भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि श्रृंगारिँदै लुम्बिनी (फाेटाे फिचर)

Breaknlinks
Breaknlinks

विश्व शान्तिको मुहान लुम्बिनी यतिबेला चिरिच्याट्ट हुँदैछ। बुद्ध जयन्तिको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण आउने भएपछि लुम्बिनीमा चहलपहल बढेकाे हाे। चुनावको चटारोकै बीचमा लुम्बिनीमा साजसज्जाका काम धमाधम चलिरहेका छ।

लुम्बिनीको गुरुयोजना अनुरुपका काम पनि पूरा हुने चरणमा रहेको र लुम्बिनीमै अन्तर्राष्ट्रिय ध्यान केन्द्र समेत निर्माण भएको अवस्थामा मोदीको उच्चस्तरीय सांस्कृतिक भ्रमण हुन लागेको हो। नेपाल सरकारले आज (बिहीबार) अबेर मात्रै मोदीको सांस्कृतिक भ्रमणको बारेमा औपचारिक जानकारी गराएको छ।

मोदीले लुम्बिनीमा ध्यान केन्द्रमा आयोजित समारोहमा सरिक हुने, मायादेवी मन्दिरमा विशेष पूजाआजा गर्ने, अशोक स्तम्भमा दीप प्रज्ववलन गर्ने, अन्तर्राष्ट्रिय बौद्ध विहारको शिलान्यास गर्नेलगायतका कार्यक्रम रहेको तर, सबै कार्यतालिका परराष्ट्र मन्त्रालयले नै हेरेको कोषका उपाध्यक्ष भिक्षू मेत्तैयाले बताए।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको आगामी जेठ २ गते उद्घाटन हुनेछ। २५६६औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा निर्माणाधीन ५ हजार जना अट्ने क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने तय भएको विकास कोषका उपाध्यक्ष भिक्षू मेत्तैयाले बताए।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त ध्यान केन्द्रको शिलान्यास गरेकी थिइन। २०७५ वैशाख १७ गते बुद्ध जयन्तिको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारी, त्यसबेला प्रधानमन्त्री रहेका केपी शर्मा ओली र पर्यटनमन्त्री स्व.रवीन्द्र अधिकारीले संयुक्त रुपमा शिलान्यास गरेकी थिइन्।

सन् २०१६ को अन्तर्राष्ट्रिय बाैद्ध सम्मेलन मनाउने क्रममा पानीले कार्यक्रम नै प्रभावित बनेपछि सोही कार्यक्रममा उपस्थित भएका त्यसबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र भव्य सभाहल बनाउन निर्देशन दिएका थिए। अन्तर्राष्ट्रिय बौद्ध सभाहलमा ध्यानकेन्द्रको छानो गोलाकार आकारमा डिजाईन गरिएको छ।

३८ करोड ५६ लाख रुपैयाँको लागतमा पहिलो चरणको काम ०७६ चैत ५ मा सम्पन्न गर्ने गरी ०७४ चैत ६ मा सम्झौता भएता पनि यसको शिलान्यास बुद्धजयन्तीको अवसरमा पार्दा केही समयपछि (२०७५ वैशाख) धकेलिएको थियो। यसक्षेत्रको प्रतिष्ठित निर्माण कम्पनी बाबुल निर्माण सेवाले सभाहल निर्माणको जिम्मा पाएको थियो।

कोरोना कहरका कारणले केही प्रभावित भएको काम अहिले केही साजसज्जा बाहेक पूरा भएको छ। अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको यहीँ बुद्ध जयन्तिकै अवसरमा उद्घाटन हुने विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए।

प्रकाशित मिति: : 2022-05-12 20:15:00

प्रतिकृया दिनुहोस्