तीन महिनाभित्रै सिद्धबाबामा सुरुङ मार्ग निर्माण थालिने

तस्बिर : न्युज कारखाना
तस्बिर : न्युज कारखाना

'मृत्युमार्ग'को रूपमा परिचित सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्डमा पर्ने सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण कार्य यही वर्षभित्रै सुरु हुने भएको छ।

चालू आर्थिक वर्षभित्रै सुरुङ मार्ग निर्माणको काम सुरु गर्नेगरी आयोजनाले तयारी अगाडि बढाएको हो। सुरुङ मार्ग निर्माणका लागि आह्वान गरिएको ग्लोबल टेण्डरमा नौवटा कम्पनीले आवेदन दिएका छन्।

सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख डा. विजय जैसीका अनुसार आवेदन दिएका कम्पनीहरूसँग सुरुङ मार्ग निर्माणबारे छलफल भइरहेको छ। आवेदन दिनेमा अधिकांश चिनियाँ कम्पनी रहेका उनले जानकारी दिए।

चाइना स्ट्रेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड (बेइजिङ), चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड (वुहान सिटी), चाइना फर्स्ट हाइवे इन्जिनियरिङ कर्पोरेसन लिमिटेड (बेइजिङ) र संयुक्त उपक्रम (जेभी) लगायत कम्पनीले आवेदन दिएका छन्।

चिनियाँ कम्पनी जेडआईसीजीले नेपाली शर्मा एण्ड कम्पनीसँग जेभी बनाएर आवेदन दिएको छ। एसीसीई चिनियाँ कम्पनीले नेपाली कम्पनी अनक कन्स्ट्रक्सनसँग जेभी बनाएर आवेदन दिएको छ, जसमा अनक कन्स्ट्रक्सन लिड कम्पनी रहेको छ। सिनो हाइड्रो कर्पोरेसन लिमिटेड/पावर चाइना नर्थ वेस्ट इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र पावर चाइना रोड ब्रिज ग्रुप कर्पोरेसन लिमिटेड (बेइजिङ)ले पनि आवेदन दिएका छन्।

चाइना सिभिल इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन/चाइना रेलवे १४औँ ब्युरो ग्रुप कम्पनी लिमिटेड र चाइना रेलवे सियुआन सर्भे एण्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड (बेइजिङ)ले पनि तीनवटा चिनियाँ कम्पनी मिलेर आवेदन दिएका छन्।

चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड/चाइना रेलवे २ नम्बर इन्जिनियरिङ ग्रुप कर्पोरेसन लिमिटेड (बेइजिङ)ले दुईवटा चिनियाँ कम्पनीको जेभी बनाएर आवेदन दिएका छन्।

केएमसी/भीसीएपीएल जेभीले पनि आवेदन दिएको छ। केएमसी भारतीय कम्पनी हो भने भीसीपीएल (भ्याली कन्स्ट्रक्सन प्राइभेट लिमिटेड) नेपाली कम्पनी हो।

'अबको तीन महिनामा कम्पनी छनोट हुनेछ, त्यसपछि काम सुरु हुन्छ', अनुसन्धान तथा विकास केन्द्रका प्रमुख डा. जैसीले भने। कम्पनी छनोट भएपछि नौ महिनाभित्र डिजाइन बनाएर काम सुरु गर्नुपर्ने शर्त राखिएको छ। सरकारले सुरुङ मार्गका लागि चालू आर्थिक वर्षमा ३० करोड रुपैयाँ छुट्याएको छ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ५० करोड रुपैयाँ छुट्याएका भए पनि प्रतिस्थापन विधेयकमार्फत २० करोड रुपैयाँ अर्थमन्त्री जनार्दन शर्माले घटाएका छन्।

चिडियाखोला आयोजना क्षेत्र रहे पनि सुरुङ मार्ग भने माथिल्लो सिद्धबाबाबाट सुरु हुनेछ। चिडिया खोलादेखि माथिल्लो सिद्धबाबासम्म ९०० मिटर सडकलाई दुई लेनमा स्तरोन्नति गरिनेछ भने सुरुङ मार्गको अर्को भागको ५०० मिटरलाई पनि दुई लेनमा स्तरोन्नति गरिने जैसीले बताए।

सुरुङमार्गको दूरी भने एक हजार १२६ मिटर लामो हुनेछ। यसैगरी आयोजनामा सुरुङ मार्ग नपुग्ने स्थान अर्थात् ढुंगा झर्न नदिन रक फल प्रविधिको प्रयोग गरिनेछ। पाँच वर्षभित्र निर्माण गर्ने लक्ष्यअनुसार काम अगाडि बढेको जैसीले बताए।  

अर्थ मन्त्रालयले १० अर्ब १५ करोड रुपैयाँको सीमा दिएकाले त्यही सीमाभित्र रहेर ठेक्का दिनेसमेत जैसीले बताए। सरकारले स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेसन (एसडीसी)को आर्थिक र प्राविधिक सहयोगमा एक वर्ष लगाएर सुरुङ मार्गको वेसलाइन सर्भे गराएको हो।

प्रकाशित मिति: : 2021-10-01 13:22:00

प्रतिकृया दिनुहोस्