दुई–तीन महिनाको अन्तरालमा चारवटा पार्टीको महाधिवेशन विधिवत रुपमा सम्पन्न भएको छ। सोमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पहिलोपल्ट राजेन्द्र लिङ्देन निर्वाचित भए र अन्य तीन पाटी नेकपा (एमाले), नेपाली काँग्रेसमा र नेकपा (माओवादी) केन्द्रको अध्यक्षमा पुरानै अनुहार दोहरिएका छन्।
नेकपा (माओवादी) केन्द्रको आठौं महाधिवेशनबाट अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित भएका छन्। अन्य ती तीन पार्टीको सभापति वा अध्यक्षमा निर्वाचनको प्रक्रियाद्वारा छनोट गरिएको थियो।
नेपाली काँग्रेसको महाधिवेशनमा पुस्ता हस्तानान्तरणको आवाज जोडतोडका साथ उठेपनि मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणलगायतका विषयले महत्व पाएनन्। अधिकांश नेता र कार्यकर्ताहरुले कुन गुटबाट उठ्दा जित सुनिश्चित हुन्छ भन्ने विषयलाई नै प्राथमिकता दिएको थियो।
नेकपा (एमाले) को अध्यक्षमा केपी शर्मा ओलीको जित सुनिश्चित भएपनि उनको विपक्षमा उत्रेका सानो समूहका उम्मेदवारहरुलाई कुनैपनि पदमा जित्न नदिनका लागि ओली पक्ष लागि परेको थियो।
सो पार्टीको महाधिवेशनमा पनि नेताहरुको विलासी जीवन र नेताहरुको सम्पत्तिलगायतका विषयले खासै प्राथमिकता परेनन्। एकअर्कामाथि आरोप प्रत्यारोपमै बढी समय खर्चिएको थियो। राप्रपाको महाधिवेशनमा त ‘को कति’ आफूलाई राजावादी प्रमाणित गर्नमै बढी केन्द्रीत देखिन्थ्यो।
तर, नेकपा (माओवादी) केन्द्रको महाधिवेशनमा नेताहरुको आम्दानीको स्रोत र सम्पत्ति छानविनको लागि आवाज उठ्यो। पार्टी अध्यक्ष प्रचण्डले ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको दस्तावेजमाथि फरक मत राख्दै लेखनाथ न्योपानेले दश बुँदे प्रतिवेदन प्रस्तुत गर्दै नेता, जनप्रतिनिधि र पदमा पुगेका सदस्यहरुको सम्पत्ति छानविनका लागि तत्काल पार्टीभित्र समिति बनाउन माग गरे। नेकपा माओवादीको समूहगत छलफलमा अध्यक्ष प्रचण्डको विलासिता जीवन र ठिकेदारको घरमा बसाईसम्बन्धी चर्चाले पनि ठाउँ पाएको थियो।
महाधिवेशनको बन्दसत्रमा उठाइएका विषयवस्तुहरुलाई नेतृत्व पक्षले सकारात्मक रुपमा ग्रहण गरी प्रक्रियागत ढङ्गले छानविन गर्यो भने सर्वसाधारण, कार्यकर्ताबीच सकारात्मक सन्देश प्रवाह हुने विश्वास गर्न सकिन्छ। त्यसो नभए माओवादी केन्द्रले अन्य पार्टीको तुलनामा बनाएका छुट्टै पहिचान विलिन हुँदै, जनताको नजरमा सम्पत्ति थुपार्ने नेताहरुको पार्टीको रुपमा परिणत हुनेछ।
लेखनाथ न्योपानेले उठान गरेका सो किसिमका विकृतिले माओवादी पार्टी मात्रै ग्रसित नभई सत्तामा पुगेका सबै राजनीतिक दलका अधिकांश नेता, कार्यकर्ता र पदमा पुगेका व्यक्तिहरुकाे जीवनशैली सम्भ्रान्तजस्तो देखिन्छ।
समाजिक सञ्जालको स्टाटसमा एक जनाले ‘हाम्रा मजदुरका नेता हेर्दाहेर्दै कसरी धनाढ्य भए। याे विषय अहिलेसम्म बुझ्न नसकिएको हो।’ यो वस्तुतः नेपाली नेताहरुमाथि व्यङ्ग्यको रुपमा भनिएपनि यो सत्य हो।
