कृषकको जीवनस्तरमा सुधार ल्याउनका लागि ठुलिभेरी नगरपालिका डोल्पाले ‘एक घर, एक बगैँचा’ कार्यक्रम शुरु गरेको छ।
नगरपालिकाको आफ्नो बजेटबाट यी योजना सम्पन्न गर्न मुस्किल पर्ने भन्दै प्रदेश र सङ्घीय सरकारसँगको सहकार्यलाई उच्च प्राथमिकता दिइएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर रानाले जानकारी दिए।
नगरपालिकाले आफैँले पहिलो चरणमा वडा ५ देखि ११ सम्मका कृषकको मागमा आधारित सात हजार ओखरका बिरुवा वितरण गरी कृषकलाई व्यावसायिकरूपमा खेती प्रणालीमा जोड दिएको छ।
उच्च माग भएका कारण सबै खालका व्यवसाय तथा उत्पादनमा जोड दिन खोजे पनि पर्याप्त सिँचाइ सुविधा तथा मल प्रयोगमा समस्या हुने गरेको छ। कृषकमा प्राविधिक ज्ञान नहुँदा ओखरका बिरुवा जोगाउन कठिन परेको बताइएको छ।
ओखरको मूल्यभन्दा ढुवानी बढी खर्च हुने डोल्पामा ओखरका बिरुवा समुद्रपारिबाट खरिद गरी ल्याइएको हो। छोटो समयमा प्रतिफल पाउने भएकाले च्याङ्लर जातको ओखरका बिरुवा टर्कीबाट ल्याइएको अधिकृत रानाको भनाइ छ। त्यस्तै कृषि विकास कार्यालयले समेत पकेट क्षेत्रका रूपमा ठुलीभेरी नगरपालिकामा ओखरका बिरुवा वितरण गरी सहयोग गरेको उनको भनाइ छ।
नगरपालिकाभित्रका जनसाधारणलाई तरकारी तथा फलफूल उत्पादन गर्न सघाउ पुगोस् भनेर विभिन्न अनुदानका कार्यक्रमसमेत सञ्चालन गरिएका छन्। अघिल्ला वर्षहरूदेखि कृषकमैत्री कार्यक्रममा जोड दिई उत्पादनमा जोड दिइएको उनको भनाइ छ।
सधैँ जिल्ला बाहिरबाट आयात गरेर मात्र उपभोग गर्नुपर्ने वातावरणलाई न्यूनीकरण गरी नगरभित्रका कृषकले उत्पादन गरेको फलफूललाई स्थान दिई आर्थिकरूपमा समेत सक्षम बनाउनका लागि उत्पादनमुखी योजनामा जोड दिइएको अधिकृत रानाले जानकारी दिए।
विभिन्न औषधि प्रयोग गरेर तरकारीजन्य वस्तु प्रयोग गर्दा मानव स्वास्थ्यमा पर्ने असरलाई न्यूनीकरण गर्नका लागि विषादीको प्रयोग कम गर्न सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएर काम गरिएको छ। जैविक उत्पादकत्वमा जोड दिनुका साथै त्यस्ता उत्पादनलाई अनुदानसमेत दिइएको बताइएको छ। रासस