संखुवासभा घटना :

छ जना मारिएको परिवारका एक्ला साक्षी वृद्धले भने, ‘बिहान परिवारका सबैलाई मारेभन्दा छाँगाबाट खसेजस्तो भएँ’

तेजन खड्का

काठमाडौँ

संखुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको हत्या भएकोमा ९० वर्षीय वृद्ध  बौद्धमान कार्की मात्रै जिवित भेटिएका छन्। उनीहरु एकै घरमा सुतेका थिए। उनी सकुशल छन्, तर अर्धवेहोसी अवस्थामा रहेकाले प्रहरीले उनीसँग कुरा गर्न सकेको छैन।  परिवारको हत्या किन र के कारणले भयो भन्ने खुल्न सकेको छैन।
आईतवार राति परिवारका सबै सदस्यको हत्या भएपनि उनले केही थाहा नपाएको बताएका छन्।  ‘मलाई केहि पनि थाहा छैन, बिहान परिवारका सवैको  हत्या भयो भन्दा छाँगाबाट खसेजस्तो भएँ,उनले भने।

बौद्धमानले आफू ६ बजे नै खाना खाएर सुतेको र घटनाबारे केही थाहा नभएको बताए। बिहान मात्रै घटनाबारे अरुले भनेपछि जानकारी पाएको उनको भनाइ छ।
मादी नगरपालिका १ का वडाध्यक्ष खेमनाथ कटुवालका अनुसार परिवारमा ९० वर्षीय बृद्ध मात्रै जीवित हुनुहुन्छ। तर उहाँले परिवारका सबैको हत्या हुँदा पनि केही थाहा पाउनु भएनछ’, कटुवालले भने। 

परिवारका ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेज बहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको हत्या भएको छ। रञ्जनाका श्रीमान विदेशमा रहेको वडाअध्यक्ष कटुवालले जानकारी दिए।

वडाध्यक्ष कटुवालका अनुसार बौद्धमान साँझैमा खाना खाएर सुतेका थिए। बिहान छिमेकीले भनेपछि मात्रै उनले घटनाबारे जानकारी पाएको बताएका छन्। 

घटनाको प्रकृति हेर्दा हत्या नै भएको हुनसक्ने वडाध्यक्ष कटुवालको भनाइ छ। म अहिले घटनास्थलमै छु। एकै परिवारका ६ जनाको विभत्स हत्या भएको छ, उनले भने, तेजकुमारको शव घरनजिकै सडकमा भेटिएको छ। कमला र रञ्जनाको शव भने घरछेउको खोलामा छ। सानो नानीहरूको शव घरमाथि खरबारीमा छ। पार्वताको शव चाहिँ घरभित्रै छ।  लखेटी—लखेटी आक्रमण गरेको देखिन्छ।

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

घटनास्थलमा मकैबारी माडिएको, चुरा फुटेको भेटिएकाले हत्या भएको हुनसक्ने वडाध्यक्ष कटुवालको भनाइ छ।

शरीरमा धारिलो हतियारले प्रहार गरेको चोट छ। रगत बगेको छ। छेउमा पुगेर हेर्न सक्ने अवस्था नै छैन,उनले भने। उनका अनुसार नजिकैको प्रहरी चौकीबाट पुगेको प्रहरी टोलीले घटनास्थलको सुरक्षा गरिरहेको छ।

घटनाको थप विवरण आइसकेको छैन।

लासको प्रकृति हेर्दा लखेटि लखेटि हत्या गरेको प्रहरीको अनुमान छ। एउटा शव बाटोमा, एउटा शव घरभित्र, दुई वटा शव बारीको कान्लामा र बाँकी दुई वटा शव खोल्सामा भेटिएका छन्।

अहिले जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वज सुवेदीसहितका टोली पनि घटनास्थलमा पुगेको छ। 

अनुसन्धानका लागि फरेन्सिक विज्ञ र कुकुरसहितको टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ। 

प्रदेश नं १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीका अनुसार संघीय प्रहरी इकाई कार्यालयबाट कुकुरसहितको टोली घटनास्थलतर्फ गएको हो। अहिले घटनास्थलमा मादी प्रहरी चौकीको टोली पुगेको छ। 



संखुवासभा छ जना हत्या प्रकरणः फरेन्सिक विज्ञ र कुकुरसहितको टोली घटनास्थलतर्फ 

प्रकाशित मिति: : 2021-09-06 15:15:00

प्रतिकृया दिनुहोस्