राँकाे हालेर गाली गर्दै लुताे फाल्ने साउने संक्रान्ति

जगनाथ महादेव देउताका धामी टेक कामी थानमा गएर राँकाे हाली नदी पारीपट्टीका गाउँलेलाई, 'राेग, व्याज, काल, कत्तर लुताे पाब्डाे लैजाउ एsss पारिपट्टीका ढग्र्याै। दुहुनी गाई दिजाउ, बाँठ्या गाई लैजाउ, फाटाे फेरुवा लैजाउ, नयाँ फेरुवा दिजाउ एsss पारिपट्टीका ढग्र्याै। भन्दै गाली गर्दैछन्। 

असार ३१ गते बिहान जुम्लाको चन्दननाथ १० का रघु सार्की बिहानै बजारकाे साथीलाई झराे (दियालाे) पुर्‍याउन जाँदै थिए। 

बाेहरागउँकै अम्मरे सार्की बाहुनबाडातिर झराे पुर्‍याउन हिडिरहेका थिए। त्यस्तै देशभर बालिघरे प्रथाकाे रूपले चिनिएकाे प्रथा जुम्लामा 'लगी प्रथा'बाट चिनिन्छ। 

साउने संक्रान्तिकाे दिन घरकाे छतमा राँकाे हाल्ने दियालो ल्याउने काममा लगीमानी प्रथाले खुब काम गर्छ। लगी प्रथा अनुसार हुने-खाने कथित माथिल्लो जातका 'बाहुन, क्षेत्री' कथित तल्लो जातका लागि लगीमानी मानिन्छन्। 

उनीहरुले आफ्नाे लगीका धेरै काममा सघाउनुपर्ने हुन्छ। यसरी सघाएवापत कतिले कमसल खेत, पाखाेबारी वा वर्षकाे अन्तिममा केही अन्न खलाेका रूपमा दिन्छन्।

कथित माथिल्लो जातका लगीकाे गर्नुपर्ने थुप्रै कामकाे सूचीमा पर्छ साउने संक्रान्तिमा झराे(दियालाे) पुर्‍याउने काम। 

यसरी रघु र अम्मरे मात्रै हाेइन, उनी जस्तै लगीमानी मान्नेहरु आफ्ना लगीकाे घरमा झराे पुर्‍याउन गइरहेकाे दृश्य विगत तीन चारदिन यता देखिइरहेका छन्। जुन हिजाे अस्ति मात्र हाेइन वर्षाैंदेखि देखिएकाे दृश्य हाे।

देशमा बालिघरे प्रथा अन्त्य भैसके पनि गाउँघरमा अझै यस्ता केही संस्कार र संस्कृति बाँकि नै छन्। तथापि साउने संक्रान्ति एक ऐतिहासिक महत्त्व बाेकेकाे सांस्कृतिक पर्व हाे। 

यसलाई किसानकाे जीवनसँग सम्बन्धित पर्वकाे रुपमा लिइन्छ। सामान्यत: असारमा किसानहरु लामाे समय हिलाेमा रहन्छन्। हिलाेबाट लुताे, तताने लगायतका छालासम्बन्धी राेग लाग्ने सम्भावना बढी हुन्छ। जसमा महिलाहरुकाे याेगदान बढी हुन्छ।

असार महिनाकाे काम सकिएपछि साउनमा फुर्सद हुन्छ। यही फुर्सदिलाे बनाउने साउनकाे पहिलाे दिनलाई साउने संक्रान्ति वा लुताे फाल्ने दिनकाे रुपमा मनाउने गरिन्छ।

साउने संक्रान्तिमा जुम्लीहरुले प्रत्येक घरका छतमा राँकाे हाल्नुका तीनवटा मुख्य कारणहरु रहेकाे संस्कृति सम्बन्धीका जानकार रमानन्द आचार्य बताउँछन्। 

उनका अनुसार तीन कारणमध्ये पहिलाे, हनुमानले लंका जलाएकाे दिनकाे स्मरण गर्नलाई हाे। दाेस्राे, लुताे, चिलाउने, आदि इत्यादि प्रदुषणजन्य राेगहरुकाे निवारणका लागि कण्डारककाे पुजा गर्न राँकाे हाल्ने धार्मिक विधान छ। जसले चर्म राेगहरु निकाे हुन्छन् भन्ने जनविश्वास छ।

तेस्राे, जुम्ला राज्यका संस्थापक राजा बलिराज दिल्लीमा भएको हिन्दु विराेधी मुसलमानहरुसँगकाे विद्राेह जितेर आएपछि त्यसैकाे खुसियालीमा दिपावली स्वरुप राँकाे हाल्ने गरिएको जनश्रुति छ।

राँकाे घरकाे छतमा हालसकेपछि खाेला पारिका गाउँलेहरुलाई गाली गर्दै लुताे फाल्ने गरिन्छ। यसरी साउने संक्रान्तिकाे दिन गरिने गालीका शब्दहरु अपाच्य र सुन्न नमिल्ने, भद्दा वा व्यक्ति केन्द्रित नभई खाेलापारिका समग्र गाउँले केन्द्रित हुन्छन्।

माथि नाम लिइएका धामी कामीले जस्तै 'तुताे, पाब्डाे, खाइने खड्काउने लैजाउ ऐ पारिफाल्या ढाग्र्याै, फाटाे फेरुवा लैजाउ, नाैंलाे फेरुवा दिजाउ ऐ पारिपट्टीका ढाग्र्याै, आदि।' 

त्यसका अलबा जेठ, असारमा निरन्तर काममा खटिने छाेरीचेलीहरुलाई माइत बाेलाएर आराम गराउने र मिठाे मसिनाे खुवाउने गरिन्छ। त्यस्तै पछिल्लो समयमा साउनमा हरियाे चुरा र मेहेन्दी लगाउने चलन पनि बढ्दै गएकाे छ।

महिलाहरु फराकिलो बाटाे वा चाैरमा गएर देउडा मार्फत आफ्ना बेदना सुनाउने गरेकाे चन्दननाथ -१० कि जुनपुरा सार्कीले बताइन।

'आजभोलि याे चलन हराउँदै गयाे,' उनले भनिन्, 'टाढा गाउँका महिलाहरु अझै पनि घरदेखि टाढा गएर गाउने गर्छन्।' 

तातोपानी गाउँपालिका लाम्राकी हुड्के नाच्ने महिला चन्द्रकला सार्कीका अनुसार वेदना आफ्नै प्रकारका हुन्छन्। उनले गाएकाे देउडा गीतकाे वेदना यस्ताे छ। 

बाबाले पडाया भया काइँ स्कुल चिन्ना हुँ।
गया जाेवन (जवानी) पाउन्या भया माेल हाली किन्ना हुँ।।

झराे (दियालाे) बालेर, ढँटेलाेकाे काँडा, घरकाे कुनातिर भएकाे छाराे, जिउलाेमा रहने फुलकाे आँठाे टाउकाे वरिपरि घुमाएर लुताे फाल्ने भनी दाेबाटाेमा भरी अम्खाेरा पानी फाल्दा लुताे जान्छ। 

प्रकाशित मिति: : 2021-07-16 20:05:00

प्रतिकृया दिनुहोस्