नेपालको सबैभन्दा ठूलो जिल्ला भनेर चिनिने डोल्पाको परिचय फेरिन थालेको छ। पर्यटकीय हिसाबले पनि डोल्पाको पहिचान बेग्लै छ। तर हिजोआज डोल्पाको परिचय फरक हुन थालेको छ।
जिल्लाले आफ्नो स्वार्थका लागि जे पनि गर्न पछि नहट्ने नेता पाएका कारण शान्त डोल्पा अशान्त बन्न थालेको स्थानीयकाे गुनासाे छ। उनीहरूका अनुसार सांसद धनबहादुर बुढाका कारण डोल्पाको राजनीति फोहोर हुँदै गएको तथ्य एकपछि अर्को गर्दै बाहिर आउन थालेको छ।
जिल्लाका अधिकांश सरकारी अधिकारीलाई आफ्नो मुठीमा राख्ने सांसद बुढाले आफ्नो स्वार्थका लागि जे-जस्ता कार्य गर्न पनि पछि नहट्ने आराेप छ।
स्थानीय तहको चुनाव नजिकिँदै गर्दा नेताहरुले घरदैलो अभियान थालेका छन्। भलै अरुबेला जे-जस्तो गरेपनि चुनाव आएपछि नेताहरुले भोटका निम्ति नागरिकहरूसंग हात जाडेरै बिन्ती गर्ने क्रम जारी नै छ।
यसैबेला डोल्पाका सांसद बुढा भने राजनीतिक कार्यक्रमका नाममा सदरमुकामदेखि युवालाई लिएर गाउँलेलाई त्रसित बनाउन गाउँ पसेकाे स्थानीयहरू बताउँछन्।
केही समयअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपल्लो डोल्पा पुगेका थिए। वर्षौंदेखि बुढाको दबदबामा बसेका उपल्लो डोल्पाबासी प्रचण्डको कुरा सुनेर निर्वाचित जनप्रतिनिधिसहित माओवादीमा प्रवेश गर्यो। त्यो देखेर विक्षिप्त भएका सांसद बुढा अहिले कसरी हुन्छ उनीहरुलाई आफ्नो पक्षमा ल्याउने दाउमा छन्। त्यसका लागि बुढाले सदरमुकाम दुनै र काइके गाउँपालिकाबाट गरी करिब ६ सय युवालाई उपल्लो डोल्पाको धोतरापमा उतारेका छन्।
प्रहरी प्रशासनको आँखामा छारो हाल्न राजनीतिक कार्यक्रम भएको र त्यहाँ पार्टीका कार्यकर्ता लिएर गएको बताए पनि बुढाले स्थानीय तर्साउन हुलका हुल युवाहरु उतारेकाे बताइन्छ।
बुढाले डोल्पोबुद्ध गाउँपालिकालाई राजनीतिक रूपमा कब्जामा लिनको लागि डोल्पोबुद्धमा हुने खाद्यन्नदेखि त्यहाँका स्थानीयलाई आवतजावतमा समेत रोक लगाउन थालेका छन्। त्यसका लागि काइके गाउँपालिकाले समेत सहयोग गरेको देखिन्छ।
डोल्पाको काइके गाउँपालिका र उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्धमा सीमाना जोडिएकोले काइके गाउँपालिकामा खाद्यन्न, विकास निर्माणका सामग्रीलगायतका सामग्री ढुवानी गर्न दिइएको छैन। गत सोमबारदेखि काइके गाउँपालिकाको नाम्दो भन्ने ठाउँमा डोल्पोबुद्धमा जाने खाद्यन्न सामाग्री र ढुवानीका सामाग्री बाटोमै रोकिएका छन्।
खच्चडका भारीहरू फुकाल्दै सामानहर फाल्ने काम भएको स्थानीयले जानकारी दिएका छन्। आफैँले भोट हालेर जिताएका सांसद बुढाले नाकाबन्दी गर्दै भोकमरी निम्त्याउन थालेपछि स्थानीयहरु झनै रुष्ट भएका छन् भने जिल्ला बाहिर रहेका डोल्पालीहरुले विरोध जनाउन थालेका छन्।
धोका एक स्थानीयले बिएल नेपाली सेवासँग टेलिफोन सम्पर्क गर्दै भने, ‘गाउँभरी गुण्डा आएका छन्। हाम्रा खुट्टा कतिबेला भाँचिने हुन्, थाहा छैन। सांसदसँगै आएकाहरुले तँ कुन पार्टीको भन्छन्, उनको पार्टीको हैन भन्नाबित्तिकै थला बस्नेगरी हान्न थाल्छन्। हामीलाई पार्टी, हैन ज्यान जोगाउनु छ। त्यसैले हामीले बाध्यताले सांसदकै पार्टीको हुँ भन्दै आएका छौं। यो आतंक कहिलेसम्म ?’
स्रोतकाअनुसार स्थानीय धम्काउनकै लागि बुढाले सदरमुकाम दुनै र काइके गाउँपालिकाबाट स्थानीय लिएर उपल्लो डोल्पा पुगेका हुन्। ‘अहिले खेतीपातीको समय हो। हामीलाई प्रतिघर एक जना नगए गाउँबाटै निकाल्ने भन्दैछ, जानै पर्यो’, काइकेका एक स्थानीयले भने।
उनका अनुसार सांसद बुढाको निर्देशनमा गाउँबाट प्रतिघर एक जनाका दरले स्थानीय लिइएको छ। बुढाले हट्टाकट्टा, लड्न सक्नेलाई मात्र लिन भनेर उर्दी जारी गरेको समेत उनले बताए।
केही समयअघि माओवादीमा गएका स्थानीयलाई नेकपा (एकीकृत समाजवादी)मा ल्याउन विशेष कदम चालिरहेका छन्। त्यहाँका जनप्रतिनिधिलगायत नागरिकलाई सम्झाउने, नमाने बल प्रयोग गर्ने सांसद बुढाको मनसाय रहेको भन्दै डोल्पोवुद्धबासीले सुरक्षाकाे माग गर्दै आएका छन्। यस विषयमा निरन्तर चासो राख्न खोज्दा सांसद बुढा भने सम्पर्कमै आउन चाहँदैनन्।
उपल्लो डोल्पामा भइरहेको राजनीतिबारे जिल्लामा पनि खुबै चर्चा हुन थालेको छ। स्थानीयबासीले जिल्लामा सुरक्षाकाे माग गरेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीसमेत खटाइएको थियो।
शान्ति सुरक्षालाई ध्यानमा राखी उपल्लो डोल्पामा थप प्रहरी परिचालन गरिएको डोल्पा प्रहरी प्रमुख निरन्जन थापाले जानकारी दिए। राजनीतिक कार्यक्रम भएका कारण आफूहरुले हस्तक्षेप गर्न नमिल्ने तर राजनीतिका नाममा गुण्डागर्दी भए प्रहरीले बाँकी नराख्ने डिएसपी थापाले बताए।