गुराँस: जंगलको ज्वाला, निर्दोषिता र कोमलताको प्रतीक

Breaknlinks
Breaknlinks

वसन्त र फूल एकअर्कासँग निर्भर छन्। जहाँ फूल हुन्छ, त्यहाँ वसन्त हुन्छ। जहाँ वसन्त छ, त्यहाँ फूलहरू फुल्छन्।

फूलले वसन्तको प्रतिनिधित्व गर्दछ। वनलाई प्रकृतिको श्रृंगार भनिन्छ। फूलको सजावटले जङ्गलको बेग्लै पहिचान दिन्छ। रंगी–बिरंगी फूलको अनुपम गहनाले वसन्त ऋतु सजिएको हुन्छ।

फूलको वास्नाले प्रकृतिको झन् सौन्दर्य थप्छ। फूललाई सौन्दर्य, कोमलता, प्रेम, स्नेह र निर्दोषिताको प्रतीक मानिन्छ। गाउँतिर हरियाली परिवेशमा थरथिरी रंगका लाली गुराँस फुलेका छन्।

आजकल नेपाली वन–जङ्गलमा चम्किलो रंगका फूल फूल्नु वसन्तको युवावस्थाको सूचक हो। वसन्तको आगमनसँगै झाडी र सुक्खा पहाड राताम्मे छन्।

गुराँसले पहाडलाई सजाएको छ। घना जङ्गलका बीचमा एक्कासी फूल फूल्दा जङ्गल जलेको आभास हुन्छ। गुराँसका रूख फूलले ढाकेपछि प्रकृतिले रातो चन्द्रमाजस्तो लाग्छ। लाली गुराँसलाई जंगलको ज्वाला पनि भनिन्छ।

नेपाली सामाजिक र सांस्कृतिक जीवनमा गुराँसको कैयौं महत्व छ। लाली गुराँस आम–नेपालीहरूका लागि फूल मात्रै होइन यो राष्ट्रिय प्रतीक पनि हो। गुराँसले वसन्तसँगै नयाँ वर्ष आगमनको संकेत पनि गर्छ। शताब्दीयौंदेखि लोक गायक, लेखक, कवि, पदयात्री र प्रकृति प्रेमीका लागि प्रेरणाको स्रोत बनेको छ।

गुराँस नेपालीको प्रत्येक पक्षका सबै रंगहरू आफैंमा समेट्छ। हिमालयको अनुपम प्राकृतिक सौन्दर्यको वर्णन, मायालुको उपमा, मिलन वा बिछोडकाे कला–साहित्यमार्फत् अभिव्यक्त गर्ने माध्यम। थुप्रै नेपाली लोकगीत, कविता र कथाहरू गुराँसको वरिपरि नै रचिएका छन्।

लाली गुराँस खुशीको संकेत हो। प्रेम र आनन्दको अभिव्यक्ति हो। फूलले नशा जगाउँछ। गुराँस जीवन र मृत्युको प्रतीक हो। झाडीबिनाको जङ्गल कति उदास र भावनाहीन हुन्छ। त्यो पीडा कला–साहित्यबाट राम्रोसित महसुस गर्न सकिन्छ। वसन्त ऋतुमा जङ्गललाई रातो बनाइदिएको यो फूल देखेर सबै–सबै छक्क छन्।

गुराँस हिमालयको महानता हो। सौन्दर्य हो। शिवको सुन्दरता। पार्वतीको झिलिमिली पाना। गुराँसले कलाकारहरूलाई कलात्मक स्वतन्त्रता, प्रेम, सौन्दर्य र विछोडसम्मका भावना व्यक्त गर्ने माध्यम बनाएकाे छ।

कविहरूले गुराँसको महिमाको बारेमा रचना गर्छन्। गुराँस नेपालसहित भारत, बर्मा, श्रीलंका, तिब्बत–चीन, जापानलगायत देशमा फूल्छ। बढ्दो उचाइसँगै लाली गुराँसको रंग पनि परिवर्तन हुन्छ।

प्रकाशित मिति: : 2022-04-26 08:10:00

प्रतिकृया दिनुहोस्