नागरिकता र कम्बल वितरणकाे समाचार जरुरी छैन: प्रजिअ प्रसाईं

जुम्लाकी प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईंले पत्रकारलाई आफ्नाे प्रचारमा केन्द्रित नहुन आग्रह गरेकी छन्।

४२औं प्रशासककाे रुपमा जुम्ला आएकी प्रसाईंले बिहिवार पत्रकार भेटघाट कार्यक्रममा नेपाल सरकारले ताेकेकाे काम गर्दा आफ्नाे प्रचार जरुरी नभएकाे बताएकी हुन्।

'नागरिकता वितरण, जिल्लाकाे शान्ति सुरक्षा, विपद्मा राहत वितरणलगायत हाम्रा नियमित कर्म हुन्। यसकाे समाचार बन्नु आवश्यक छैन,' उनले भनिन्, 'बरु नागरिकता पाउनुपर्नेले नपाएमा र नपाउनु पर्नेले पाएमा समाचार बनाउनु जरुरी छ।'

प्रभावकारी सेवा प्रवाह र सुशासन कायम राख्नु प्रशासनको पहिलो पहिलाे कर्तव्य भएकाे भन्दै उनले पत्रकारलाई अध्ययन गरेर लेख्नसमेत सुझाव दिइन्।

उनका अनुसार सरकारकाे प्रशासनिक संरचनामा केही अलमल भए पनि स्थानीय तह अधिकार सम्पन्न हुनुपर्छ। 'स्थानीय तह र प्रशासनकाे हाइरार्कीमा केही अलमल छन्। तर त्याे मेराे लागि समान्य कुरा हुन्,' उनले भनिन्, 'बरु स्थानीय तह, पत्रकार र प्रशासन संयुक्त रुपमा मिलेर सचेतनाका गतिविधि संचालन गर्नुपर्छ।'

समाज सुसूचित हुन अझै बाँकी रहेकाे हुनाले सचेतनाका कार्यक्रम गर्न जरुरी रहेकाे उनकाे तर्क छ। 'कानुन जति बढी र कडा बनाइन्छ, तब हामीले साेचे हुन्छ समाज सुसूचित छैन भनेर,' उनले थपिन्, 'समाज सभ्य र सुसंस्कृत भएमा कानूनहरु स्वतह कम हुँदै जान्छन्।'

प्रजिअ प्रसाईंले आफ्नाे भूमिका समन्वयकारी बढी हुने बताउँदै  बिगतका राम्रा कामलाई अनुशरण गर्दै हुन नसकेका कामलाई सुधार गर्दै लैजाने बताइन्।

उनका अनुसार सुशासन कायम गर्न 'शून्य सहनशिलता' अपनाइनेछ। 'शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रशासन' भन्ने नारालाई साकार पार्न अधिकतम प्रयत्न हुनेछ। इमान्दार र भ्रष्टचार नियन्त्रण भएपछि मात्र समाज र जनताले परिर्वतनको आभाष गर्न सक्ने उनकाे ठम्याइ छ।

उनले थपिन्, 'प्रशासनको अधिकार क्षेत्रभित्र पर्ने सबै विषयमा निष्पक्ष र इमान्दार भएर कार्यसम्पादन गरिनेछ। गलत काम गर्नेविरुद्ध सधैँ लड्ने प्रतिवद्धता जनाउँछु।'

पत्रकारहरुले महिला तथा बालबालिकाका र जातीय विभेदका जाहेरी प्रहरीले सहजै दर्ता गर्न नमानेको, प्रहरी प्रशासन निष्पक्ष नभएको र पहुँचवालाको मात्रै गुनासो सुनुवाइ हुने गरेको भन्दै सबैसँग प्रभावकारी समन्वय गर्न सुझाव दिएका थिए।

प्रकाशित मिति: : 2021-07-09 07:41:00

प्रतिकृया दिनुहोस्