जुम्लामा मालाकाे व्यापार: स्वदेशी उत्पादनले प्लास्टिकका फूल, माला विस्थापित गर्दै

हरेका वर्ष तिहारमा फूलको काराेबार बढ्ने गरेकाे छ। तिहारमा थरीथरीका फूल मालाकाे माग बढी हुन्छ। तर, फूलकाे बजार मागलाई स्वदेशी उत्पादनले धान्न नसक्ने भएपछि विदेशबाट समेत आयात गरिँदै आएकाे छ। तिहारमा चाहिने फूल मालाकाे लागि नेपाल लामाे समयदेखि परनिर्भर छ।

पछिल्लो समय स्वादेशमै फूल उत्पादन हुन थाले पनि विदेशबाट निर्यात हुन छाेडेकाे छैन। स्वदेशी उत्पादनले धान्न नसकेका कारण गतवर्ष मात्रै तिहारमा भारतबाट दुई लाख सयपत्री फूलका माला ल्याइएको थियो भने याे वर्ष ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ।

यसरी तिहारकाे बेला भारतबाट फूलका माला मात्रै नभएर प्लास्टिकका माला समेत आयात हुन्छ। यसरी प्लास्टिकका माला जुम्ला बजारसम्म पनि पुगेका छन्।

नेपालगञ्जकाे रुपाैडिया भन्सार हुँदै जुम्ला पुग्ने प्लास्टिककका मालाले खलंगा बजारका पसल रंगिचंगी छन्। तर, याे वर्ष प्लास्टिकका मालामा उपभोक्ताकाे ध्यान उतिसाह्राे गएकाे छैन।

आयतित प्लाष्टिकका माला पसलमा राखे पनि खासै विक्री नभएको न्यू मिलन स्टोर एण्ड सप्लायर्सका सञ्चालक विष्णु रोकायाले बताए। याे वर्ष बजारमा सयपत्री फूलको माला बढी आएकाले प्लाष्टिकका मालाको व्यापार नभएको उनकाे भनाइ छ।

'जुम्लामै उत्पादन भएका सयपत्री र मंखमली फूलका मालाको किनबेच बढी भएको छ। आयतित मालाको व्यापार आधाभन्दा बढी घटेको छ,' उनले भने, 'जुम्लाका विभिन्न गाउँमा उत्पादन भएका सयपत्री फूलका मालाले बजार भरीभराउ छ। आयतित प्लास्टिकका मालाको व्यापार त त्यसै घट्ने भइहाल्यो।'

न्यू निशा फलफुल एण्ड कस्मेटिक पसलका सञ्चालक संगिता महताराकाे बुझाई पनि उस्तै छ। उनकाे पसलमा सजिएका थरिथरि रंगका माला खासै बिक्री भएका छैनन्।

२० देखि एक सय ५० रुपैयाँ सम्मका प्लाष्टिक माला भए पनि सोचे जस्तो व्यापार हुन सकेकाे छैन। 'गाउँबाट सस्तै फूलका माला बजारमा आएका छन्,' उनले भनिन्, 'हेर्दा राम्रा देखिने भएपनि फूलका माला जस्ता प्लास्टिकका माला हुँदैनन्। फूल हुन्जेल यी माला विक्री हुने जस्ता छैनन्।'

नेपालगञ्जका साहिल सिद्दिकी निकै सस्ताे दरमा इन्डियाबाट आएका प्लास्टिकका माला बेचिरहेका छन्। उनकाे मालाकाे भाउ रु. १०, १५ र २० छ तैपनि साेचेजस्ताे बिक्री भएकाे छैन। 'ठिकैठिकै बिक्री भइरहेको छ,' उनले भने।

गएका वर्षहरुमा प्लाष्टिकका मालाले बजार लिएका थिए। याे वर्ष स्थानीय फूलका माला बजारमा आउँदा प्लास्टिकका मालाकाे खपत घटेकाे हाे।

जिल्लाको पातारासी र तातोपानी गाउँपालिका तथा चन्दननाथ नगरपालिका भित्रका विभिन्न गाउँका स्थानीयले सयपत्री फूलका माला बजारमा ल्याएपछि आयतित मालाको व्यापार ह्वातै घटेको हाे।

गएका वर्षहरुभन्दा यो वर्ष सयपत्री फूलको व्यापार राम्रो भएको चन्दननाथ नगरपालिका- ६ की बास्मती खत्रीले बताइन्। 'पाेहर सालतिर फूल बेच्ने चलन थिएन। तर, बजारमा प्लास्टिककका माला देखेपछि हाम्राे फूलका माला पनि बिक्री हुन्छन् हाेला भनी बजार आएकी हुँ राम्राे बिक्री भयाे,' उनले भनिन्।

 

बजारमा फूलका माला आउन थालेपछि टिपाटिप हुने गरेकाे चन्दननाथ- ७ मिचाकी राममाया रावलले बताइन्। 'बिहान एकैपटक तीन हजारका माला बिक्री भए। फेरि घर गएर ल्याएकी हुँ,' उनले आशावादी हुँदै भनिन्, 'साँझसम्म सबै बिक्री भइजालान। बीस रुपैयाँ र सय रुपैयाँका माला बेच्नलाई राखेकी छु।'

