सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दो

कर्णालीमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको पाइएको छ।

सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएसँगै सेवाको सहज उपलब्धताका कारण बर्सेनि गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७४ कात्तिकदेखि २०७५ असोजसम्म सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या पाँच हजार ७४२ थियो। आव २०७५/०७६ को सोही अवधिमा पाँच हजार ७४१ तथा २०७६ देखि २०७७ असोजसम्म पाँच हजार २७८ महिलाले सुरक्षित गर्भपतन सेवा लिए।

आव २०७६/७७ को उक्त अवधिमा कोरोना भाइरसका कारण ‘लकडाउन’ भएपछि यो सेवा लिने महिलाको सङ्ख्यामा केही कमी देखिए पनि अघिल्ला दुई वर्ष बढ्दो दरमा रहेको पाइएको छ। गर्भपतन गराउने महिलाको सङ्ख्या सबैभन्दा बढी सुर्खेत र सबैभन्दा कम डोल्पामा रहेको छ। 

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ नर्सिङ अधिकृत मानकुमारी गुरुङले स्वास्थ्य सचेतना, सेवाको उपलब्धताजस्ता कारणले गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको बताईन्।

“पहिले असुरक्षित गर्भपतन बढी हुन्थ्यो, स्वास्थ्य संस्थाहरुमा यो सेवा विस्तार गरेसँगै तथ्याङ्क प्रणालीमा जोडिन पुग्यो,” उनले भनिन्, “सुरक्षित गर्भपतन सेवा प्रभावकारी हुँदा असुरक्षित गर्भपतन गराउने समस्या कम हुँदै जान्छ।”

उनले गर्भपतन गराउनु महिलाको बाध्यता भएको बताईन्। वरिष्ठ नर्सिङ अधिकृत गुरुङका अनुसार छोराको चाहना राख्नु, तत्काल सन्तान जन्माउने रहर नहुनु, पढाइ तथा जागिरको ‘करिअर’मा असर पर्न नदिन, प्रेमीबाट धोका पाउनु, अनिच्छित गर्भधारण हुनु, परिवार नियोजनका साधनको सहज उपलब्धता नुहुन जस्ता कारण महिलाहरु गर्भपतन गराउन बाध्य हुने गरेका छन्। रासस

प्रकाशित मिति: : 2021-03-31 07:57:00

प्रतिकृया दिनुहोस्