संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ। आइतबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी जानकारी दिए।

मंगलबार विहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। अज्ञात समूहको धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षीय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए। वडाध्यक्ष खेमनाथ कटुवालका अनुसार घटना भएको घरमा घरमुली ८० वर्षीय बौद्धमान कार्की मात्र जीवित छन्।

घटनाको प्रकृति हेर्दा हत्या नै भएको हुनसक्ने वडाध्यक्ष कटुवालको भनाइ छ। 'म अहिले घटनास्थलमै छु। एकै परिवारका ६ जनाको विभत्स हत्या भएको छ', उनले भने, 'तेजकुमारको शव घरनजिकै सडकमा भेटिएको छ। कमला र रञ्जनाको शव भने घरछेउको खोलामा छ। सानो नानीहरूको शव घरमाथि खरबारीमा छ। पार्वताको शव चाहिँ घरभित्रै छ।  लखेटी-लखेटी आक्रमण गरेको देखिन्छ।'

घटनास्थलमा मकैबारी माडिएको, चुरा फुटेको भेटिएकाले हत्या भएको हुनसक्ने वडाध्यक्ष कटुवालको भनाइ छ।

'शरीरमा धारिलो हतियारले प्रहार गरेको चोट छ। रगत बगेको छ। छेउमा पुगेर हेर्न सक्ने अवस्था नै छैन', उनले भने। उनका अनुसार नजिकैको प्रहरी चौकीबाट पुगेको प्रहरी टोलीले घटनास्थलको सुरक्षा गरिरहेको छ।

घटनाको थप विवरण आइसकेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीको टोली घटनास्थल मादीतर्फ लागेको छ।

प्रकाशित मिति: : 2021-09-06 12:03:00

प्रतिकृया दिनुहोस्