बङ्लादेशका विद्यालय फेरि सञ्चालन गर्ने तयारी

File Photo
File Photo

बङ्लादेशका विद्यालयहरू पूनः सञ्चालन गर्ने तयारी भएको छ। 

प्रधानमन्त्री शेख हसिनाले कोरोनाभाइरसको महामारी कम हुदै गएकाले विद्यालयहरू सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएकी छन्।

उनका अनुसार यही फेब्रुअरीको अन्त्यदेखि देशभरीका सबै शैक्षिक संस्थाहरू सञ्चालन गर्ने तयारी भएको हो।

भौतिक रूपमा उपस्थित भएर अध्ययन गर्न नपाउँदा विद्यार्थीहरूले दिक्क मानेको, साथी तथा शिक्षकशिक्षिकालाई भेट्न खोजेको, कक्षाकोठा तथा विद्यालयमा रमाउन चाहेको पनि उनले बताइन्।

प्रधानमन्त्री हसिनाले देशभरी खोप लगाएका विद्यार्थीहरूको सङ्ख्या, विद्यालयहरूको अवस्था, विद्यालय सञ्चालन गर्ने तरिकालगायतका विषयमा अध्ययन र छलफल भइरहेको जानकारी दिइन्।

'अब अवस्था परिवर्तन र सुधार भएको छ भन्ने हामीलाई लागेको छ, त्यसैले अब विद्यालयहरू सञ्चालन गर्ने तयारी भइरहेको छ,' उनले भनिन्।

बङ्लादेश सरकारले पछिल्लो पटक यही फेब्रुअरी ३ देखि २० सम्मका लागि विद्यालय बन्द गर्ने समयावधि थप गरेको छ। पछिल्लो पटक थपिएको समयावधि सकिन एक हप्ता बाँकी हुँदा प्रधानमन्त्री हसिनाले अव भने म्याद नथप्ने सङ्केत गरेकी हुन्।

कोरोनाभाइरसको महामारीका कारण सन् २०२० को मार्चदेखि अहिलेसम्म बङ्लादेशमा १९ लाख नौ हजार ६६४ जना सङ्क्रमित भएका छन्। पछिल्लो समय दैनिक औसतमा चार हजार नयाँ सङ्क्रमित थपिने गरेका छन्। 

त्यसैगरी कोरोनाका कारण कूल २८ हजार ८१९ जनाको मृत्यु भएको पनि बङ्लादेशको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन्। 

प्रकाशित मिति: : 2022-02-15 06:00:00

प्रतिकृया दिनुहोस्