बाहुबली सिरिज, केजीएफ, पुष्पालगायतका फिल्मले नेपालमा राम्रो व्यापार गर्न थालेपछि पछिल्लो समय साउथ इन्डियन फिल्मको क्रेज बढ्दो छ।बाहुबली सिरिजबाट साउथ इन्डियन फिल्मका दर्शकलाई नेपालमा बढाउन सफल निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ।
फिल्मको अग्रिम बुकिङ सोमबार नै खुलेको छ। यति छिटो कुनै फिल्मको बुकिङ नेपालमा खुलेको यो पहिलो हुन सक्छ, प्रायः बुधबार बुकिङ खोलिने भए पनि विशेष फिल्मको मंगलबार नै खोल्ने गरिन्छ।
हल सञ्चालकहरू दर्शकमाझ प्रतीक्षित रहेको फिल्महरू प्रायः छिट्टै बुकिङ खोलिने बताउँछन्।आरआरआरको टिकट बुकिङमै खरिद गर्नुपर्ने हुन्छ।
टिकट नै खरिद गर्नुपर्ने अवस्थामा पनि मल्टिप्लेक्सहरूमा शोहरू शुक्रबार अगाडि नै सोल्ड आउट हुने सम्भावना बढेको छ।पछिल्लो समय साउथ इन्डियन दर्शक बढिरहेको समयमा नेपाली दर्शकलाई साउथ इन्डियन फिल्मको बानी लगाउने निर्देशक राजमौलीकै फिल्म ‘आरआरआर’ रिलिज हुने भएकाले पनि नेपालमा यसको क्रेज बढेको हो।
टुडी र थ्रीडी प्रविधिमा रिलिज हुने फिल्मले क्युएफएक्सअन्तर्गत लबिम मलमा आठ शो, सिभिल मलमा चार शो, ठमेलमा रहेको छायाँ सेन्टरमा सात शो, क्युएफएक्स भक्तपुरमा आठ शो थ्रीडीमा पाएको हो।
क्युएफएक्सअन्तर्गतकै मोफसलमा रहेको थियटरमा पनि यसले राम्रो शो पाएको छ। क्युएफएक्सको विराटनगरमा पाँच शो, क्युएफएक्स बुटवलमा चार शो, क्युएफएक्स जालमा नारायणघाटमा चार शो, क्युएफएक्स विर्तामोडमा चार शो, क्युएफएक्स दमौली तीन शो पाएको छ।
यस्तै टुडी प्रविधिमा क्युएफएक्सकै नेपालगन्जमा रहेको बागेश्वरी फिल्मलाई पाँच शो, क्युएफएक्सकै बुटवलमा रहेको हलमा चार शो, विर्तामोडको वान स्टप सिनेमाजमा पनि यसले चार शो पाएको छ। क्युएफएक्सअन्तर्गतको काठमाडौंमा भक्तपुरमा दुई, छायाँ सेन्टर ठमेलमा दुई र लबिम मलमा एक शो पाएको छ।
राजधानीमा रहेको अन्य मल्टिप्लेक्सहरूमा कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले न्युज तयार पार्दासम्म शो पब्लिस गरेको छैन।
दरबारमार्गस्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ६ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा पाँच शो, सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा सात शो, बानेश्वरस्थित आइप्लेक्समा रहेको वान सिनेमाजमा सात शो, आइएनआइ सिनेमाअन्तर्गत लोत्से मलमा आठ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा १० शो छ।
फिल्म नेपालमा ए एट फिल्मसले अहिलेसम्मकै महँगो रकममा ल्याइएको बताइएको छ।कम्पनीले जनाएअनुसार फिल्म एक सय २१ बढी पर्दामा शो हुनेछ।
कम्पनीका वितरण प्रमुख नवीन शाक्यले शो आजभोलिमा अझै बढ्ने बताए। ‘फिल्मको लम्बाइ तीन घन्टा रहेकाले पनि केही शो घटेका छन्।यद्यपि आउँदो शुक्रबारसम्म शो बढ्ने छ, किनकि सम्पूर्ण हलले फुल शो पब्लिस गरेका छैनन्,’ नवीनले भने।
लागत चार सय करोड बढी भएका कारण पनि आरआरआर चर्चामा छ । निर्देशक राजामौलीले ‘बाहुबली’ सिरिजपछि निर्देशन गरेको मात्र नभई साउथका दुई स्टार जुनियर एन्टीआर र रामचरणको अभिनय रहेकाले पनि यो प्रतीक्षित छ।
यसमा बलिउडका कलाकारहरू अजय देवगन र आलिया भट्ट पनि छिन्। यसैले गर्दा यो प्रतीक्षित फिल्म बिग बजेटको फिल्म बनेको छ। बाहुबलीपछि दर्शकमाझ आउन लागेका निर्देशक राजमौलीबाट धेरै अपेक्षा गरिएको छ।