जुन पार्टीका शीर्षस्थ नेताले आफ्नो नाममा व्यक्तिगत सम्पत्ति न जोड्ने र विलासी जीवन नबिताउने प्रतिबद्धता जनाए थिए। ती नेताहरुको शरीरमै कम्तिमा करिब पच्चीस हजार रुपैयाँ बराबरको पोशाक देखिन्छ। हिन्दी सिरियलका कलाकार र सेलिब्रेटीहरुले जसरी प्रतिदिन पहिरन फेर्छन्।
त्यस्तै, हाम्रा नेताहरुको दिनपिच्छे नयाँ पोशाक, हातमा हजारौं, लाखौंको घडी, लाख हाराहारीको मोबाइल, शहरमा घर, चढ्नका लागि गाडी छन् र छोराछोरीले देशको महङ्गो विद्यालय वा विदेशबाट शिक्षा प्राप्त गर्छन्। यो कुनै पूँजीवादी पार्टीको नेताको बारे उल्लेख गरेको होइन। यो साम्यवाद र समाजवादको लागि बर्षाैंदेखि आवाज बुलन्द गर्दै आइरहेका पार्टीका अधिकांश शीर्षस्थ नेताहरुसँग जोडिएको विषय हो। यसरी नै अपारदर्शी ढङ्गले सम्पत्ति आर्जन गर्ने प्रवृति बढ्दै गयो भने मुलुकको अधोगति निश्चित छ।
नेपालमा प्रायः सबै राजनीतिक पार्टीहरुले समाजवादको सिद्धान्त अङ्गिकार गरेका छन्। समाजवादको विषयमा लामोलामो भाषण छाट्छन्। समाजवादको शाब्दिक अर्थ ‘समानता’ हो। समाजवादलाई अंग्रेजीमा सोसलिज्म भनिन्छ। सोशलिज्म शब्दको उत्पति (साेसियस) शब्दबाट भएको छ। जसको अर्थ हुन्छ समाज। समाजवादको सम्बन्ध समाज सुधारसँग छ। समाजवाद समानतामा आधारित सिद्धान्त हो।
समानताको सिद्धान्त नेताहरुलाई सर्वप्रथम, आफ्नै घरपरिवारबाट शुरु गरी कार्यकर्तासँग सो अनुरुपको व्यवहार र आचरण देखाउनुपर्छ। अहिले अधिकांश पार्टीले आफ्नो पार्टीको नाममा ‘समाजवादी’ शब्द समावेश गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत थुप्रै पार्टी छन्। नेपाली काँग्रेसको मूल जगनै प्रजातान्त्रिक समाजवाद हो। नेपालमा समाजवादको नारा सवै पार्टीले दिने तर, समाजवादको शुभारम्भ कहाँबाट गर्ने विषयमा कुनैपनि पार्टीसँग स्पष्ट मार्गचित्र छ, जस्तो लाग्दैन। समाजवाद शब्दको प्रयोग नेपालमा ‘मुखमे राम राम बगलमे छुरी’ जस्तै त होइन?
बामपन्थीहरु कार्लमार्क्स, लेनिन र माओत्सेतुङलाई आदर्श मान्छन्। माओवादी केन्द्रले पार्टीको नाममा नै ‘माओवादी’ समावेश गरेको छ। आफ्ना पार्टीमा माओको नाम जोडेर ‘माओवादी’ भन्न रुचाउँछन्। चीनको कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतुङ राष्ट्रध्यक्ष पदमा आसिन भएपनि मरनोपरान्तसम्म उहाँको जीवनशैली एक सर्वसाधारण व्यक्ति जस्तै रह्यो।
उहाँले देखाएका मार्गको अनुसरण गरेको घोषणा गर्ने तर, व्यवहारमा लागू नगर्ने र जनतालाई आकर्षित गर्नका लागि माओको नामको उपयोग गरेको देखिन्छ। हात्तीसँग दुई प्रकारको दाँत हुन्छ। देखाउने दाँत आकर्षक एवम् मन लुभावन खालको हुन्छ र अर्को दाँत चपाउनका लागि प्रयोग गर्छन्।
नेपालका साम्यवाद र समाजवाद विचारधाराका पार्टीहरुको व्यवहार हात्तीको देखाउने दाँतजस्तै छ भन्नुपर्दा अतिशयोक्ति नहोला। नेपालका कम्युनिष्ट दलहरुले कार्लमार्क्स, लेनिन र माओत्सेतुङ्गको नाम जोडेर पार्टी स्थापना गरेपनि सोहीअनुरुपको कार्य नगर्दा ति महान विचारकको नाम कतै राजनीतिकको व्यापारीकरणको लागि उपयोग गरिएको त होइन भन्ने सम्बन्धमा चर्चा हुनु स्वभाविक हो।
माओवादीमा विचलन किन आयो ?
