लयमा फर्किदै ईनास, युएईको रसअलखेमामा बन्यो नयाँ समिति 

कोभिड-१९ का कारण लामो समयदेखि थला परेको कला तथा मनोरञ्जनको क्षेत्रलाई चलायमान बनाउन अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) सक्रिय भएको छ।

ईनास युएईको रसअलखेमा क्षेत्रीय समितिले संकल्प चन्द ठकुरीको नेतृत्वमा नयाँ समिति चयन गर्दै प्रवाशमा कला तथा मनोरञ्जनका गतिविधिहरु सुचारु गर्न कदम अगाडि बढाएको हो।

युएईमा श्रमसँगै कलाकारिता गरिरहेका नेपाली कलाकारहरुलाई ईनासले एकिकृत गरि मनोरञ्जनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको छ।

कोरोनाका कारण उत्पन्न असहजता तथा प्रतिबन्धहरुका कारण झन्डै डेढ वर्षदेखि युएईमा सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना हुन सकेका छैनन्। पछिल्लो समय कोरोनाको संक्रमणदर घट्दै आएकाले पुनः मनोरञ्जनात्मक गतिविधिहरु सुचारू हुने आशा गरिएको छ।

गएको शुक्रबार ईनास युएई अन्तर्गतको रसअलखेमा क्षेत्रीय समितिले चौथो महाधिवेशन सम्पन्न गरेको छ। महाधिवेशनले संकल्प चन्द ठकुरीको अध्यक्षतामा सर्वसम्मत २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अमरसिंह खत्री, उपाध्यक्षद्वयमा प्रतिप लिम्बू र सुर्य बोहोरा, महासचिव र सचिवमा क्रमशः शर्मिला तामाङ र भक्त तोम्बाफो चयन भएका छन। त्यसैगरी कोषाध्यक्षमा सपना राई र सह-कोषाध्यक्षमा सन्देश मगर चयन भएका छन् भने विष्णु थापालाई प्रवक्ता चयन गरिएको ईनास युएईका अध्यक्ष राम तामाङले जानकारी दिए।

नयाँ कार्य समितिका सदस्यहरुमा शैलेश बाबु, सुबाश घिसिङ्ग, सुरज खत्री, मनिष जिएम, प्रदेश बल तामाङ्ग, ललित रावल, नरेन्द्र क्षेत्री, भावना गौतम, सुमन आचार्य, जोनी शर्मा, भीम प्रकाश, आइशा वाईवा, रमण निरौला र नवराज घिमिरे चयन भएका छन्।

समाजसेवी राजेन्द्र रोस्याराको प्रमुख आतिथ्य तथा इनास युएईका वरिष्ठ उपाध्यक्ष एमडी बोहोराको विशेष आतिथ्यतामा संपन्न महाधिवेशनमा नेपाल एशोसियनका भिम मल्ल ठकुरी तथा निरञ्जन खत्रीले शुभकामना मन्तव्य राखेका थिए भने निर्वाचन समितिका संयोजक धन बहादुर चन्दले नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए।

सन २०१३ मा स्थापित ईनास युएईले युएईमा क्रियाशिल नेपाली कलाकर्मीहरुको हितमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ भने विभिन्न कारण अप्ठ्यारोमा परेका नेपालीहरुलाई उद्दार तथा सहयोग गर्दै आएको छ।

नेपाली भाषा, संस्कृति, कला र पहिचानलाई विश्वभरी चिनाउन हाल विश्वका ७३ भन्दा बढी देशमा ईनास सक्रिय रहेको छ।

प्रकाशित मिति: : 2021-06-06 07:51:00

प्रतिकृया दिनुहोस्