थिएन। तर बाध्यताले उनलाई गाउँ बस्नै दिएन। एकातिर परिवारको पीर अर्कोतिर तिनुपर्ने साहुको ऋण। त्यसैले उनी काठमाडौं हानिए।
दुई वर्षअघि काठमाडौं आएका उनलाई परिवारको चिन्ताले नसताएको पनि होइन। तर यतै बसेर काम गर्नु उनको बाध्यता थियो।
‘मायाले केही नहुने रहिछ, परिवारको पेट पाल्नको लागि र साहुको ऋण तिर्नका लागि पनि काम गर्नै पर्यो’, घरको अवस्था सुनाउँदै उनले भने, ‘त्यसैले परिवारको माया बिर्सिएर यहाँ आएँ।’
गाउँमा दिनभरि खेतीमा काम गरेबापत उनले १० केजी धान पाउँथे। त्यही धानबाट उनीहरुको गुजारा चल्थ्यो। तर श्रीमतीसहित पाँच जनाको परिवारलाई त्यसले मात्र केही दिनको आहार हुन्थ्यो।
एक्लो ज्यानले पाँच जनाको पेट पाल्न मुस्किल हुन थालेपछि उनीसँग जहान पलासदेवी सदाई पनि खेतीको काममा जान थालिन्। सदाई दम्पती दिनभरि खेतमा खटिन्थे अनि २० केजी धान घरमा ल्याउँथे।
अरूकाे जग्गामा काम गरेर गुजारा चलाइरहेका शिवकुमारलाई एकदिन गाउँकै साथी जीयालाल सदाईले काठमाडौं जाने प्रस्ताव राखे।
जीयालालले उनलाई भनेका थिए, ‘तु चल मेरे साथ काठमाडौं, इधर रहेगाको तो भुका मर जायेगा। उधर चलेगा तो पेसे कमाएगा!’
काठमाडौंमा बसेर पैसा कमाइरहेका साथीको कुरा सुनेर उनमा पनि जोश आयो, पैसा कमाउने। त्यसैले उनी जीयालालसँगै काठमाडौं छिरे।
काठमाडौं आएका उनी धरहरा निर्माणमा लाग्न थाले। २०७२ सालको भूकम्पले भत्काएको धरहरालाई बनाउन पाउँदा खुशी लागेको उनले बताए।
‘काम गरेर खुशी नै छु’, हाँस्दै उनी बिएल नेपाली सेवासँग भने, ‘गाउँमा बसेको भए यति पनि हुँदैन थियो।’
बिहानको ८ बजेदेखि साँझ ७ बजेसम्म ज्यामी काम गरेर उनी साढे ७ सय कमाउँछन्।
त्यही आम्दानीको थुपारेर उनी महिनामै १५–२० हजार गाउँमा पठाइदिन्छन्। काठमाडौं आएर पैसा कमाएको र परिवार पाल्न सहज भएकाे उनी बताउँछन्।
६ केजी धानमा काम
२०३८ सालमा उनी सिरहाको लहान वडा–२ सखुवामा जन्मिए। गरिब परिवारमा हुर्किएका उनको बस्नको लागि न घर थियो, न त घर बनाउनको लागि जग्गा नै।
उनलाई अझै याद छैन, उनका पिता मनमा र माता भीटीदेवी सदाई कहाँबाट आएका हुन्। उनलाई यतिमात्र थाहा छ, आफू सुकुम्बासी भनेर।
‘म जन्मिएदेखि नै त्रिपाल र परालको घरमा बसिरहेको छु’, विगत सम्झँदै उनी भन्छन्, ‘गरिब परिवारमा जन्मिएपछि दुख हुँदो रहिछ।’
चार दशकअघि उनका माता र पिता अरुको खेतमा ६ केजी धानका लागि काम गर्न जान्थे। त्यहीँबाट उनीहरुले १२ केजी धान ल्याउँथे।
‘आफ्नो खेतीपाती गरौँ भने खेत थिएन, त्यसैले अरुको खेतमा काम गर्नुपर्यो’, उनले भने।
विस्तारै बालाख शिवकुमार हुर्किँदै गए। बाआमाले ल्याएको धानले ६ जनाकाे पेट भर्न समस्या हुँदै गयो। त्यसैले १५ वर्षका शिवकुमार पनि खेतमा काम गर्न थाले।
नाबालक उनलाई काम गरेको देखेर नगिज्याएको होइन, तर उनी दुख सम्झेर काम गथे।
‘मेराे उमेरको केटाकेटी स्कुल जान्थे, म चाहिँ काम गर्थेँ। उनीहरु स्कुल गएको देखेर मलाई पनि स्कुल जाने मन भयो तर घरको गरिबीले पढ्ने सोच्नै आएन’, विद्यालयमा पाइलै नटेकेका उनी भन्छन्, ‘स्कुल जाँदा कस्तो हुन्छ भनेर थाहा छैन।’
सपना देख्ने उमेर छैन
कुनैबेला विदेश गएर धेरै पैसा कमाउने सोचेका शिवकुमारको अहिले कुनै सपना छैन। उनलाई पैसा कमाएर घर जग्गा जोड्ने मन छैन। मात्र उनी बाँचुन्जेल परिवारको लागि खट्न चाहन्छन्।
‘अब त उमेर पनि छैन सपना देख्ने’, आकाशमाथि हेर्दै उनी भन्छन्, ‘माथि जानेबेला भएको मान्छेले के सपना देख्नु र? मेरो छोराछोरीहरुले सपना देखेका होलान् नि!’
१७ र १२ वर्ष पुगेका छोराको उनलाई कुनै पीर छैन। ‘छोरा मान्छे हो के पीर हुन्छ र? मैले त आफैँ गरेँ, उनीहरुले पनि गरिहाल्छ नि! छोरीको पीर लागेको थियो, विवाह गरिदिएँ’, उनले भने। १५ वर्षको नाबालिग उमेरमा उनले छोरीको विवाह गरिदिए।
‘हामी काममा हुन्छौँ। छोरी दिनभरि के गर्छ, कस्तो गर्छ हामीलाई थाहा हुँदैन’, तराईमा छोरीको विवाह छिट्टै गरिदिने चलन भएको बताउँदै उनले भने, ‘त्यसैले छोरीको विवाह चाडैँ गरिदियौँ। अहिले मनमा ढुक्क छ।’
सानैदेखि काममा लागेका उनी पढाइमा भन्दा काममा विश्वास गर्छन्। त्यसैले उनको सोच छ, छोराहरुले नपढे पनि मेहनतले काम गरुन्! ‘बाँच्नका लागि काम चाहिने रहिछ, पढाइ होइन’, उनले भने।