चीनको गान्सुमा रेल दुर्घटना, ९ जनाको मृत्यु

Symbolic photo
Symbolic photo

उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा शुक्रबार रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन्। 

चिनियाँ रेलवे लान्झाउ ब्युरोका अनुसार लान्झाउ–सिनजियाङ रेल्वेको जिन्चाङ खण्डमा शुक्रबार बिहान ५.२५ बजे रेल दुर्घटना भएको हो। 

प्रहरी र स्थानीय मानिसले रेल दुर्घटनाका मृतक एवं घाइतेहरुको उद्धार गरेका थिए। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

फ्रान्स–चीन ढुवानी रेल सेवा शुरु

यसैबीच, चीन र युरोपबीच फ्राइट (सामान ढुवानी)का लागि नयाँ रेल सेवा बुधबार शुरु भएको छ। यो सेवा शुरु भएसँगै चीनको उत्तरी प्रान्त साङ्सी र फ्रान्सबीच सोझो रेल सेवा सम्पर्क स्थापित भएको छ। 

पचास वटा कन्टेनर लोड गरिएको रेल मध्य साङ्सी प्रान्तबाट बुधबार फ्रान्सको राजधानी पेरिसका लागि प्रस्थान गरेको थियो। यो रेलले करिब ११ हजार किलोमिटरको दुरी तय गर्नेछ। 

यो रेल मङ्गोलिया, रसिया, बेलारुस, पोल्यान्ड र जर्मनी हुँदै करिब २० दिनमा फ्रान्स पुग्नेछ चिनियाँ रेलसेवाले जनाएको छ। 

शाङ्सी जिनाउ लजिस्टिकका व्यवस्थापक वाङ गोकिङले उक्त रेलमा फिटनेसका सामान र ९० हजार डिस्पोजेवल स्टेराइल सिरिंज समेतका अन्य सरसामान रहेको जानकारी दिए। रासस 

प्रकाशित मिति: : 2021-06-04 14:35:00

प्रतिकृया दिनुहोस्