संखुवासभा सामूहिक हत्या प्रकरणः ६ जनाकै टाउकोमा प्रहार गरी हत्या

सङ्खुवासभाको मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा एकै परिवारमा ६ जनाको हत्या प्रकरणमा  ‘लाश जाँच प्रकृति मुचुल्का’ गरिएको छ। 
मृतक सबैको टाउको र शरीर भर धारिलो हतियार प्रयोग नभई रड प्रहार गरि हत्या भएकोे प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले  जानकारी दिए। ९० वर्षिय बौद्धमान कार्की सकुसल रहेको डिएसपी सुवेदीको भनाई छ। 

हत्या भएको छ जनाको शवलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जनाइएको छ। सोमबार राती स्थानीय बौद्धमान कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरि हत्या गरेको थियो। उक्त घटना अनुसन्धानको लागि अहिले सङघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको कमाण्डमा विशेष टिम घटना लगायत इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीको टोलीले अनुसन्धन गरिरहेको छ।

घटनाको अनुसन्धानका लागि सङ्घीय प्रहरी इकाई कार्यालय धरानको डग शाखाबाट दुईवटा तालिम प्राप्त कुकुर समेत खटाइएको छ। घटनामा संलग्न हुन सक्ने अपराधी फरार हुन नदिन सङ्खुवासभाका सबै नाकाहरूमा प्रहरी परिचालन गरिएको निरीक्षक योगराज खतिवडाले बताए।

सोमबार बिहान ५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको शव फेला परेको थियो। उक्त रहस्मय घटना कसरी भयो भन्ने अनुसन्धानको लागि घटना अनुसन्धान टिममा प्रदेश प्रहरीको विशेष टिममा ‘ट्रयाकर’ डग पिकु र लैला समेत सहभागी रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज राइले जानकारी दिएकाछन्। उनका अनुसार फरेन्सिक विज्ञको टोली समेत घटनास्थल तर्फ पुगेर अनुसन्धान गरिरहेको छ।

 ‘अहिले ६ जनाकै शव घटनास्थलबाट धरानका लागि हिडाइएको छ, पोस्टमार्टमबाट पनि केही कुरा आउला, प्रहरी टोलीले पनि घटनास्थलमा अनुसन्धानलाई सबै पाटोबाट अघि बढाएको छ,’ प्रदेश नम्बर १ का प्रहरी प्रमुख अरुणकुमार डीआइजी विसीले भने।उनका अनुसार प्रहरीले मृतकहरुको टेलिफोन सम्पर्कमा रहेका व्यक्तिहरुसँगको ‘कल डिटेल्स’ समेत प्रहरीले हेर्न शुरु गरेको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार हत्याको कारण यही हो भन्न सकिने अवस्था अहिले नै नभए पनि घरमा नगद रहेको आशङ्कामा सोही पैसा लुट्नका लागि परिवारका सबैको हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। आइतबार राति हत्या भएका तेजबहादुर कार्कीका दुवै छोरा वैदेशिक रोजगारीका लागि विदेशमा छन्। जेठो रमेश कार्की मलेसियामा र कान्छो नरेश दुवईमा छन्।  छोराहरुले विदेशबाट कमाएर पठाएको पैसाले जग्गा किन्ने तयारी हुँदै गर्दा घटना भएको अनुमान गरिएको हो।

प्रकाशित मिति: : 2021-09-07 15:32:00

प्रतिकृया दिनुहोस्