'काेराेना देखिए काम छुट्ने डरले जचाउँन मान्दैनन्' 

जुम्लाका गाउँगाउँमा ज्वरो आउने, रुघाखोकी लाग्नेलगायत लक्षणका बिरामी बढेका छन्। उनीहरू अस्पतालमा उपचारका लागि नगई घरमै बसेका छन्। 

कोरोना देखिए समाजमा अपहेलित हुनुपर्ने र १४ दिन आइसाेलेसनमा बस्दा घरकाे काम छुट्ने डरले उनीहरुले जचाउन नमान्ने गरेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। 

प्रतिष्ठानका अनुसार जिल्लाका अधिकांश गाउँमाका किसानहरु जौं काट्न र धान रोप्न व्यस्त भएकाले पनि परीक्षण गर्न समस्या भएको छ।

जुम्लाका आठवटै स्थानीय तहले आइसोलेसन निर्माण गरे पनि कोरोनासँग मिल्दो लक्षण देखिएका बिरामी परीक्षण गर्न नआउने गरेको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए। 

'संक्रमितको उपचारका लागि आठवटै स्थानीय तहका आइसोलेसनमा चिकित्सक खटाएका छौं,' उनले भने, 'तर बिरामी परीक्षण र उपचारका लागि आउन नमानेको चिकित्सकहरूले रिपोर्टिङ गरेका छन्।' 

उनका अनुसार ग्रामीण क्षेत्रका आइसोलेसनमा जटिल समस्या देखिएका बिरामीको मात्र उपचार भइरहेको छ।

स्थानीयको लापरबाहीकै कारण जुम्लाका गाउँगाउँमा कोरोना फैलिएको तातोपानीका कमल न्यौपानेले बताए। 'कोरोना संक्रमण देखिहाले न्यूनतम १४ दिन आइसोलेसनमा बस्नुपर्ने हुन्छ,' उनले भने, 'आइसोलेसनमा बस्दा खेतीपातीका कामहरू रोकिने भएकाले पनि किसानले परीक्षण गराउन मानेका छैनन्।'

कोरोनाको लक्षणसँग मिल्दो लक्षण देखिए पनि परीक्षण गराउन समस्या भएको तिला गाउँपालिकाका हरि बुढाले बताए। 'अहिले गाउँमा कामको सिजन चलेको छ,' उनले भने, 'गाउँमै परीक्षण गर्ने व्यवस्था छैन, परीक्षण गर्न कम्तीमा गाउँपालिकाको केन्द्रमा पुग्नुपर्छ।' 

उनले कडा ज्वरो र रुघाखोकी लागेका अन्यले पनि कोरोना परीक्षण नगराएको बताए। उनका अनुसार गाउँका अधिकांश बिरामी घरेलु उपचारको भरमा छन्।

जुम्लामा अहिले ४ सय ८ जना संक्रमित रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। अहिलेसम्म १ सय ८१ जना उपचारपछि घर फर्किएका छन्। 

कार्यालयले जटिल समस्या भएका संक्रमितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिरहेको छ। अहिले ३२ संक्रमितको प्रतिष्ठानमा उपचार भइरहेको रजिस्टार काफ्लेले बताए। अस्पतालमा आएका शंकास्पद बिरामीको मात्र कोरोना परीक्षण भइरहेको छ। जुम्लामा दैनिक १ सय जनाको कोरोना परीक्षण हुने गरेको छ।

ज्वरोले रातबाडा थलियाे
जुम्लाको तातोपानी गाउँपालिका -६ रावतबाडाका अधिकांश गाउँले बिरामी भएका छन्। विगत एक सातादेखि गाउँमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका कारण गाउँलेहरु थला परेका हुन।

यस्ताेअवस्थामा स्थानीय सरकारले कुनै पनि सहयोग नगरेको गुनासाे गाउँलेहरुले  गरेका छन्। करिब पाँचदिनदेखि गाँउलेहरुमा समस्या देखिन थालेको स्थानीय बरमराज कामीले जानकारी दिए। 

उनका अनुसार गाउँलेहरुमा कोरोनासँग मिल्दोजुल्दो समस्या देखिएको छ। एक हप्ता यता गाउँका ३५ जना जति बिरामी परेका छन्। 

एकसातादेखि उक्त गाउँमा १५ जना सिकिस्त, अन्य १५ जना जति सामान्य रहेका छन्। सिकिस्त हुनेमा ४० वर्षका देखि ७० वर्ष समूहका रहेका छन्। उक्त गाउँमा काठमाडौँ, सुर्खेत, भोजपुर लगायतका जिल्लाबाट मानिसहरु भित्रिएका थिए।

रावतबाडामा ५३ घरधुरी रहेका छन्। ती मध्ये आधा भन्दा भन्दा बढी घरधुरी प्रभावित छन्।

वडा नम्बर - ६ का अध्यक्ष विशाल खड्काका अनुसार गाउँलेहरुमा खोकी लाग्ने, टाउको दुख्ने, हाडजोर्नी ज्वरो आउने, खाना नरुज्ने, पालतो दिसा हुने हुने लगायतका समस्या लक्षण देखिएको छ।

'म दिउसाे गाउँमा गएका थिए,' उनले भने, 'रावतबाडामा करिब चार दर्जन भन्दा बढीमा कोरोनासँगको लक्षण देखिएको छ।'

पीसीआर परिक्षणकाे लागि ४६ जनाको नामावली तयार गरिएको उनले बताए। उनले भने, 'पहिलो चरणमा ३० जना हुन्छ। त्यसपछि अवस्था हेरेर अरुकाे पनि परिक्षण हुन्छ।'

प्रकाशित मिति: : 2021-06-01 07:41:00

प्रतिकृया दिनुहोस्