फूलले उर्जा दिएछ सायद, बढ्दाे उमेरलाई जुम्लामा बढेकाे चिसाेले प्रभाव पार्छ भन्ने बुझिकन पनि ६० वर्षकी पञ्चा राेकाया डाेकाे भरी फुलका माला बाेकेर बजार आइन।

खलंगा बजारकाे कृष्ण मन्दिरको कुनामा बसेर वरिपरि फुलका माला राखेर बसिन। पूरै ढाेकाेलाई नै फुलजस्ताे बनाउदा आकर्षककाे केन्द्र बनिन्।

दुई सय माला बेचिसकेकी उनी सबै माला समयमै बिक्री हुनेमा ढुक्क छिन्। 'माला त भटाभट बिक्री भए। बीस रुपैयाँमा एक माला बेच्छु। चार हजार कमाया।'

फूलले उस्तै उत्साह थपेकाे छ तलिउम धरालबाडाकी, काेइर्‍या धरालालाई। तीन क्यारेट फूल ल्याएकाे तीन घण्टामा बिक्री हुँदा उनी दंग परिन। 'अब त आगनभरी फूल राेप्ने हाे। तीन घण्टामा छ हजार कमाए। अझ कमाई हुने जस्तै छ,' उनले खुसी हुँदै भनिन्।

व्यापारीक प्रयोजनका लागि नभइ दसैं र तिहारमा घरका लागि प्रयोग गर्न लगाइएका फूलबाट यति राम्राे आम्दानी हुँदा फूल बेच्ने महिलाहरु दंग छन्।

'घर आगन राम्राे हाेला भनी फूल लगाएका हाैं। तर, फूलले रुपियाँ फलाए,' चन्दननाथ नगरपालिका- ८ कि गोरिकला रोकायाले भनिन्, 'सयपत्री फूलका पत्ता त रुपियाँका नाेट जस्ता रहेछन्।'

जुम्ला नगरकी विष्णुदेवी भण्डारीले घर आगनमा लगाएका फूल बुचेर ८ हजार रुपैयाँको माला बेचेको बताइन्।

स्थानीय फूल मात्रै हाेइन जिल्ला बाहिरका फूलले पनि जुम्लामा राम्रै बजार लिएकाे छ। तिहारकै लागि जुम्लाकि बसन्ति रावलले काठमाडाैंबाट १० हजारको मंखमली फूलकाे माला मगाएर बेचिन्।

'जुम्लामा मंखमली फूल खासै पाइदैन। त्यसैले काठमाडाैंबाट मगाएकी हुँ,' उनले भनिन्, 'सबै माला विक्रि भइसकेका छन्। तिहारको बेला उपभोक्ताहरुले प्लाष्टिकको भन्दा मंखमली र सयपत्री फूलका माला रुचाउने रहेछन्।

चन्दननाथ नगरपालिका- ७ कि राममाया रावलका अनुसार आयतितभन्दा आफ्नै ठाउँमा उत्पादन भएको फूलको माला तिहारको दिन लगाउँदा उपयुक्त हुन्छ। गतवर्ष झण्डै ७ हजार बराबरको सयपत्री फूलको माला बेचेकी उनले याे वर्ष बिहानै ६ हजार बराबरका माला बेचिसकेकी थिइन्।

कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक लछिराम महतका अनुसार जुम्लामा जताततै सयपत्री फूल फूल्ने भएकाले किसानहरुले व्यापारिक प्रयोजनभन्दा पनि मनखुसीले लगाउँछन्। तर, त्यही आम्दानीकाे स्राेत बन्दा आगामी दिनमा फूलको बजार राम्राे हुनेछ।

'जुम्लामा व्यवसायिक रुपले फूलको खेती कतै पनि भएको छैन,' उनले भने  'तिहारमा किसानले फूलका माला बेचेर आम्दानी लिएपछि यसकाे व्यवसायिक खेतीकाे सम्भावना रहेकाे देखिन्छ।'

यसरी महिलाहरुले फूल बेचेर आम्दानी लिइरहेको देख्दा आगामी दिनमा बजार बिस्तार हुने चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले बताइन्।

'दिदी बहिनीहरुले बेमौसममा पनि फूलको खेति गरी यो पटकको तिहारमा थोरै भए पनि केही आम्दानी गर्नुभयाे,' उनले भनिन्, 'एकछत्र बजार कब्जा गरेका प्लास्टिकका मालाकाे मागलाई यसले ठूलाे असर गरेकाे छ। अब जुम्लाबाट फूल निर्यात गर्नेबारे साेच्नुपर्छ।'

यस वर्षको तिहारमा देशभर गरी १८ लाख ५० हजार मालाको माग छ। तीमध्ये १५ लाख ५० हजार सयपत्री र तीन लाख मखमली एवम् गोदावरी फूलको मालाकाे माग रहेका छ। माग बढी र अन्यत्रबाट गत वर्षभन्दा बढी फूल आयात गर्नुपर्ने भएकाले यसवर्ष मूल्यमा वृद्धि हुने बताइएको छ।

एक मिटर सयपत्री फूलको मालाको मूल्य रु.६० देखि ७० सम्म पर्नेछ। यसवर्ष विगत दुई वर्षको तुलनामा १५ प्रतिशत फूलको माग बढी छ। भारतबाट ल्याइने फूल तिहार सुरु हुन तीन दिन बाँकी रहँदा नेपाल आइपुगेकाे थियो।

प्रकाशित मिति: : 2021-11-06 08:24:00

प्रतिकृया दिनुहोस्