तेस्रो 'गुरिल्ला म्याराथन'मा भूमेका हिमाल बुढा मगर प्रथम स्थानमा

बिएल संवाददाता

 रुकुम(पूर्व) 

लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम (पूर्व)मा आयोजना गरिएको तेस्रो 'गुरिल्ला अल्ट्रा ट्रेल रेस २०२१' म्याराथनमा भूमे गाउँपालिका-२ निवासी हिमाल बुढा मगरले पुरुषतर्फ प्रथम स्थान हासिल गरेका छन् भने महिलातर्फ प्युठानकी हुमी बुढामगर प्रथम भएकी छन। 

१८ वर्षीय हिमाले ५२ किलोमिटरको दुरी ५ घन्टा ५३ मिनेटमा पुरा गरेका थिए भने २२ वर्षकी हुमी ले ८ घन्टा ३२ मिनेटमा उक्त दुरी पार गरेकी थिइन। 

त्यसैगरी महतका कर्मान रोका मगर द्धितीय र सानी भेरी काअर्जुन कुमार बस्नेतले तृत्तिय स्थान हासिल गरेका थिए। महिलातर्फ भूमे ७ की रोजिना बुढा मगर र दोमईकी निर्मला बुढा मगरले क्रमश दोस्रो र तेस्रो स्थान ओगटेकी थिइन्। प्रतियोगितामा २१ महिलासहित १२९ जना खेलाडीहरुले सहभागिता लिएका थिए। 

माओवादी जनयुद्ध कालमा ठूले राई अपहरण कान्डबाट चर्चित बनेको ऐतिहासिक महत गाउँबाट सुरु भएको दौड धावकहरु लाबाङ गाउँ हुँदै रोल्पाको धार्मिक स्थलजला उक्लेर थबाङ हुदै भूमेको एकिकृत कृषि अनुसन्धान केन्द्र रहेको मारिङ धुरी उक्लेर साना लेक हुँदै महत पुगेर टुंगेको थिए।

प्रतियोगिता सुरु हुनु अघि र समापन भएपछी गाउँको स्थानीय बाजागाजा र भुमे नाँचद्वारा खेलाडीहरुको मनोबल बढाउनुका साथै शुभकामना तथा बढाई दिइएको थियो।

दौड प्रतियोगितामा प्रथम हुनेलाई रु. ७५ हजार, दोस्रोलाई ५० हजार, तेस्रोलाई ३० हजार र चौथोलाई १५ हजारका साथै पाँचौदेखि दशौं स्थानसम्मको स्थानमा आउनेलाई प्रोत्साहन स्वरुप ५००० को व्यवस्था गरिएको थियो। 

पूर्व आपुपूर्तीमन्त्री गणेशमान पुनले विजेताहरुलाई कपका साथै मेडल, प्रमाणपत्र र धनराशी हस्तान्तरण गरेका थिए। 

पूर्वमन्त्री गणेशमान पुनका साथै लुम्बिनी प्रदेश सभासद तेज बहादुर वली, भूमे गाउँपालिका अध्यक्ष्य रामसुर बुढा मगर, उपाध्यक्ष्य मनकुमारी बुढा विष्ट, थबाङ गाउँपालिका अध्यक्ष्य विरवहादुर घर्तीका साथै अरु स्थानीय नेताहरुले प्रतियोगिताका विजेता तथा सहभागीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। 

सोही क्रममा उनीहरुबाट महतमा निर्माणाधिन रंगशाला, युद्ध फिचर र जनसेनाका मुर्तिहरुको अवलोकन गरिएको थियो। 

पूर्वमन्त्री गणेशमान पुनले दस वर्षे युद्धकालमा माओवादी सेनाले हिंडेका यी महत्वपूर्ण ऐतिहासिक पदमार्ग तथा स्थलहरुमा दौड प्रतियोगिता हुनु लोकतान्त्रिक गणतन्त्र नेपाल बनाउन भएको संघर्ष र त्यागलाई संस्मरण र सम्मान भएको बताए। 

त्यसका साथै भविष्यमा अन्तराष्ट्रिय खेलाडीहरुलाई पनि सो प्रतियोगितामा आकर्षित गर्न सके आन्तरिक तथा अन्तराष्ट्रिय पर्यटनबाट स्थानीयहरुले आर्थिक लाभ लिन सक्ने सम्भावना रहेको उनले बताए।

भूमे गाउँपालिकाद्धारा २०७६मा युवाहरुको सर्वाङ्गिण विकासको लागि स्थापना गरिएको भूमे युवा विकास केन्द्रले दुई वर्षयता गुरिल्ला अल्ट्रा ट्रेल रेस आयोजना गर्दै आएको छ। 

केन्द्रले विभिद खेलकुदका साथै युवाको क्षमता विकास, उद्यम शिलता, र समाजको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा निर्णायकतथा अर्थपूर्ण सहभागिता बढाउने कार्यक्रमहरु गर्दै आएको छ। 

युद्व पर्यटनलाई विकास र विस्तार गर्दै तत्कालिन ‘जनयुद्ध’ को ऐतिहासिकतालाई प्रचार–प्रसार गर्न र जिल्लाको पर्यटन प्रवद्धन गर्ने लक्ष्यका प्रतियोगिता राखिएको हो। 

तत्कालिन माओवादीद्वारा सञ्चालन गरेको १० बर्ष सशस्त्र युद्धताका छापामार (गुरिल्ला) हिँडेको गोरेटो  रोल्पा, रुकुम , बाग्लुङ र म्याग्दि जिल्ला समेटर केहि वर्षअगाडि सरकारले 'गुरिल्ला पदमामार्ग' को रुपमा प्रवर्धन गरिएको थियो। 

भूमे गाउँपालिका, रुकुम (पुर्व)को सहयोगमा भूमे युवा विकास केन्द्रले ‘तेस्रो गुरिल्ला ट्रेल’ म्याराथन आयोजना गरिएको हो। २०७५ सालदेखि सुरु भएको ' गुरिल्ला ट्रेल रेस' लगातर २ वर्ष आयोजना भएको थियो भने २०७७ सालमा कोरोना महामारीका कारण रद्ध भएको थियो। 


तेस्रो 'गुरिल्ला अल्ट्रा ट्रेल रेस' म्याराथन प्रतियोगिता असार २२ गते



 

प्रकाशित मिति: : 2021-07-06 23:05:00

प्रतिकृया दिनुहोस्