त्रिकोणात्मक एकदिवसीय सिरिज : पपुआ न्यूगिनीमाथि नेपालकाे जित

नेपाल र पपुआ न्यूगिनी बीचकाे एकदिवसीय क्रिकेट सिरिजमा नेपालले पपुवा न्युगिनी  (पीएनजी)माथि जित निकालेकाे छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो।

पीएनजीले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्यो।

ओपनर कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई राम्रो शुरुवात दिलाए पनि मध्यक्रमका ब्याट्सम्यान टिक्न नसक्दा नेपाल दबाबमा परेको थियो। शेखले ३० र भुर्तेलले १५ रन बनाउँदै पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे।

तर, मध्यक्रमका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। रोहित पौडेलले सर्वाधिक ४१ रन बनाउँदै नेपालको पारीलाई सम्हाले। अन्त्यतिर सोमपाल कामीले २२ रन बनाउँदै नेपाललाई लक्ष्यसम्म पु–याए।

यस्तै, आरिफ शेख ९ रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल ६ रन बनाएर पेभेलियन फर्किए। शरद भेषवाकर पनि ६ रनमा आउट हुँदा कुशल मल्ल १ र पवन सर्राफ सुन्य रनमा आउट भए।

पीएनजीका गौडी टोकाले ३ तथा चाड सोपेर र डामिन राभुले २/२ विकेट लिए।  

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै  १ सय ३४ रन बनाएको थियो।

 

 

प्रकाशित मिति: : 2021-09-07 17:02:00

प्रतिकृया दिनुहोस्