लकडाउनसँगै त्रिविले धकेलेको सपना 

एकाबिहानै मलाई मेरी आमाले टीका लगाउँदै भनेकी थिइन्, 'भाउअ तोइ होस् मेरो बाच्ने आधार। अरु कोही नाई आजसम्म तेरै मुख हेरी खाइछु। राम्मो गरी पढेई।'

यति भन्दै गर्दा उताबाट बसको कन्डक्टरले बोलाउँछन्। अनि म बसतर्फ लागेँ तर मेरा अँखा मेरी आमातर्फ नै गढिएका थिए। मेरी आमाको चाउरी परेको गालाले सम्झाइरहेको थियो– तैंले केही गर्नुपर्छ भनेर।

मेरी आमाको नयनमा चयन हुन नसकेका भावनाका डल्लाहरु अडिएका थिए। म बसभित्र छिर्दै हात हल्लाउँदै 'आमै राम्मो गरी बस्या, मो ठूलो मान्ठ बुनिकन आउन्याछु हैक्या' भन्दै गह भरी आँशु र साथमा अनगिन्ती सपना बोकेर राजधानी शहरतिर लागेको थिएँ।

केही समयपश्चात् एक्कासी बसमा ब्रेक लाग्छ। सबै यात्रु आफू बसेको सीटभन्दा अगाडि झुम्मिन्छन्। अनि म झसङ्ग ब्युँझन्छु। बाहिर निस्केर हेर्दा त पहिरोले गर्दा कर्णाली राजमार्ग अवरोध भएको हुन्छ।

कतिबेला खुल्छ भन्ने टुङ्गो थिएन। डोजर आएपछि १५ मिनेट लाग्ने तर डोजर आइपुगेको थिएन र त्यहाँ होटलहरु देखिएनन्। आफ्नो पेटमा भोगले मुसा दैडिरहेका थिए।

त्यतिबेला उताबाट एउटा नानी चाउचाउ खाँदै थिइन् र मैले सोधेँ, 'नानू यता किराना पसल छ र? उनले हाँस्दै भनिन्, 'कैथा हुन्त आई यी ट्याउ। आँखा पुनि देख्थारैन्छुन त्यात्ति पुड्डोखा त छ।'

म पनि मुसुक्क हाँस्दै 'ल ल हुन्छ नानू धन्यवाद' भन्दै अलि पर रहेको पसलतिर लागेँ।  २० रुपैयाँ पर्ने चाउचाउलाई ५० मा किनेर खाएँ। मनमा प्रश्न त आएको थियो– २० को चाउचाउ ५० मा किन भनेर तर भोकले गर्दा सबै कुरा बिर्साइदियो।

राजमार्गको हालत देखेर मैले प्रश्न गर्न सकिनँ। यस्तै गर्दागर्दै चार घण्टा बित्यो। बल्ल तल्ल डोजर आइपुग्यो। पहिरो पन्छायो।

अनि हामी आफ्नो गन्तव्यतिर लाग्यौँ। घरबाट हिँडेको दुई दिनपछि कर्णाली प्रदेशको राजधानी– सुर्खेत पुगियो। मेरो फुपूको छोरा पनि सुर्खेतमै पढ्नुहुन्थ्यो।

सुर्खेतमा उहाँसँगै बस्ने सल्लाह भएकाले उहाँ मलाई लिन आउनुभएको थियो। हामी कोठातिर लाग्यौँ। कोठामा पुगेर खाना खाँदै भलाकुसारी गर्‍यौँ। दाइले भन्नुभयो, '१२ पास भछि खुसी लाग्यो अब स्नातक त होला नि पढ्ने कि त लोकसेवा तयारी गर्छस्?'

मैले द्विविधामा पर्दै भनेँ, 'खै दाइ, के गर्ने स्नातक त गर्ने होला नि कि आयोग तयारी गर्ने र? 'अनि दाइले भन्नुभयो 'स्नातक गर्न त, बरु कुन विश्वविद्यालयबाट स्नातक गर्छस् त? म त त्रिभुवन विश्वविद्यालयको सुर्खेत मोडेल कलेजमा पढिराछु, कि त तँ पनि त्यहीँ पढ्छस् र?'

