घोराहीमा औद्योगक, पर्यटन तथा कृषि महोत्सव सञ्चालन हुँदै

File photo
File photo

दाङको घोराहीमा यहि फागुन २६ गतेबाट औद्योगक, पर्यटन तथा कृषि महोत्सव सञ्चालन हुने भएको छ। दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा 'दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी' सञ्चालन हुन लागेको हो।

फागुन २६ देखि चैत ८ गतेसम्म औद्योगक, पर्यटन तथा कृषि महोत्सव आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ दाङका अध्यक्ष एवं मूल आयोजक समिति संयोजक टंकसिंह बुढाथोकीले जानकारी दिए।कोरोना महामारीका कारण धरासयी बनेको अर्थतन्त्र उत्थान र यस क्षेत्रको कृषि, पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ महोत्सव गर्न थालिएको बिहीबार घोराहीमा पत्रकार सम्मेलन गेरर बुढाथोकीले बताए। 

महोत्सवबाट प्राप्त हुने आम्दानीलाई संघको संस्थागत विकास एवं उद्यमी विकासमा उपयोग गरिने, स्वदेशी उत्पादनमा बृद्धिगरी परनिर्भरमुखी अर्थतन्त्रलाई कम गर्न सहयोग पुयाउने मूल उद्धेश्य राखिएको छ।यस अघि संचालित महोत्सवबाट बहुउद्देश्यीय सभा गृह निर्माण र घोराही स्वर्गद्वारी सडक संजाललगायत जिल्लाको आर्थिक समृद्धिमा लगानी गरिएको छ।

महोत्सव दाङको घोराही उपमहानगरपालीका १४ झिँगौरामा आयोजना हुने छ। प्रदर्शनीमा औद्योगिक तथा व्यापारीक वस्तुहरुको प्रदर्शनी एवं विक्री, हस्तकला, कृषि, जडिवुटी तथा पर्यटन सूचना एवं सूचना प्रविधिको प्रदर्शनी, बिभिन्न प्राविधिक विषयमा जानकारी तथा विज्ञ सहितको अन्तरक्रिया, प्रदर्शनीका आकर्षणका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गरिने आयोजकले जनाएको छ।

यस्तै वाल उद्यान, साँस्कृतिक, कला-साहित्य झल्कने कार्यक्रम र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको गतिविधि रहने, प्रदर्शनी स्थलमा लम्बिनी प्रदेशका जिल्लाहरुबाट उत्पादित वस्तुहरुका स्टल रहनुका साथै करिब ५ लाख दर्शकहरुले प्रदर्शनी अवलोकन गर्ने र करीब २० करोड रुपैयाँको आर्थिक कारोवार हुने विश्वास आयोजकले लिएको छ।

महोत्सव सफल बनाउन विभिन्न उपसमिति पनि गठन गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ।


 

प्रकाशित मिति: : 2022-02-24 11:38:00

प्रतिकृया दिनुहोस्