प्रभु साहले राखे एमालेमा ८ बुँदे माग

फाइल तस्वीर
फाइल तस्वीर

एमाले नेता प्रभु साहले पार्टीको नीति जनताको बहुदलीय जनवाद होइन, जनताको नौलो जनवादलाई महाधिवेशनमा छलफलमा लैजानुपर्ने प्रस्ताव गरेका छन्।

माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका साहले एक साताअघि एमाले अध्यक्ष केपी ओलीलाई बुझाएको मागपत्रमा सो कुरा उल्लेख छ।

एमालेमा प्रवेश गरेपछि आइटी आर्मीको ब्यानरमा आफूलाई विभिन्न कार्यक्रममा उपस्थित गराइरहेका साह नेकपा विभाजनपछि ओली पक्षमा लागेका हुन्।

सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी ब्युँतिएपछि पनि एमालेकै नेताका हैसियतमा थिए। उनी शुक्रबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा समेत सहभागी छैनन्।

यस्ता छन् एमालेसँग साहका माग

१. सर्वोच्च अदालतले पार्टी एकता भंग गरी नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ब्युँताए पनि हामीले नेकपा एमालेलाई नेकपाकै निरन्तरतामा बुझ्ने र एकताकै स्पिरिटमा कार्य सञ्चालन गर्ने।

२. नेकपाले अभ्यास गरेको जनताको जनवादलाई आगामी महाधिवेशनमा व्यापक छलफलमार्फत विकास गर्ने।

३. वर्तमान संविधानलाई हाम्रो ७ वर्षको अनुभवको आधारमा देखिएका त्रुटिहरू हटाउन, जनतालाई असली लोकतन्त्रको प्रत्याभूति दिलाउन, राष्ट्रियता, स्थायित्व र समृद्धिको चाहना पूरा गर्न समय सापेक्ष परिमार्जन गर्दै समाजवादको दिशामा अगाडि बढ्ने।

४. नेकपा (एमाले) को वैधानिक कमिटी र पदाधिकारीलाई कायम गर्दा नेकपा माओवादी केन्द्रको वैधानिक कमिटी र पदीय हैसियतअनुसार मिलान गर्ने अर्थात माओवादीको पूर्व पदाधिकारीलाई पदाधिकारीमा, केन्द्रीय कार्यालय सदस्यलाई स्थायी कमिटीमा, सचिवालय सदस्यलाई पोलिट ब्यूरोमा, पोलिटब्यूरो सदस्यहरूलाई केन्द्रीय कमिटीमा, केन्द्रीय सदस्यहरूलाई प्रदेश कमिटी र प्रदेश कमिटीलाई जिल्ला कमिटीमा समायोजन गर्ने तथा पार्टीको पदीय वरीयताक्रम कायम गर्दा नेकपामा अभ्यास गरेको मर्यादाक्रम र दुईटै पार्टीको वैधानिक हैसियत अनुसारको मर्यादाक्रमसमेतलाई ख्याल गरी नयाँ वरीयताक्रम निर्धारण गर्ने।

५. पार्टी संगठन, जवस तथा अन्य निकायहरू निर्माण गर्दा वा खाली भएका पदमा पदपूर्ति गर्दा एकताको मर्मअनुरूप माओवादी पक्षका कमरेडहरूलाई सम्मानजनक सहभागी गराउने।

६. पार्टीको आगामी महाधिवेशन एकताकै अधिवेशनको रूपमा लिई पार्टी कमिटीहरूको निर्वाचन सहमतिको आधारमा गर्ने।

७. प्रदेश नं २ मा कमिटी निर्माण, पदाधिकारी चयन तथा कार्यविभाजनमा भएको विगतको सहमतिलाई कार्यान्वयन गर्ने।

८. आईटी आर्मीलाई पार्टीकै जनसंगठनको रुपमा स्थापित गर्ने।

प्रकाशित मिति: : 2021-09-24 15:20:00

प्रतिकृया दिनुहोस्