टाेकियाे ओलम्पिक: नेपालका एलेक्सकाे राष्ट्रिय किर्तिमान

जापानकाे टाेकियाेमा जारी ३२ औं गृष्मकालीन ओलम्पिकमा  पौडीका एलेक्जेन्डर गाडेगार्ड  शाह (एलेक्स) ले  राष्ट्रिय कीर्तिमान बनाएका छन्।

टोकियो एक्वेटिक सेन्टरमा मंगलबार एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन्।हिट चरणमा एलेक्सले ५३.४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमानमा सुधार गरेका हुन्।

एलेक्सले आफ्नै नामको कीर्तिमान सुधार गरेका हुन्। यसअघि एलेक्सको नाममा ५५.३८ सकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो। एलेक्सले राष्ट्रिय कीर्तिमान बनाएपनि सेमिफाइनलमा स्थान बनाउन सकेनन्।

प्रतिस्पर्धामा कुल ७१ खेलाडीमध्ये एलेक्स ५९ औं स्थानमा रहेका हुन्। हिट चरणबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाएका छन्।

एलेक्स आफ्नो हिट-१ मा शीर्ष स्थानमा रहे। ७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहेका थिए। टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडीले सहभागी छन्। अब गौरिका सिंहले प्रतिस्पर्धा गर्न बाँकी रहेको छ। उकाे प्रतिस्पर्धा बुधबार रहेकाे छ। 

प्रकाशित मिति: : 2021-07-27 17:02:00

प्रतिकृया दिनुहोस्