पाकिस्तानमा ढल्यो इमरान खानको सरकार

बिएल संवाददाता

इस्लामावाद
[File: Akhtar Soomro/Reuters]

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ।

शनिवार मध्यरातमा संसदमा भएको मतदानमा खानले विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका छन्। इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने देशका पहिलो प्रधानमन्त्री बनेका छन्। 

मतदानमा ‘अन्तिम बल सम्म’ संघर्षरत खानको विपक्षमा १७४ मत परेको थियो र प्रस्ताव बहुमतले पारित भएको थियो। नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार दिउँसो २ बजे संसद बैठक बस्नेछ।

यसअघि ६९ वर्षीय खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावलाई उपसभामुखले मतदानको दिन खारेज गरिदिएका थिए। आफूविरुद्धको प्रस्ताव खारेज भएपछि प्रधानमन्त्रीले तत्काल संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। 

सर्वोच्च अदालतले बिहीबार एक फैसलामा संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम  असंबैधानिक भएको ठहर गरेको थियो। सर्वोच्चको आदेशपछि विपक्षीले आक्रोशित बनेका थिए। केहीले प्रधानमन्त्रीलाई देशद्रोहको आरोप लगाएका थिए।

खानको पार्टी पीटीआईका सदस्यहरूले उनी अन्तर्राष्ट्रिय षड्यन्त्रको शिकार भएको दाबी गरेका छन्। यसअघि खानले अमेरिकाले आफूविरुद्ध षडयन्त्र गरेको आरोप लगाएका थिए।

प्रकाशित मिति: : 2022-04-10 06:38:00

प्रतिकृया दिनुहोस्