मैले पनि सोच्दै भनेँ, 'त्रिभुवन विश्वविद्यालय अन्तर्गत हो भने त्यतै भर्ना गर्दिनू न।'

केही दिनपश्चात् म भर्ना भएँ र म नियमित कलेज जान लागेँ। कलेजले राम्रै सेवा सुविधा दिएको थियो। म पनि राम्रोसँग पढिरहेको थिए।

दुई महिनापछि हाम्रो कलेजको वार्षिकोत्सवमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीबीएसतर्फबाट नेपाल प्रथम गर्ने अग्रज गणेश ढकाल पनि उपस्थित हुनुहुन्थ्यो।

मैले मेरा साथीहरुलाई भनेँ, 'हेर त उहाँ दाइ नै हो रे, नेपाल प्रथम।' अनि साथीहरुले पनि भने हामीले पनि प्रथम हुने प्रयास गर्नुपर्छ।

त्यतिकैमा मैले भनेँ– नेपाल प्रथम नभए पनि राम्रो अङ्क ल्याएर पास गर्नुपर्छ ल!

फेरि मेरो अर्को साथी युवराज बोल्छन्, 'ह्या परीक्षा कहिले हुने हो केही थाहा नै छैन, भर्खर त भर्ना भएका छौं। अहिले नै चिन्ता नलगन साथीहरु।' यस्तै गफ गर्दै सबै साथीहरु आ-आफ्नो कोठातिर लाग्यौं।

कोठामा पुगेर फेसबुक खोल्दा कोभिड-१९ नेपालमा भित्रिएको पोस्टहरु देखिन्छन्। यसको केही दिनमा नेपाल सरकारले लकडाउनको घोषणा गर्‍यो। हामी सबै विद्यार्थीहरु कलेज बन्द भएको कारणले आ-आफ्नो घरतिर गयौं।

दुई महिना बितिसक्दा पनि लकडाउन नखुलेपछि कलेजले अनलाइन कक्षा सञ्चालन गर्‍यो। नेटको पहुँच भएकाले मात्र यसमा समावेश हुन पाए तर विडम्बना!

हाम्रो गाउँमा इन्टरनेटको सुविधा नभएकोले म अनलाइन कक्षामा सहभागी हुन सकिनँ। मजस्तै अन्य साथीहरु पनि सहभागी हुन पाएनन्।

यस्तै कारणले हाम्रो पढाइमा धक्का पुगिरहेको थियो। यस्तै गर्दागर्दै ८ महिना बित्छ र बल्लतल्ल कलेजहरु सुरु हुन्छन्। अनि त्यही शहर र त्यही पुरानै जोशका साथ आफ्नो लक्ष्य पूरा गर्नका लागि शहरतिर लाग्छु।

२०७६ कार्तिकमा भर्ना भएको म २०७७ साल पौषसम्म पनि उही बीबीएस प्रथम वर्ष अध्यन गर्न बाध्य हुन्छु।

नेपालका अरु विश्वविद्यालयले वैकल्पिक  विधिबाट परीक्षा गरेर हामीसँगैका अरु विश्वविद्यालयमा पढ्ने साथीहरु हामीभन्दा 'सिनियर' भइसकेका हुन्छन्। हाम्रो विश्वविद्यालयले भने माघसम्म कोर्ष भ्याएर परीक्षा लिने निर्णय गर्छ र कलेजलाई कोर्ष भ्याउन आग्रह गर्दछ।

कलेजले पनि माघ महिनामा  कोर्ष भ्याइदिन्छ तर विश्वविद्यालयले फागुनमा परीक्षा फारम खोल्छ। अनि हामीले परीक्षा  फारम भरेर बुझायौँ र विश्वविद्यालयले २०७८ साल आउन १० दिन बाँकी हुँदासम्म पनि केही परीक्षाको सूचना प्रकाशित गर्न सकेको छैन।

यता कलेजमा नयाँ बीबीएस प्रथम वर्ष भर्ना भएर भाइबहिनीहरु कलेज आइसक्दासम्म पनि त्रिभुवन विश्वविद्यालयले कुनै निर्णय लिन सकेको छैन।

आज आएर आफैँलाई नराम्रो लागिरहेको छ। उमेर बढेकोले घरबाट पढ्नका लागि पैसा माग्न पनि हड्बडाउँछु। बिचरी मेरी आमा ! छोराले चाडैं स्नातक पास गर्छ भनेर अनगिन्ती सपना बुनेकी थिइन्।

यो सपना पूरा हुने आश १/२ वर्ष पछि धकेलिएको छ। मेरी आमाले घरबाट फोनमा सोध्थिन्, 'भाउव तो पहिलो वर्षमा पास हुन  कति वर्ष  लाग्छ?' म नि:शब्द हुन्छु।

प्रकाशित मिति: : 2021-04-15 17:30:00

प्रतिकृया दिनुहोस्

    परिस्थिति अनुसार एकदम राम्रो लेख साथि 👏❤️

    • 3 बर्ष अगाडि
    • Nira Pokhrel

    यता पनि यस्तै छ मित्र।तुरून्त त्रिवि ले केहि सोच्न पर्छ यस विषयमा

    • 3 बर्ष अगाडि
    • लोकराज आचार्य