आजकाल इन्जिनियरहरू कोरोनाले गर्दा 'त्यति काम छैन, बजारमा कामै पाइँदैन' भन्ने गुनासो गर्दैछन्।
मेरो विचारमा काम खोज्न जान्नुपर्छ, काम पाइने कति ठाउँ छन् कति। हाम्रो समाजले पहिलेदेखि नै इन्जिनियरलाई कति धेरै काम दिएका रहेछन् तर इन्जिनियरले ती कामलाई देख्नै जानेनन्। इन्जिनियरले गर्न सक्ने केही सम्भावित कामहरू प्रस्तुत गरेको छुः
१. 'नाच्न जान्दैन, आँगन टेढो'- यहाँ आँगन टेढो भएर नाच्न गाह्रो भएको जस्तो छ, तुरुन्त सम्पर्क गरेमा आँगन सिधा गर्ने काम पाइने सम्भावना छ।
२.'जोगीको घरमा संन्यासी पाहुना'- यहाँ जोगीलाई घरमा पाहुना आउँदा राख्ने कोठाको अभाव परेजस्तो छ। जोगीलाई भेटेर कोठा थप्ने सुझाव दिनुस्। आजकालका जोगीहरू खुबै धनी छन्, रामदेवलाइ सम्झनुस् न। काम कोठा थप्ने मात्र भए पनि पैसो चाही राम्रै हुन सक्छ।
३. 'बाठो लड्छ तीन बल्ड्याङ्, लाटो लड्छ एक बल्ड्याङ्'- यहाँ हिँड्ने बाटो खराब भए जस्तो छ। त्यसैले सबै लडिरहेछन्। बाटो बनाउनुपर्ने देख्छु म। लाटोभन्दा बाठो धेरै लडेकोले उसलाई बढी मर्का परेको छ। त्यसैले सम्पर्क गर्दा बाठोसँग गर्यो भने काम झट्ट पाइने सम्भावना छ।
४.'ढुंगाको भर माटो, माटोको भर ढुंगा'- यो कतैको पुरानो माटोको जडानको पर्खाल वा घरको गारोको कुरा हो जस्तो छ। यस्तो जडान पुरातात्विक महत्वका मठ, मन्दिर वा घरहरूमा हुनेगर्छ। त्यसैले त्यहाँ रेट्रोफिकेसन गराउने सम्भावना देख्छु।
५.'भीरबाट लड्ने गोरुलाई राम-राम भन्न सकिन्छ, काँध थाप्न सकिंदैन'- भीरतिर जाने बाटो धेरै नै बिग्रेजस्तो छ, त्यसैले गोरुहरू लडिरहेका छन्। गोठालाहरूले नै काँध थाप्न सकिँदैन भनेपछि त अब बाँकी रहेको एउटा मात्र उपाय भनेको भीरमा जाने बाटो राम्रो बनाउनु नै हो। स्थानीय गोठालाहरूलाई संगठित गरेर बाटो बनाउने माग लिएर पालिका गयो भने काम पाइने सम्भावना छ।
६.'गहिरा घरलाई पहिरा डर, डाँडा घरलाई के को डर'- यहाँ त ठूलै स्कोपमा बायो इन्जिनियरीङ्ग, पैरो नियन्त्रणको सम्भावना देख्छु। अझ डाँडा घरवालालाई के को डर भनेर उनीहरूको कन्फ्युजन बाँकी नै रहेको जस्तो छ। उनीहरूलाई पहिरो गयो भने 'डाँडामा भए पनि तिमीहरू पनि बग्न सक्छौ' भनेर कन्भिन्स गर्न सकियो भने पुरै गाउँको पहिरो नियन्त्रणको काम पाइन सक्ने सम्भावना छ।
७.'धोबीको कुकुर घरको न घाटको'- यहाँ धोबीलाई कुकुर कहाँ राख्ने भनेर अप्ठेरो परेको जस्तो छ। उनको घरमा एउटा कुकुर खोर बनाउन सकिने सम्भावना छ। राम्रै कन्भिन्स गर्न सकेमा एउटा कुकुर खोर घरमा र अर्को कुकुर खोर घाटमा पनि बनाउन सकिन्छ।
८.'रित्तो गाग्री छचल्किन्छ'- यहाँ त झन् खानेपानीको चरम अभाव परेजस्तो छ। गाग्री नै आधा भर्नपर्ने बाध्यता रहेछ। महिलाहरूले गाग्री बोकेर हिँड्दा छचल्किदोँ रहेछ। एउटा सिङ्गै खानेपानी योजना ल्याउन सकिने सम्भावना छ।
९.'वल्लो घरको नरे पल्लो घरमा सरे'- वल्लो घरमा सुविधा कम भएर नरे डेरावाला पल्लो घरमा डेरा सरे जस्तो छ। वल्लो घरको घरधनीलाई कन्भिन्स गरेर त्यो घरको स्तर-उन्नति गराउन सकिने सम्भावना छ।
१०.'नमच्चिने पिङ्गको सय झड्का'- फनपार्कमा भएको पिङ्गमा मेन्टेनेन्शको आवश्यकता परेको जस्तो छ। तर एक दुई झड्का हैन सय नै झड्का दिन पर्ने भएकोले पिङ्ग धेरै नै बिग्रिसकेको हुनुपर्छ। खासगरी पिङ्गका मेकानिकल पार्ट पनि फेर्नपर्ने जस्तो छ। उस्तै परे पिङ्गको नयाँ डिजाइन, कन्सट्रक्सन र सुपरभिजन कै काम पाइने सम्भावना छ।
११.'हग्नेलाई भन्दा देख्नेलाई लाज'- पुरा गाउँभरि नै चर्पीको चरम अभाव भएर खुला ठाउँमा नै दिसा गर्न परेकोजस्तो छ। बाटो हिँड्दा दिशा गरेको अरूले पनि देख्दा रहेछन्। देख्ने सबैलाई लाज मान्न परिरहेको अवस्था रहेछ। यो गाउँ खुला दिशामुक्त हुन छुटेजस्तो छ। फेरि एकपटक चर्पी बनाएर माला लगाउन पाइने अवसर प्राप्त होलाजस्तो छ।
१२.'कुरो र कुलो जता लग्यो उतै लाग्छ'- यो काम धेरै नै सजिलोजस्तो छ। यहाँ सिँचाइ गर्न कुलो बनाउन पर्नेजस्तो छ, तर ठाउँ अत्यन्त सजिलो भएकोले जता पनि लग्न मिल्ने गरी कुलो बनाउन सकिने सम्भावना छ।
मैले अब यस्तै काम गर्ने विचार गर्दै छु। सधैँ कामको लागि सरकारी अफिस कति धाउनू। काम त समाजमा पनि प्रशस्त नै रहेछ त ! अनि सबैभन्दा मज्जा भनेको यी कामहरू कहिल्यै सकिँदैनन्, नेपाली भाषा र समाज रहेसम्म रहिरहन्छन्।
अन्त्यमा, कुनै साथीले नं ८ को काम पाउनु भयो भने डिजाइन गर्नको लागि मलाइ सम्झे पनि हुन्छ। मैले डिजाइन सफ्टवेयर नै बनाएको छु, काम पनि चाँडो सकिन्छ।
(लेखक इन्जिनियर हुन्।)