म्यान्मार: सैन्य सरकारले आङ सान सुकीलाई किन लुकाइरहेको छ ?

राजकुमार शर्मा

रंगुन, म्यान्मार
Photo : RFA
Photo : RFA

म्यान्मारकी नेत्री आङ सान सुकी प्रजातन्त्रका लागि लामो समय सैन्य तानाशाहीविरूद्ध डटेर लडिन्।

म्यान्माली जनताको स्वतन्त्रता र प्रजातन्त्र पुनःस्थापनका लागि शान्तिपूर्ण संर्घष थालेको वर्षौ हुँदापनि सैनिक जालझेल कहिल्यै राेकिएन।

सैन्य सरकारविरूद्ध देशभर विद्रोहले व्यापक रुप लिएपछि सरकारले नेशनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी)की सर्वोच्च नेत्री सुकीलाई नजरबन्दमा राखेको सात महिना बितिसकेको छ। तर उनी कुन हिरासतमा छिन्, हालसम्म कुनै अत्तोपत्तो छैन। उनी आफैंलाई समेत थाहा छैन, सैनिकले कहाँ राखेको छ ?

नोबेल शान्ति पुरस्कार विजेता ७६ वर्षीया सुकी कस्तो अवस्थामा बाँचिरहेकी छिन्, तानाशाही सरकारले त्योसम्म खुलाएको छैन। उनका नीजि वकीललाई समेत थाहा छैन– कहाँ बस्छिन् र स्वास्थ्य अवस्था कस्तो छ?

म्यान्मार सैन्य शासनले निवार्चित राज्य सल्लाहकार सुकीलाई अज्ञात स्थानमा राखेको भन्दै समर्थकहरूले मानव अधिकार हनन गरेको दावी गर्दै आइरहेका छन्।

‘आङ सान सुकीको बारेमा जनताले जान्न पाउनुपर्छ। उनी कहाँ छिन्, जुन्ता सरकारले किन लुकाइरहेको छ। तत्कालै नेत्रीको पछिल्लो अवस्था र उनी बसिरहेको ठाउँबारे बताओस्,’ वकील यू खिन मग्लउन् जाउले भनिन्।

हिरासतबाटै जनआन्दोलनको नेतृत्व गरिरहेकी उनको शारीरिक सुरक्षा सैन्य शासकहरूको हातमा रहेको छ। राजनीतिबाट बाहिर धकेल्न हर–प्रयास गरिरहेको आरोप लगाउँदै सुकी समर्थकहरुले देशमा प्रजातन्त्र पुनःस्थापन गरी छाड्ने बताएका छन्।

म्यान्मार छाया सरकार ‘राष्ट्रिय एकता सरकार’का मानव अधिकार मन्त्री यू आङ मिओ मिनले परिवार र वकीलले बन्दीहरूको बास्तविक अवस्था जानकारी पाउनुपर्ने अधिकारसमेत जुन्ताद्वारा लुटिएको जनाएका छन्।

गत फेब्रुअरी–१ मा म्यान्मार सैनिकले निवार्चित सरकारमाथि राजनीतिक ‘कू’गरेयता सुकी नजरबन्दमा छिन्।

आफ्नो पार्टीले भारी बहुमतसाथ चुनाव जिते पनि उनी राष्ट्रपति बन्न पाउँदिनन्। सन् २००८ ताका सैनिक शासकले संशोधन गरेको संविधानमा विदेशी नागरिकसँग विहे गरेमा राष्ट्रपति बन्न नपाउने प्रावधान छ। सुकीलाई नै लक्षित गरी यो प्रावधान राखिएको हो। 

उनी दोस्रोपल्ट सैन्य नजरबन्दमा परेकी हुन्। सैन्य सरकारले यसअघि डेढ दशक नजरबन्दमा राखी सन् १९९५ मा मुक्त गरेको थियो।

प्रकाशित मिति: : 2021-09-18 05:57:00

प्रतिकृया दिनुहोस्