उपकरण छ, जनशक्ति छैन

कोरोना महामारीसँगै स्वस्थ्य सुरक्षाका लागि उपकरण उपलब्ध गराइएको छ।

जिल्लाको एक मात्र अस्पताल कहिले उपकरणको अभाव त कहिले जनशक्तिको अभाव थेग्दै आएको छ।

हाल यस अस्पतालमा भेन्टिलेटर उपलब्ध भए पनि जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन। विसं २०७७ असारमा प्रदेश सरकारले यस अस्पताललाई दुईवटा भेन्टिलेटर उपलब्ध गराएको थियो। अस्पतालमा भेन्टिलेटर छ, तर चलाउने जनशक्ति नहुँदा उक्त सेवा सञ्चालनमा आउन सकेको छैन।

अस्पतालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १० महिनाअघि भेन्टिलेटर पुगेको हो। कुनै पनि बिरामीको अवस्था जटिल बनेको समयमा भेन्टिलेटरको आवश्यकता पर्ने भन्दै १० महिनाअघि नै यस अस्पतालमा भेन्टिलेटर ल्याइएको थियो। मनाङमा दुई मात्र चिकित्सक डा प्रतिभा गौली र डा सन्तोष अधिकारी कार्यरत छन्।

“कोभिडका बिरामीका लागि उपचार गराउन भेन्टिलेटरका सबै सामग्री छन्, तर जडान गरिएको छैन”, डा अधिकारीले भने, “भेन्टिलेटरसम्बन्धी तालिमप्राप्त चिकित्सक भए सहज हुन्थ्यो, जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ।”

त्यस्तै डा प्रतिभा गौलीका अनुसार प्रदेश सरकार मताहातमा झन्डै २० करोडको लागतमा जिल्ला अस्पताल निर्माण हुँदै गरेको छ भने डा सन्तोषको अवधि सकिएर गएका छन्। भएका जनशक्तिको अवधि सकिनु उपकरण सञ्चालन नहुनु दुर्गमको समस्या रहेको उनको भनाइ छ।

भेन्टिलेटरको आवश्यकता त्यतिबेला पर्छ, जब बिरामीको अवस्था गम्भीर हुन्छ। यसलाई नियन्त्रण गर्न लाइफ सपोर्ट सिस्टम वा भेन्टिलेटरको सहयोग लिने गरिन्छ। डा अधिकारीका अनुसार भेन्टिलेटर बिरामीलाई निको पार्न र जिउँदो राख्नका लागि प्रयोग गरिन्छ।

अस्पतालमा भेन्टिलेटरसहित दुई शय्याको आइसीयू निर्माणका लागि सामान खरिद गरिएको छ। जनशक्ति अभाव भएकाले उक्त सेवा सञ्चालन गर्न नसकिएको मनाङ जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले बताए। 

प्रकाशित मिति: : 2021-04-15 15:14:00

प्रतिकृया दिनुहोस्