लोकतन्त्र जनताको चिन्तन, सञ्चार र सिर्जनात्मक कसरतको स्वतन्त्रता हो। मानव चिन्तन गर्ने प्राणी हो। चिन्तन गरेको विषयवस्तुलाई यत्रतत्र सामाजिकीकरण र विस्तार गर्ने उसको अन्तर्निहित स्वभाव हुन्छ। चिन्तन र सञ्चारबाट उत्प्रेरित भएर सिर्जनात्मक अभ्यासमा सरिक हुने प्रकृतिप्रदत्त गुण मानवमै हुन्छ। लोकतन्त्र सार्वजनिक मामला हो, जुन नागरिकका निजी हकहरूको रक्षासँग समेत सम्बद्ध हुन्छ। एकअर्काका नैसर्गिक अधिकारमाथि चोट नपुग्ने गरी अनेक प्रयोग र बाटोको छनोट गर्ने स्वतन्त्रता लोकतन्त्र हो। यो जनताको शक्ति निर्माणको कुञ्जी हो। यसले जनतालाई चेतनशील बनाउँदै निरन्तर प्रगति गर्ने बाटो खोलिदिन्छ। मूलतः लोकतन्त्र जनताको जीवन रूपान्तरण गर्ने माध्यम हो।
लोकतान्त्रिक प्रणाली र संरचनाहरू व्यापक रूपमा सदुपयोग हुँदा नै जनताको स्थिति सुध्रिन्छ र देशमा अमनचयन र शान्ति छाउँछ। लोकतान्त्रिक अवसरहरूको यथाशक्य सदुपयोग गरिँदा अधिकांश जनताको भलो हुन्छ। यस्तो अवस्थामा यो जनजीवनको अभिन्न अङ्ग तथा संस्कृति बन्न पुग्छ। फलतः लोकतन्त्रको रक्षा र सुदृढीकरण जनता स्वयंबाट हुन जान्छ।
लोकतन्त्र जतिजति सीमित वर्ग र व्यक्तिको निजी समृद्धिको मात्र उचाइ चुल्याउने साधन बन्न पुग्छ, त्यति नै जनस्तरमा पनि हेलचेक्र्याइँ, मनपरीतन्त्र र अराजकता बढ्न गई कानुनी शासन तथा लोकतान्त्रिक संस्कृतिको विकासमा निरन्तर अड्चन आइरहन्छ। यस अर्थमा लोकतन्त्रलाई अन्यत्रबाट खतरा बढेको देख्नु हाम्रो दृष्टिदोष मात्र हुन्छ। हामीभित्र जनमुखी चिन्तन, लोकतान्त्रिक संस्कार एवं मानवीय नैतिकताको शून्यता छैन भने हामीले ‘हाउगुजीसँग डराइराख्नु आवश्यक छैन। साधन–स्रोत तथा नीति बनाउने र लागू गर्ने राज्यको सम्पूर्ण शक्ति र अधिकारद्वारा सुसज्जित भएर पनि लोकतन्त्र कसैले मासिदेला कि भन्ने भयबाट नेतृत्वदायी दलहरू मुक्त हुन नसक्नु विडम्बना हो। लोकतन्त्रको मर्मबमोजिम जनताको व्यापक हितमा ठीक–ठीक काम गर्दै जाने हो भने लोकतन्त्र सधैँ जनताको सर्वप्रिय साधन बन्छ।