भारतमा ५० प्रतिशतले अझै मास्क लगाउदैनन् : अध्ययन  

बिएल संवाददाता

नयाँ दिल्ली
Untethered Voice
Untethered Voice

भारतमा अहिले पनि झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ।  

केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार एक अध्ययनले अझै पनि ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको देखाएको छ।

राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लव अग्रवालले भने, 'हालैको एक अध्ययनबाट झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ।' 

उनले मास्क लगाउने गरेकाहरूमध्ये पनि झण्डै ६४ प्रतिशतले पर्याप्तरूपमा नाक नछोप्ने गरेको पाइएको समेत जानकारी दिए। देशका नौ राज्यमा अहिले पनि ५० हजारदेखि एक लाखबीचमा सक्रिय सङ्क्रमितहरु रहेको पनि उनले बताए। 

सहसचिव अग्रवालका अनुसार अरु १९ राज्यमा भने ५० हजारभन्दा कम सक्रिय सङ्क्रमितहरु रहेका छन्। कर्नाटक, पश्चिम बंगाललगायतका केही राज्यहरुमा २५ प्रतिशतभन्दा बढीमा सङ्क्रमण नै देखिने गरेको उनले बताए। 

'कुनै एउटा व्यक्तिले सामाजिक दुरी कायम गरेन भने औसतमा एक महिनामा ४०६ जनालाई सङ्क्रमित गराउन सक्ने देखिएको छ' उनले भने। अध्ययनका आधारमा पनि उहाँले सामाजिक दुरी कायम गर्न र मास्क लगाउन अति आवश्यक रहेकोमा जोड दिए। 

भारतमा कोरोनाभाइरस महामारीको संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन। विगत २४ घण्टामा थप चार हजार २०९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

यो सहित भारतमा कोरोना भाइरसको संक्रमणबाट २ लाख ९१ हजार ३३१ जनाको मृत्यु भएको छ। भारतमा बढी घातक मानिएको कोरोनाभाइरसको दोस्रो लहर शुरु भएयता दैनिक चार हजारको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ। 

भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या सरकारले सार्वजनिक गरेको विवरण भन्दा बढी हुनसक्ने विज्ञहरुले दावी गरेका छन्। 

भारतमा पछिल्ला केही दिनदेखि संक्रमितको संख्या भने घटेको देखिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ५९ हजार ५९१ जना नयाँ संक्रमित देखिएका छन् भने तीन लाख ५७ हजार २९५ जना संक्रमणमुक्त पनि भएका छन्। 

भारतमा अझै पनि ३० लाख २७ हजार ९२५ जनामा सक्रिय संक्रमण छ। भारतमा कोभिड देखिएयता २ करोड ६० लाख ३१ हजार ९९१ जना कूल संक्रमित भेटिएका र त्यसमध्ये २ करोड २७ लाख १२ हजार ७३५ जना संक्रमणमुक्त भएका छन्। रासस 

प्रकाशित मिति: : 2021-05-21 19:12:00

प्रतिकृया दिनुहोस्