घरेलु मैदान वेम्बलीमा जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्डले युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ।
मंगलबार राति भएको प्रि-क्वाटरफाइनलमा तीन पटकको च्याम्पियन जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो।
लण्डनस्थित वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक एक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले लुक शको पासमा गोल गरेका थिए।
खेलको ८६ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २-० को जित दिलाए। उनले ज्याक ग्रेलिसको पासमा हेडरमार्फत गोल गरेका हुन्।
यससँगै इंग्ल्यान्ड क्वाटरफाइनलमा पुग्ने सातौं टिम बनेको छ। इंग्ल्यान्ड दोस्रो पटक युरोकपको क्वाटरफाइनलमा पुगेको हो।