२०६२ साल मङ्सिर ७ गते बाह्र बुँदै समझदारीपछि विधिवत रुपमा सार्वजनिक भएका माओवादीहरुप्रति जनतामा एउटा आशा पलाएको थियो। जनयुद्ध लडेर आएको छ। धेरै रगत पसिना बगाएको छ। एकपल्ट माओवादीलाई पनि हेरौं भन्ने भावना जनतामा देखिन्थ्यो। जनताले पनि माओवादी पार्टीलाई ठूलो पार्टीको रुपमा स्थापित गरे। त्योभन्दा पहिले राष्ट्रको मूलधारमा समाहितपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा सहभागिता जनाएको थियो। मनोनित सांसदको रुपमा संसद्मा दोश्रो ठूलो दलको रुपमा उपस्थिति थियो।
२०६४ साल चैत २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा जनताले उत्साहका साथ सवै ठूलो दलको रुपमा उभ्याए। २०६५ सालमा प्रचण्डको नेतृत्वमा सरकार गठन भयो। प्रधानमन्त्रीको रुपमा राम्रो काम गरिरहेका प्रचण्डले प्रधानसेनापति रूक्माङ्गद कटवाललाई हटाउने निर्णय गर्यो। सो निर्णय उल्टो पर्यो र उहाँले राजीनामा गर्नुभयो। उहाँको नौ महिने शासनकाल समाप्त भयो। त्यसपछि माओवादी पार्टीको आरोलोको यात्रा शुरु भयो जो अहिलेपनि जारी नै रहेको देखिन्छ। त्यसको असर दोस्राे संविधानसभाको निर्वाचनमा देखा पर्यो।
२०७० मङ्सिर ४ गतेको सम्पन्न निर्वाचनमा पहिलो पार्टी तेस्रो पार्टीमा झर्यो। २०७४ सालको संसदीय निर्वाचनमा एमालेसँग सिटको तालमेल गरेर पार्टीले प्रतिष्ठा जोगाएको हो। यस्तो किन भयो ? एकाएक सो पार्टी ओरालोतर्फ किन गयो ? टिन छिट्टै तातिन्छ र छिट्टै सेलाउँछ। माओवादीलाई शुरु शुरुमा फलाम जतिको बलियो पार्टीको संज्ञा दिन्थ्यो। सत्ताको हावा लग्नासाथ सो पार्टी फलामबाट सिधै टिनको पार्टीको रुपमा किन परिवर्तित भयो ? यस विषयमा माओवादी पार्टीका मार्गदर्शकहरुले गम्भीर रुपमा चिन्तन गर्नुपर्ने हो।
जब राजनीतिक दल सिद्धान्तको राजनीतिभन्दा सत्ताको राजनीतिमा बढी केन्द्रीत हुन्छन् तब आदर्शलाई बलि दिनुपर्छ। सो गल्ती माओवादी पार्टीबाट पनि भएको छ। पार्टीमा कहिले पनि योगदान नगरेका व्यक्तिलाई चुनाव जित्नका लागि उम्मेदवार बनाइन्छ भने बर्षाैंदेखि पार्टीको लागि ज्यान जोखिममा पार्ने कार्यकर्तालाई बिर्सिंदा निश्चित रुपमा त्यस्ता पार्टीको जनाधार खुस्किन्छ। माओवादीलाई पुरानो धार अर्थात् राष्ट्रको मूलधारमा समाहित भएपछि अङ्गिकार गरेका नीतिप्रति प्रतिबद्ध हुनुपर्छ र पार्टीभित्रको विकृतिको अन्त्य गर्नतर्फ अग्रसर हुनुपर्छ।