तनहुँको भीमाद नगरपालिका–५ मिर्छुलुङका घर–घरमा धारा जडान भएपछि स्थानीयवासी खुशी भएका छन्। खानेपानीको सास्ती खेप्दै आएका यहाँका स्थानीयवासी घरमै धारा जडान भएपछि खुशी भएका हुन्।
धरादीको मूलबाट सोलार प्रविधिमार्फत मिछुर्लुङका ७२ घरमा धारा जडान गरिएको उपभोक्ता समितिका अध्यक्ष बाबुराम रानाले जानकारी दिए।
'गाउँमा पानी नहुँदा कुँवा, पँधेरोको पानी जोहो गर्नुपर्ने बाध्यता थियो, अहिले त घरमै पानी आएपछि स्थानीयवासी खुशी भएका छन्', उनले भने।
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा उक्त गाउँमा खानेपानी सुविधा पुगेको छ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँले रु ६८ लाख ४६ हजार २४३ को लागतमा उक्त गाउँमा खानेपानी सुविधा विस्तार गरेको हो।
खानेपानी विस्तारका लागि गण्डकी प्रदेश सरकारले रु ५७ लाख ८४ हजार ९०३ लगानी गरेको छ भने स्थानीयवासीले रु दश लाख ६१ हजार ३४० बराबरको श्रमदान गरेको कार्यालयका प्रमुख किरण पौडेलले जानकारी दिए।
विसं २०७५ माघ २९ गते सम्झौता भई विसं २०७६ पुस १५ गते सम्पन्न गर्ने लक्ष्य रहे पनि कोभिडको प्रभावका कारण काममा ढिलाइ भएको कार्यालयले जनाएको छ।
उक्त खानेपानी योजनाको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अब गण्डकी प्रदेशका कुनै गाउँमा खानेपानीको समस्या नरहने बताए।
तनहुँमा सुपरीवेक्षकका लागि १७२ छनोट
राष्ट्रिय जनगणना २०७८ का लागि तनहुँमा १७२ जना सुपरिवेक्षक छनोट भएका छन्। केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाका लागि सुपरीवेक्षक आह्वान गरेकामा तनहुँका लागि १७२ जना सुपरीवेक्षक छनोट भएका हुन्।
विभागका अनुसार भानु नगरपालिकाका २३, म्याग्दे गाउँपालिकाका १३, बन्दीपुर गाउँपालिकाका १२, व्यास नगरपालिकाका ४१, शुक्लागण्डकी नगरपालिकाका २४, घिरिङ गाउँपालिकाका १०, आँबुखैरेनी गाउँपालिकाका १५, देवघाट गाउँपालिकाका १२, भीमाद नगरपालिकाका १३, ऋषिङ गाउँपालिकाका नौ जना सुपरीवेक्षकका लागि छनोट भएका हुन्।
जनगणनाका तनहुँमा दुई हजार ३४६ ले निवेदन दिएका थिए। विभागले गणकको नतिजा भने सार्वजनिक गरेको छैन।
जिल्ला जनगणना अधिकारी नन्दलाल सापकोटाका अनुसार तनहुँमा एक हजार ६२५ महिला, ७१९ पुरुष र दुई अन्य लिङ्गीले निवेदन दिएका थिए।
जनगणनाका लागि जिल्लामा ५३५ गणक र १२० सुपरीवेक्षक खटाइनेछ। जिल्लामा तथ्याङ्क सङ्कलन दुई चरणमा सञ्चालन गरिनेछ।
पहिलो चरणमा विसं २०७८ वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म २० दिन सञ्चालन हुनेछ। उक्त क्रममा सुपरीवेक्षकद्वारा प्रत्येक घर तथा परिवारमा पुगी घर तथा घरपरिवार सूचीकृत फारममार्फत घरसम्बन्धी विवरण, परिवारमा अक्सर बसोबास गरेका महिला तथा पुरुष र अन्य तेस्रो लिङ्गी तथा परिवारको कृषिसम्बन्धी विवरण सङ्कलन गरिनेछ।
दोस्रो चरण जेठ २५ देखि असार ८ गतेसम्म १५ दिन सञ्चालन हुनेछ। उक्त क्रममा गणकमार्फत प्रत्येक घरपरिवारमा पुगी प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइँसराइलगायतका विवरण सङ्कलन गरिनेछ।
दोस्रो चरणको गणनाअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि सङ्कलन गरिनेछ। सोही क्रममा घरपालुवा पशुपक्षीको विवरण पनि सङ्कलन हुनेछ।
जनगणनाबाट वडास्तरसम्मको लैङ्गिक तथा समावेशी तथ्याङ्क प्राप्त हुने भएकाले विकास निर्माणका काम तथा लक्षित वर्गका कार्यक्रम तर्जुमा गर्न तथा नीति र योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै बाटोघाटो, पुल, विद्यालय, उद्योगधन्दा, स्वास्थ्य सेवा, खानेपानी, बिजुली, सिँचाइ, खाद्यान्न आपूर्ति, बसोबासको व्यवस्था, विकास बजेटको बाँडफाँट, सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा र मानव विकास प्रक्रियामा पछाडि परेका समुदायको उत्थानका कार्यक्रम सञ्चालन गर्न तथा संविधानको मौलिक हकलगायत अन्य हकको कार्यान्वयन र मूल्याङ्कन गर्न आवश्यक तथ्याङ्क प्राप्त हुने हुँदा जनगणनाको महत्व रहेको छ।