संखुवासभा सामूहिक हत्या प्रकरणः अभियुक्तका रुपमा आफन्त पक्राउ

लाेकबहादुर कार्की
लाेकबहादुर कार्की

सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डको आरोपी  एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ। स्थानीय लाेकबहादुर कार्कीलाई शनिबार पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ।

आफन्त समेत रहेका कार्कीले हत्या गरेकाे स्वीकार गरेकाे प्रदेश नम्बर १ प्रहरी कार्यालयका डिआइजी अरुणकुमार बिसीले बताएका छन्।

छ जनाकाे ज्यान जाने गरी गत साेमबार घटे घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात भएकाे हुन सक्ने प्रहरीले अनुमान गरेकाे थियाे। सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले उनलाई पक्राउ गरेकाे हाे। करिब ३० वर्ष उमेरका लाेकबहादुरले व्यक्तिगत रिसीबीका कारण हत्या गरेको बताएको प्रहरीले जनाएको छ।  २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिज हुन् । 

हत्या गरिएका तेजबहादुरले केहि गर्न नसकेको भन्दै  ‘हेपेका कारण’ आफुले आवेगमा हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् । तेजबहादुरलाई आक्रमण गरेर हत्या गरेको उनका परिवारले देखेपछि उनीहरुलाई पनि मारेको लोकबहादुरले प्रहरीलाई बताए।

घटनामा संलग्नलाई भोलि (आईतबार) चैनपुर ईलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएस्पी लालध्वज सुवेदीले जानकारी दिए। उनले भने, ‘घटनामा संलग्नलाई नियन्त्रणमा लिईसकेका छौ, भोलि विहान १० बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौ।’ प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी युवक शङ्काको घेरामा थिए। घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
अनुसन्धानको क्रममा संकास्पद केहि ब्यक्तिहरुको डिएनए परीक्षण गरिएको थियो। यसरी परीक्षण गरिएको मध्ये नै हत्यामा संलग्न रहेको पाईएको प्रहरीले जनाएको हो। घटना पछि अनुसन्धानका लागि प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसी नेतृत्वको प्रहरी टोली, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली, सङ्घीय इकाई प्रहरी कार्यालय धरानको टोली र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट डिस्पी लालध्वज सुवेदीको टोलीले अनुसन्धान गर्दै आएको छ।

मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो।

तेजबहादुरको शव घरको आँगनमा फेला परेको थियाे भने श्रीमती मनमाया र बुहारी रन्जनाको घरनजिकै खोल्सीमा भेटिएको थियाे। तेजबहादुरका नाति रनातिना दीपक र गोमाको शव घरदेखि माथि मकै बारीमा भेटिएको थियो।

 

प्रकाशित मिति: : 2021-09-11 10:33:00

प्रतिकृया दिनुहोस्