प्रचण्ड–माधवका दुई ‘मिशन’: ओलीकाे साटाे अर्कै चुनावी सरकार बनाउने, कांग्रेससँग मिलेर एमालेविरुद्ध घेराबन्दी गर्ने

File Photo
File Photo

प्रतिनिधिसभा विघटनपछि सबैभन्दा आक्रोशित देखिएको छ– एमालेसँग तीन महिनाअघिमात्र छुट्टिएको माओवादीकेन्द्र। ०६३ सालपछि सबैभन्दा कमजोर अवस्थामा पुगेको छ– माओवादीकेन्द्र। 

माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेको ‘समानान्तर समूह’ का नेता माधवकुमार नेपालको अब दुईवटा साझा ‘मिशन’ छन्। ती हुन्– प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई जसरी पनि हटाउने। अनि कांग्रेससहितको मोर्चाबन्दी गरेर एमालेलाई एक्लो पारेर चुनावमा जाने। 
प्रचण्ड र माधव नेपालले प्रतिनिधिसभा विघटनअघि नै नेपाली कांग्रेसका सभापतिलाई एमालेविरुद्ध सबै मिलेर चुनावमा जाने प्रस्ताव गरिसकेका छन्। 

कांग्रेसका सभापति देउवानिकट एक नेताले दिएको जानकारीअनुसार, प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र नेपाल पक्षका लागि ५० प्रतिशत र कांग्रेसका लागि ५० प्रतिशत बाँड्ने प्रस्ताव प्रचण्डले देउवासमक्ष यसअघि नै राखेका छन्। देउवाले भने यसलाई प्राथमिकता दिएका छैनन्। 

एमालेको माधव नेपाल समूह का एक नेताले दिएको जानकारीअनुसार, सीट बाँडफाँटमा ६० प्रतिशत कांग्रेस र ४० प्रतिशत माओवादी–‘समानान्तर एमाले’ पनि हुनसक्छ। प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशमा जस्तै एक–दुई ठाउँमा पेलेपछि देउवा लाइनमा आउने छन्। अहिलेको संसद् विघटनले पनि उनलाई धेरै नै सतहमा ल्याउने छ।’

प्रतिनिधिसभा पुनस्र्थापित भएर पनि, आफूहरुले प्रधानमन्त्रीको प्रलोभनदेखि सबै ‘त्याग’ गर्दा पनि प्रधानमन्त्री ओलीलाई सत्ताच्युत गर्न नसकेकोमा प्रचण्ड–नेपाल दुवैलाई हीनताबोध भएको छ। त्यसैले प्रचण्ड–नेपाल दुवै नेता ०६९ सालमा डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीबाट हटाएर खिलराज रेग्मीलाई मन्त्रिपरिषद् अध्यक्ष बनाएजस्तै घटना दोहोर्याउन चाहन्छन्। 

यसका लागि उनीहरुले देउवालाई पनि सहमत गराउने प्रयासमा छन् तर प्रधानमन्त्री ओलीले यो कुरा स्वीकार्ने छैनन्। ओलीकै नेतृत्वमा चुनाव निष्पक्ष हुन नसक्ने हुनाले उनको नेतृत्वमा चुनावमा जान नसकिने भनेर वर्षमान पुनलगायत आफूनिकट केही नेताहरुसँग प्रतिनिधिसभा विघटनअघि नै बताइसकेको पनि ती ‘समानान्तर एमाले’ का नेताले जानकारी दिए।

ओलीलाई हटाएर सकेसम्म देउवा वा ‘स्वतन्त्र व्यक्ति’ को नेतृत्वमा चुनाव गराउन सकेमा र एमालेविरुद्ध कांग्रेस–उपेन्द्र यादव पक्षसँग गठबन्धन बनाए मात्र माओवादीकेन्द्रको अस्तित्व बाँकी रहने अन्यथा पार्टी नजोगिने अनुमान यसअघि नै मूल्याङ्न गरिसकेको छ।

प्रकाशित मिति: : 2021-05-22 13:53:00

प्रतिकृया दिनुहोस्